|

सुरेन्द्र नेपाल श्रेष्ठ

कोरोनाका कारण बेलायतमा लकडाउन भएको पनि एक वर्ष भैसकेछ। एकदिन कुनै कार्यक्रम छुट्दा समाजसँग साइनो नै टुट्ने हो कि जस्तो गरी भ्याई नभ्याई बिहान दिउँसो-बेलुकीको सबै कार्यक्रममा हाजिर हुनैपर्थ्यो।

​अबेला घर पुग्दा सबै सुतिसक्थे। बिहान झिसमिस मै आँखा मिचेर काममा जानु त छँदैथियो। साना बालबच्चा हुनेको त स्कूल छोड्न जाने अर्को काम पनि हुन्थ्यो।

घर परिवार छिमेकीको विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन,विवाहको वार्षिकोत्सव आदि-इत्यादिमा सहभागी हुनु पनि भ्याइनभ्याई हुन्थ्यो। अलि खुशी वा दुःखमा निहुँ पारेर पर्वतिर जानु पनि नियमित हुने नै भयो।​

व्यस्त जीवन यसरी बन्यो अस्तव्यस्त

हाम्रा लागि त यस्तो भयो। यहाँका रैथानेहरूको पीडा पनि कम थिएन। हप्तामा प्राय: धेरै छाक बाहिर खाने, दिनैपिच्छे पव पस्ने, नियमित रूपमा होलिडे जाने योजनाहरू सबै ठप्प भएका छन्।​

लामो समय बन्द रहेका रेष्टुराँहरूको आम्दानीमा अलि टेवा पुर्‍याउन र जनजीवन सामान्य बनाउन सोमबारदेखि बुधबारसम्म आधा मूल्यमा खाना खान पाइने व्यवस्था मिलाइयो। आधा मूल्य ग्राहकले तिर्ने र बाँकी पैसा सरकारले तिर्ने भए। करिब पचास हजार रेष्टुराँहरू सहभागी भएको यो अभियानमा झण्डै ८४९ मिलियन पाउण्ड सरकारको तर्फबाट भुक्तानी गरिएको थियो।

संसारले खेप्नु परेको यति ठूलो महामारीको प्रभाव बढ्दै गए पछि बेलायतले गत वर्ष मार्च २३ गतेदेखि सम्पूर्ण रूपमा देशलाई बन्द गर्ने निर्णय गर्‍यो। हुन त स्वास्थ्यमन्त्री म्याट ह्यानककले मार्च १६ मा संसद मार्फत सम्पूर्ण नागरिकलाई अति आवश्यक काममा बाहेक सामाजिक सम्पर्कका सबै कामहरू बन्द गर्न आह्वान गरेका थिए।

२०२० जनवरी ३१ का दिन पहिलोपल्ट दुई जनामा कोभिड भएको प्रमाणित भएको थियो। मार्च १६सम्म आउँदा संसारभरि छ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका थिए भने एकलाख सत्तरी हजारभन्दा बढी संक्रमित भैसकेका थिए।​

लकडाउनको लहर

बेलायतमा पहिलो बन्दा बन्दीको घोषणा हुँदा ७६ जनाले ज्यान गुमाएका थिए। पहिलो लकडाउनको घोषणा २०२० मार्च २३ मा गरे पछि सदनबाट २६ गते उक्त प्रस्ताव पास गरी कानुनी रूपमा नै लागु भयो। अतिआवश्यकीय सेवासँग सम्बन्धित काम बाहेक अरू सबै ठप्प भयो। पारिवारिक सामाजिक भेटघाट पनि बन्द भयो। व्यायाम र हिँडडुलको लागि पार्कसम्म जान पाइने, तर अरूसँग सम्पर्क गर्न नपाउने भयो।

अहिलेसम्म हामी कसैले बेलायतमा भोग्न नपरेको अवस्था अनिश्चितकालका लागि डर र भयसाथ दिन गुजार्नुपर्‍यो। संक्रमणको प्रभाव र क्षतिलाई मध्यनजर राख्दै सरकारले पटकपटक विभिन्न प्रकारका उपायहरू अवलम्बन गर्‍यो। १६ अप्रिलमा पुन कम्तीमा तीन हप्ताको थप लकडाउन घोषणा भयो। मे १० मा बन्दाबन्दीलाई अलि खुकुलो बनायो।

