विकास र साँस्कृतिक सम्पदा संरक्षणमा तालमेलको खोजी

|

धनकुटा : यतिबेला पूर्वमा एउटा विषयले निकै चर्चा पाएको छ। त्यो हो तमोर, अरूण र दूधकोशीको संगमस्थल त्रिवेणीमा रहेको एउटा विशाल ढुंगो।

धनकुटा, भोजपुर र उदयपुरको सीमानामा पर्ने त्रिवेणीमा रहेको यो ढुंगो किराँत समुदायको साँस्कृतिक स्थल खुवालुङका नामले पुकारिन्छ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ। त्यहाँ सानो इन्जिन भएको डुंगा चलाएर पर्यटन प्रबर्द्धन गर्ने योजना अन्तर्गत त्यसलाई फुटाउने कि नफुटाउने भन्ने विवाद पछि यो चर्चामा आएको हो।

खुवालुङलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन्‌। तर, गत फागुन ८ गते विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सो ढुंगो फुटाएर जेटबोट चलाउने भनी सार्वजनिक मञ्चबाटै भाषण गरेपछि खुवालुङले सबैको ध्यान केन्द्रित गरेको हो।

सप्तकोशीमा जेटबोट चलाउनेबारे भाषणमा प्रधानमन्त्रीले जेटबोट चलाउने आफ्नो योजनामा तगारो बनेको सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए। त्यसपछि किराँत समुदायका केही अगुवाहरुले निरन्तर प्रधानमन्त्रीको उक्त योजनाको विरोध गर्दै आएका छन्‌। उनीहरूले ‘खुवालुङ’ आफ्नो आस्थाको केन्द्र भएकाले प्रधानमन्त्रीको भनाइको विरोध गर्दै आएका छन्‌। 

 

किराँती भाषामा ‘खुवालुङ’ शब्दको अर्थ पानीमा गाडिएको ढुंगो भन्ने बुझिन्छ। तर, सप्तकोशीमा तमोर नदी मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङको अर्थ यतिमा मात्र सीमित छैन। यो खुवालुङलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन्‌।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा उल्लेख भएअनुसार किराँत समुदायले कुनै कार्य शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ। मुन्धुम अनुसार किराँतीको पुर्खा यही खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास समेत रहेको छ।

तर, प्रधानमन्त्री ओलीले यो ढुंगो फुटाएर सप्तकोशीमा जेटबोट चलाउने भाषण गरेपछि विवादित बन्यो। फलस्वरुप खुवालुङको संरक्षणको लागि भन्दै सो क्षेत्रमा किराँतसँग सम्बन्धित संस्थाले विरोधस्वरुप दैनिकजसो कार्यक्रम गर्दै आएका छन्‌। 

नदीको बीचमा रहेकाले यसमा पानीजहाज ठोक्किने सम्भावना देखाउँदै खुवालुङ भत्काउने योजना सरकारको छ। अहिले ३० देखि ५० जना अट्ने मेसिन–बोट खुवालुङ ढुंगाको छेउबाट वारपार गर्छन्‌। अहिले चलिरहेको भन्दा ठूलो बोट ल्याउँदा ढुंगो बाधक बन्ने व्यवसायी र सरकारको तर्क छ।

उनीहरूले जहाज चलाउन सहज हुने भन्दै ढुंगा फोर्नुपर्ने बताउँदै आएका छन्‌। तर सरकार किराँतीहरूको आस्थाको धरोहर खुवालुङको अर्थ र इतिहास नै नबुझी भत्काउन लागि परेकाले यसको संरक्षणमा लागेको किराँत राई बान्तवाखिमका सल्लाहकार रामेश्वर राई बताउँछन्‌। उनले किराँत सभ्यतासँग जोडिएकाले दिनहुँजसो आएर कसरी संरक्षण गर्ने भन्ने छलफल गरिरहेको बताए। 

त्यसो त सो क्षेत्रका स्थानीयलाई खुवालुङ पनि चाहिएको छ र विकास पनि। खुवालुङ जोगाएर पनि जेटबोट चलाउन सकिने प्रशस्त सम्भावना रहेका स्थानीयको बुझाइ छ।

त्यसैले त खुवालुङ जोगाएर जोटबोटको सञ्चालनको लागि दाँयाबाँयाबाट विकल्प खोज्नुपर्ने धनकुटाको शहीदभूमि-१ का भानुभक्त राई बताउँछन्‌। 

