|

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसबाट हुनसक्ने संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । पटक-पटक गरी यसबीचमा चार महिनासम्म लकडाउन भयो।

विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि गत साउन ६ गतेदेखि लकडाउन हटाएको थियो। लकडाउन हटेपछि बजार र पसल खुले। ढिलोगरी भएपनि शैक्षिक संस्था खुलाइयो। सबै क्षेत्रमा चहलपहल बढ्यो।

कोरोना भाइरस संक्रमणबाट हालसम्म तीन हजार १९ जनाको मृत्यु भइसकेको छ। हालसम्म कुल संक्रमित संख्या दुई लाख ७६ हजार दुई सय ४४ जना पुगेको छ।

हालसम्म दुई लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा हालसम्म २२ लाख ४५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको छ। छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिले झैँ बढेको छ। लकडाउन यताको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ।

भारतसँग खुला सीमा नाका भएका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरू बताउँछन्। भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरू घर फर्किने क्रम बढेको छ। फर्किनेहरूमा सङ्क्रमण भएको हुनसक्ने देखिन्छ।

उनीहरूको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जानेछ। सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ। सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ। यो अवधिमा केके द‌ृश्यहरू देखिए भन्नेबारे यो वर्ष थाहाखबरले खिचेका ३० तस्वीर यस्ता छन् :

नेपाली सेनाको अस्थायी टेन्ट

नेपाली सेनाले पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट हुनसक्ने संक्रमितको उपचारका लागि पूर्व तयारीका रूपमा भद्रकालीस्थित फुटबल मैदानमा बनाएको अस्थायी टेन्ट।

बिरामीको सारथी बनेको एम्बुलेन्स

महामारीको समयमा बिरामीहरूलाई अस्पताल आवतजावत गर्न एम्बुलेन्स नै निर्विकल्प बन्यो।

लकडाउन र बेरोजगार

लकडाउनले दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूलाई झन समस्या बढ्यो। काम नपाएपछि दिनभर कमाएर खानेहरू अहिले वसन्तपुर, असन र ठमेलका पाटी-पौवामा सुतेर दिन बिताउँदै मजदुरहरू।

हन्ड्रेड ग्रुपो सेवा

लकडाउन र निषेधाज्ञा गरेपछि दुईछाक टार्न नसकेका र बिचल्लीमा परेकाहरूलाई ७ महिनादेखि उपत्यकाको पुरानो बसपार्कमा हन्ड्रेड ग्रुपले खाना खुवाउँदै।

अस्पतालमा खाना

कोरोना त्रासका कारण विभिन्‍न अस्पतालमा रहेका भोजनालय र चमेनागृह बन्द भएपछि बिरामी र कुरुवाहरूलाई सहयोगी दाताबाट खाजा र खाना वितरण गरिएको थियो।

पसलमा ताल्चा

काठमाडौंको न्युरोडका एक जना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि तत्कालै सबै पसलहरू बन्द गरिएको थियो।

खर्च पारदर्शीता माग

कोरोना भाइरस तीव्र रूपले फैलिँदै गएसँगै परीक्षण, नियन्त्रण र उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सरकारविरुद्ध सडकमा आवाज उठ्न थाल्यो। राजधानीको शहीदगेट लगायतका सडकमा आरडिटी परीक्षण बन्द गरेर शत-प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, स्वास्थ्य सामग्रीलगायत खरिद प्रकृया पारदर्शी हुनुपर्नेलगायत माग राख्‍दै विरोधमा उत्रिएका युवाहरू।

 

विरोध र सडक

लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपालमा भएको आन्दोलन।

लकडाउन र सडक सुधार

लकडाउन हुँदा काठमाडौंका विभिन्‍न सडकहरूमा रङरोगन तथा कालोपत्रे थप्ने काम धमाधम भएको थियो।

निषेधाज्ञा पालना गराउन ड्युटीमा सुरक्षाकर्मी

राजधानी उपत्यकाका तीनै जिल्लामा एक हप्तासम्म निषेधाज्ञा कार्यान्वयन गराउन ठूलो संख्यामा सुरक्षाकर्मी सडक चोक तथा गल्लीहरूमा समेत परिचालित थिए।