घरबाट काम गर्न सम्भव नहुनेहरूलाई काममा जान पाइने बनायो। जुन १ देखि प्राथमिक विद्यालयका विद्यार्थीहरूको लागि मात्रै कक्षा सञ्चालन गर्‍यो। जुन १५ बाट सबै पसलहरू खोल्ने अनुमति पायो।

जुन २३ देखि सामान्य रूपमा आएको, तर दुई मिटर नियम र अनिवार्य मास्क लगाउनुपर्ने चाहिँ कायम नै रह्यो। तर जुन २९ मा फेरि स्वास्थ्यमन्त्री म्याट ह्यानककले लेस्टर र वरिपरिको क्षेत्रमा बन्द गर्ने घोषणा गरे।

जुलाई १८ बाट बढी प्रभाव भएको काउन्सिलमा स्थानीय रूपमा थप कडाइ गर्न सकिने अधिकार दिइयो। अगस्ट ३ बाट 'इट आउट टु हेल्प आउट' योजना घोषणा गरियो।

सेप्टेम्बर ३० मा प्रधानमन्त्रीले गम्भीर स्थिति आएकोले पुन: लकडाउन गर्नुपर्ने अवस्थाबारे पूर्व जानकारी दिए। गत १४ अक्टोबरमा नयाँ तीन तहको निषेधको योजना लागू भयो। नभन्दै नोभेम्बर ५ देखि दोश्रो राष्ट्रिय लकडाउन घोषणा भयो। क्रिसमसको लागि भने २३–२७ सम्म तीन परिवार बीच भेटघाट गर्न सकिने भनियो।

तर, डिसेम्बर २१ मा लन्डन र साउथ इष्टमा टियर फोर नियम लागू भयो। अगस्ट १४ देखि इन्डोर भेनुहरू पनि खुला भए। तर, सेप्टेम्बर १४ देखि फेरि रुल अफ सिक्स भनेर घरभित्र वा बाहिर ६ जनासम्म मात्र जम्मा हुने नियम ल्यायो।

जनवरी ६ देखि फेरि तेश्रो चरणको लकडाउन लागु भै मार्च ८ देखि विद्यालयहरू खोलिएको अवस्था हो।

यस बीचमा बेलायतमा ८६ नेपाली सहित आजसम्म एक लाख २५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। मार्च २९ देखि फेरि दुइ परिवारको बढीमा छ जनासम्म घरबाहिर भेट्न पाउने छ।

अप्रिल १२ देखि सबै पसल, सैलुन, लाइब्रेरी र बियर गार्डेन खोलिनेछन्। मे १७ देखि दुई परिवारका बढीमा छ जनासम्म घरभित्रै भेट्न पाइने छ। यस पटकको बन्दाबन्दी आउँदो जुन २१ बाट पूर्ण रूपमा अन्त्य हुने घोषणा गरिएको छ। त्यसपछि नाइट क्लब र ठूला बाह्य कार्यक्रमहरू पनि खुला हुनेछ।

महामारीका लहरहरू

मानव सभ्यताको इतिहासमा यस प्रकारका महामारी धेरै अगाडिदेखि हुँदै आएको देखिन्छ। अहिले हरेक क्षेत्रमा प्रविधिको द्रुत विकास भएको छ। पृथ्वीको एक कुनाको खबर अर्को कुनामा क्षणभरमै पुग्छ। त्यसैले यो महामारीले पारेको असर पनि हामीलाई क्षण भरमा जानकारी हुने नै भयो।

औषधि विज्ञानले यत्रो फड्को मार्दै गर्दा यस्तो महामारीलाई कम क्षतिमा नियन्त्रणमा लिन नसक्नु भने अर्को छलफलको विषय बन्न सक्छ।

सन् १६५ मा रोममा मेसोपोटामिया पुगेका सैनिकहरूबाट सारेको विश्वास गरिएको इन्टनाइन् प्लेग जसलाई प्लेग अफ ग्यालेन पनि भनिन्छ, यसको कारण के थियो अहिलेसम्म पनि पत्ता लागेको छैन। त्यति बेला करिब ५० लाख मानिस मरेको अनुमान गरिएको छ। यो संख्या त्यति बेलाको संसारको जनसंख्याको करिब २.५ प्रतिशत भएको अनुमान छ।