किराँत मुन्धुम र विपी कोइरालाले किराँतीलाई आधार मानेर लेखिएको सुम्निमा उपन्यासमा समेत सोही क्षेत्र आसपासको भूमिबारे उल्लेख छ। त्यही आस्थाको धरोहर जोगाउन अहिले सो क्षेत्रमा दैनिकजसो विरोधका कार्यक्रम हुने गरेको छ।

चौतर्फी विरोधकै कारण खुवालुङ फुटाउने ‘सप्तकोशी जलमार्ग निर्माण उपभोक्ता समिति’ पनि पछि हटेको देखिन्छ। विकास आवश्यक भन्दा अति आवश्यक कुरा भएपनि कसैको आस्थाको धरोहरमाथि प्रहार गर्न नहुने स्थानीयको बुझाइ छ। 

खुवालुङ संरक्षण संघर्ष समितिका संयोजक बलराम राईले राज्य तहबाट इतिहास र आस्था बोकेका कुरा संरक्षण गर्नुपर्नेमा उल्टै मास्ने काममा अग्रसर हुने विषय कुनै पनि हालतमा किराँती समुदायले स्वीकार्न नसक्ने बताए।

उनले आफूहरू विकास विरोधी नभएको भन्दै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका खुवालुङ जस्ता प्रतीकात्मक वस्तुहरूको संरक्षण गर्ने जिम्मेवारी राज्यको भएको पनि बताए। राईले धनकुटा र भोजपुर– अरुण, तमोर र दूधकोशीको संगमस्थल नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो हटाउने भन्दा त्यसको विकल्प खोज्नुपर्ने बताए।

यस्तो छ खुवालुङको कथा

किराँत राई भाषामा ‘खु’ भनेको ठूलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो। ठूलो नदीमा अर्थात कोशीको बीचमा भएको यो ढुंगालाई सोही कारण खुवालुङ भनिएको हो।

यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ। मुन्धुमी मिथकले खुवालुङलाई किराँतीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ। मुन्धुम अनुसार खुवालुङ भन्दामुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किराँतीहरूको। त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि रहेको बुझाइ छ। 

कथन अनुसार किराँत राईका पुर्खामा जेठा मुकुबुङ, माइला हर्कबुङ र कान्छा रिब्लबुङ गरि तीन भाइ रहेका थिए। उनीहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा खुवालुङको ढोका बन्द थियो।

जेठा मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेर पार गरेको, माइला भाइ हर्कबुङले ढोका पार गर्न नसकेपछि उनले पनि सँगै रहेकी चेलीको कान्छी औंला काटेर रगत दिएपछि ढोका खुलेर पार गरेको र कान्छा रिब्लबुङ भने नदी पार गर्न नसकी तराइतिर फर्किएर बसोबास गरेको भनाइ रहेको किराँत राई बान्तवाखिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले बताए। 

जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दूधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास रहेको किराँतीको भनाइ छ।

अरूण नदी पछ्याउँदै संखुवासभा क्षेत्रमा बसोबास गर्नेहरू कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई र भोजपुर क्षेत्रमा बसोबास गर्ने कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा र दुङमाली भए। भाषिक समुदायका तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने जनविश्वास छ।

यस्तै, सुनकोशी पछ्याउनेहरू कोइँच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिएको उनी बताउँछन्। त्यस्तै खुवालुङ नतरिकन तराईमै बस्नेहरू थारू, धिमाल, मेचे र कोचे बनेर चिनिए।

खसवालुङ किराँत नछुङ (धामी) हरूले धेरै संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो। सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट शुरू भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा–चतरा हुँदै खुवालुङ आइपुग्ने किराँत राई बान्तवाखिमका केन्द्रीय अध्यक्ष किराँतीले बताए।

उनका अनुसार ‘अर्को भाषामा भन्दा किराँतीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण थलो पनि हो खुवालुङ।’

खुवालुङसँग जोडिएको आस्था 

किराँती समुदायको सांस्कृतिक विम्ब प्रतीकसँग गाँसिएको खुवालुङको कथाले उनीहरूको हालको जीवन पद्धति बोल्छ। उनीहरूको संस्कारसँग जोडिएर आउने खुवालुङको मिथकले भाषा, संस्कार, संस्कृति, रहनसहन र चालचलन संकेत गर्छ।