सन् ५४१–४२ मा बुबोनिक प्लेगले दुई करोड ५० लाख मानिस मरेका थिए। प्लेग अफ जस्टिनियनको नामले चिनिने यो महामारीले युरोपको झण्डै आधा जनसंख्या गुमेको थियो। त्यति बेला विश्वको लगभग जनसंख्या २० करोड भएको अनुमान छ।

त्यसपछि करिब आठ सय वर्ष पछाडि फेरि पृथ्वीले ठूलो महामारीको सामना गर्नुपर्‍यो। सन् १३४६–१३५३सम्म चलेको त्यो महामारीलाई द ब्ल्याक डेथ भनेर चिनिन्छ। एसियाबाट शुरू भएको यो प्रकोप पानीजहाजमा भएका मुसामा हुने जुम्राको माध्यमबाट युरोप अफ्रिकासम्म पुगेको थियो। जसका कारण करिब २० करोड मानिसले ज्यान गुमाउनुपरेको अनुमान गरिएको छ।

त्यसपछि सन् १८५२ देखि ६० सम्म थर्ड कोलेरा प्याण्डेमि करिब दशलाख मानिसले ज्यान गुमाउन परेको थियो। भारतबाट शुरू भएको र गंगा सागरको पानीसँगै यो रोग युरोप अमेरिका अफ्रिकासम्म पुगेको थियो। सन् १८५४ मा अहिलेको लन्डनको सोहो क्षेत्र बोण्ड स्ट्रीटको एक पानी ट्युबवेलको पानीमा पनि यो रोगको कीटाणु देखियो र त्यहाँ बसोबास गर्ने ६१६ जनाले ज्यान गुमाएका थिए।​

तुर्कीस्तानमा देखिएको इन्फ्लुइञ्जा फ्लुले सन् १८८९–९० ताका सारा संसारलाई प्रभाव पार्यो। यसलाई 'एशियाटिक फ्लु' वा 'रसियन फ्लु' को नामले पनि जानिन्छ। करिब १० लाख मानिसले यो रोगको कारण ज्यान गुमाउन पुगे।

सन् १९१०–११ मा फेरि कोलेराको कारण आठ लाखभन्दा बढी मानिस मरे। यस अगाडि पाँच पटक संसारले यस किसिमको महामारीको सामना गर्नुपरेको थियो।

त्यसैले यसलाई सिक्स्थ कोलेरा भनेर चिनिन्छ। यसको बढी प्रभाव मध्यपूर्व, उत्तरी अमेरिका, पूर्वी युरोप र रुसमा परेको थियो। त्यसको सात वर्षपछि फेरि संसारले निकै ठूलो महामारी भोग्न बाध्य भयो।

पहिलो विश्वयुद्धको मारसँगै विश्वले यति ठूलो संकट झेल्नुपर्‍यो। सन् १९१८ देखि सन् १९२० सम्म करिब पाँच करोड मानिसले देह त्याग गरे। फ्लू प्याण्डेमिक वा स्पेनिस फ्लूको नामले चिनिएको यो महामारीले पाँच करोड ५० लाख मानिसलाई संक्रमण गर्‍यो। पहिलो २५ हप्तामा मात्रै दुई करोड ५० लाख मानिसले ज्यान गुमाए। यस अगाडि इन्फ्लुइञ्जाले धेरैजसो कमजोर र बालक वृद्धाहरूलाई मात्रै असर गरेको थियो। तर, यसपटक भने धेरै नै युवा युवतीले ज्यान गुमाए।​

विश्व युद्धको भन्दा ठूलो विनाश

करिब २ करोड मारिएको र त्यति नै घाइते भएको विश्वयुद्ध लगत्तै महामारीले यति धेरै मानिस गुमाउनपर्दा संसारले धेरै नै ठूलो मानवीय क्षति भोग्नु परेको थियो।

हालसालै सन् १९५६–५८ को एशियन फ्लूको कारण २० लाख मानिसले ज्यान गुमाए। चाइनाको ग्वाञ्जाओ प्रदेशबाट शुरू भएको यो रोग सिंगापुर हङहङ हुँदै अमेरिकासम्म पुगेको थियो। अमेरिकामा मात्रै करिब ७० हजार मानिसले ज्यान गुमाएका थिए।

सन् १९६८–६९ को हङकङ फ्लूबाट १० लाख, १९९७ को बर्डफ्लूबाट ३५२ जना,सन् २००९ को स्वाइन फ्लूबाट १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। त्यस्तै, सन् १७८० देखि शुरू भएको डेङ्गु संक्रमणबाट विश्वले अहिलेसम्म छुटकारा पाउन सकेको छैन।

संसारका प्राय: देशहरूमा वर्षेनी यो रोगबाट मानिसहरूले ज्यान गुमाउन परिरहेको छ। सन् १९८० बाट देखिन थालेको एचआइभी एड्स संक्रमणले पनि निरन्तर रूपमा धेरै नै मानिसहरू गुमाइरहेका छौं। यसलाई निमिट्यान्न पार्ने उपचारको लागि निश्चित औषधि पत्ता नलागेपनि अहिलेहाल केही उपलब्धिहरू हासिल भएका कारण यो रोगलाई लाग्न नदिन नसकेपनि लागिसकेपछि रोक्नसक्ने चाहिँ भएको छ।

एचआइभीले सन् २००४ मा सबैभन्दा बढी प्रभाव पारेको देखिन्छ। त्यतिबेलासम्म करिब चार करोड ४० लाख मानिसमा यो रोग देखिएकोमा करिब ३५ लाख मानिसले ज्यान गुमाएका थिए। यो संख्यामा अहिले कमी आएर सन् २०१९ मा ३८ लाखलाई रोग लागेको र १७ लाखले ज्यान गुमाएको तथ्याङ्‌क छ।

संसारमा सरुवा रोगबाट मात्रै वर्षमा २५ लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गर्दछन्। पोलियो, विफर, क्षयरोग, कुष्ठरोग, रेबिज, झाडापखाला, मलेरिया, निमोनिया, इबोला, मारवर्ग, मेर्स, एलो फेबर, आन्थ्र्याक्स, एम आर एस ए, मेनेन्जाइटिस, सार्स, जाईका लगायत विभिन्न प्रकारका रोगको कारण संसारले समयसमयमा ठूलो क्षति व्यहोर्नु परिरहेको छ।

प्रकोपको शिक्षा र अबको बाटो

मानव सभ्यताको इतिहासमा विकास र प्रगति सँगसँगै धेरै प्रकारका रोग र महामारीले पनि त्यतिकै चुनौती दिँदै आएका छन्।

औषधि विज्ञानले मानिसको उमेरलाई लम्ब्याउने र स्वस्थ्य राख्ने हरदम प्रयास गरिरहेकै छ। तेश्रो विश्वयुद्धको धेरैपटक अड्कल काटिएपनि लामो समयसम्म यसलाई रोक्न सफल भएको छ। तर, विभिन्न प्राकृतिक प्रकोप र महामारीले भने संसारको जनसंख्या कम पार्न छाडेको छैन।

महामारीबाट आजसम्म १२ करोड भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको र करिब २७ लाखले ज्यान गुमाएको देखिन्छ।

अहिले खोप आइसकेको कारण मानसिक रूपमा अलि कम डर बोकेर बसेका हामी मानव जातिलाई केही राहत प्राप्त भएको छ। तर, दिन आए पछि कुनै पनि बेला कुनै पनि कारणले यो संसारबाट बिदा हुन पर्ने वास्तविकतालाई भने स्वीकार गर्नै पर्छ।

यस बीचमा हामीले जे जति अनुभव गरेका छौ शायद त्यस्तो अनुभव अब फेरि हामीले मात्रै हैन, हामी पछिको पुस्ताले पनि धेरै लामो समय गर्न नपर्ला भन्ने अनुमान र कामना गर्न सकिन्छ।

प्रकृतिमाथि अनुचित दोहन कम गरियो भने मानव मात्रले घरिघरि यसप्रकारको समस्या भोग्नु नपर्ने अवस्था आउँथ्यो कि ? यो अहम् प्रश्न हाम्रासामु छ।

हाम्रा दैनिक क्रियाकलापलाई एकपटक पुनर्विचार गर्न सकियो भने पनि यो महामारीबाट सकारात्मक शिक्षा प्राप्त गर्न सकेको ठहर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.