किराँत राई समुदायमा हाल रहेका थुप्रै भाषा, थर, पाछामा देखिने विविधतालाई खुवालुङकै मिथकले सम्बोधन गरेकाले समेत उनीहरूको आत्मिक सम्बन्ध खुवालुङसँग छ। खास समुदायको खास आस्था र भरोसा भन्नु नै कुनै अमूर्त चिजसँग जोडिएको हुन्छ। जसले उनीहरूलाई कसिलो गरी बाँधेको छ, उनीहरूको भावनात्मक एकता कायम भएको छ।

प्रकृतिपूजक किराँती समुदायको हजारौं वर्षदेखिको आत्मिक सम्बन्ध त्यही खुवालुङसँग छ। सुनकोशी, दूधकोशी, अरूण, तमोर क्षेत्रवरपर बसिरहेका समुदायले बारम्बार पुकार्ने गरेको खुवालुङसँग उनीहरूको वास्तविक भावना जोडिएको देखिन्छ। 

पुर्खाहरूलाई उभौली र उधौलीको अवसरमा सम्झिने, पूजा गर्ने किराँती समुदायले खुवालुङलाई नै साक्षी राख्छन्‌। यसर्थ यसमा उनीहरूको खास भावना, मन, आस्था र विश्वास जोडिएको छ। सांस्कृतिक प्रतीक तथा विम्बका रूपमा रहेको खुवालुङ (नदी बीचमा रहेको ढुंगा) उनीहरूको आस्थाको केन्द्रबिन्दु हो।

तर, अहिले मुन्दुमी लयमा बारम्बार आइरहने खुवालुङ भत्काउनुपर्ने, सप्तकोशीमा जेटबोट व्यवस्थित रूपमा सञ्चालन गर्न ढुंगा पन्छाउनुपर्ने भन्दै प्रदेश सरकारले बजेट नै विनियोजन गरेको छ।

प्रदेश १ का निवर्तमान आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्‌बोले नै खुवालुङ भत्काउन बजेट विनियोजन गरेका थिए। तर, आफैं सरकारमा हुँदा ल्याएको योजनाको विरोध गर्न उनी स्वयम्‌ खुवालुङ क्षेत्र पुगेका छन्‌।

राज्य तहबाट स्थानीयवासीको आस्था, भावना र सांस्कृतिक सम्बन्धको अध्ययन नगरी एकाएक बजेट विनियोजन भएपछि स्थानीयवासीसँगै सरोकार राख्नेहरू असन्तुष्ट छन्‌। त्यसैले खुवालुङ संरक्षणमा जुटेका अभियन्ताहरूले हाल खुवालुङ भत्काउने काममा रोक लगाएका छन्‌।

​सप्तकोशीमा जल यातायात विकास समस्यै-समस्या

सप्तकोशी नदीमा केही वर्ष यतादेखि जलयातायात सञ्चालन हुँदै आएको छ। मोटरबोट मार्फत चतराबाट उत्तरी क्षेत्रको भोजपुर, धनकुटा र उदयपुरका दक्षिणी भेगसम्म जल यातायात सञ्चालन भएपछि त्यस भेगका स्थानीयलाई सुनसरी र मोरङसँग यातायात समय र दूरी छोट्टिएको छ।

यो सँगै बराहक्षेत्रको जान र घुम्नका लागि पनि मोटरबोट सञ्चालनसँगै निकै सहज भएको छ। तर, साना आकारका मोटरबोट सञ्चालन हुँदै आए पनि उदयपुर, धनकुटा र भोजपुरको सीमानामा नदीको बीच भागमा रहेको ठूलो ढुंगोका कारण जल यातायत सञ्चालनमा समस्या हुँदै आएको छ।

नदीको बीचमा रहेकाले यसमा पानीजहाज ठोक्किने सम्भावना देखाउँदै खुवालुङ भत्काउने सरकारको योजना छ। यद्यपि त्यो भत्काउँदैमा समस्या हल हुने स्थिति नभएको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा समितिका अध्यक्ष विमल श्रेष्ठले बताए। हरेक कुरामा राजनीति नखेली यसको संरक्षण र विकासको तालमेल गरेर काम गरिनु पर्ने स्थानीय बासिन्दाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.