 पीपीई, सुरक्षा र सडक

कोरोना जोखिम देखिएपछि सुरक्षा उपकरण (पीपीई) लगाएरै सेवामा खटिएका सुरक्षाकर्मी।

भक्तपुरमा कोरोना र निषेधाज्ञा

भक्तपुरका विभिन्न स्थानमा कोरोना संक्रमण बढ्दै गएपछि शील गरिएको थालाछेँस्थित बेखाल टोल।

सुनसान दशैँ

कोरोना महामारीको असर बालबालिकाको मनोरञ्जन र चङ्‌गा बेच्ने पसलसम्म फैलियो। रङ्गीचङ्गी चङ्गा राखिएका, तर सन्नाटा छाएका पसल।

कोरोनाबाट सुरक्षित हुन गाउँ फर्कंदै

सरकारले अघोषित रूपमा घर जान चाहनेलाई रोक्न छाडेपछि काठमाडौंका विभिन्न चोकमा यात्रु।

आफ्नै देश फर्कि आएँ...

कुवेतले आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई स्वदेश पठाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साझा बस चढेर बाहिरिँदै गरेकी महिला।

नेपाल घुम्ने चाहना अधुरै

सरकारले मुलुकमा लकडाउन लम्ब्याइरहँदा देश फर्कन चार्टर्ड जहाज कुरिरहेकी विदेशी पर्यटक।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रोबोट

कोरोनाका बिरामीहरूको अवस्था निरीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई रोबोट हस्तान्तरण गरिएको थियो। रोबोटिक्स एशोसिएसनले टेकु अस्पतालका लागि ७ वटा रोबोट वितरण गरेको हो। दुईवटा क्यामेरा जडित रोबोटको माध्यमबाट बिरामीको अवस्था निरीक्षण गर्न सहज हुने अपेक्षा राखिएको थियो।

कोरोना नियन्त्रण गर्न स्प्रे

कोरोना (कोभिड-१९) नदिन सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास भइरहँदा पाटनमा पनि यो सजगता अपनाउन स्प्रे प्रयोग गरिएको थियो।

ट्याक्सी व्यवसायीको आन्दोलन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समयसम्म लकडाउन हुँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरूले गरेको आन्दोलन।

अस्पताल र क्‍वारेन्टाइनमा सुविधा विस्तार गर्नुपर्ने माग राख्दै प्रदर्शन

कोरोना नियन्त्रणका नाममा १० अर्ब रुपैयाँ खर्च गरेको बताएको सरकारले विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्‍वारेन्टाइनहरूमा सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन।

संस्कृति र झडप

विश्‍वभर फैलिरहेको कोभिड महामारीका कारण रातो मच्छिद्रनाथको रथ यात्रा नगरिने निर्णय प्रशासनले गरेको थियो। युवाहरू रथ यात्राको साइत जाने भन्दै सडकमा उत्रिएका थिए। युवा र प्रहरीबीच भएको झडपमा क्षतिग्रस्त मोटरसाइकल।

राष्ट्रिय गान र सुरक्षाकर्मी

कोरोना नियन्त्रणमा सरकार चुकेको भन्दै तत्कालीन विवेकशील नेपाली दलले विरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय गान गाएपछि सलाम गर्दै प्रहरी।

पत्रकार र स्वाव

विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयको समन्वयमा कोरोना परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिँदै।

कालीमाटी बजारमा कोरोना संक्रमण

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमूना संकलन गरिँदै। त्यहाँका ६ सय जनाको नमूना संकलन गरिएको थियो।

मास्क प्रयोग र विसर्जन

काठमाडौं लगायतका सडक गल्ली र चोक-चोकमा प्रयोग गरेर यत्रतत्र फालिएका मास्कलगायत विभिन्न सामग्री।

कोरोना र मृत्यु

कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि शव व्यवस्थापन गर्दै नेपाली सेना।

शब व्यवस्थापन गर्न खाडल

कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि शव व्यवस्थापन गर्न खनिएको खाडल ।

कोरोना भ्याक्सीन

माघ ८ गते भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप एयर इन्डियाको विमान पहिलो लटमा १० लाख डोज खोप लिएर काठमाडौंमा अवतरण गरेको थियो। ​

खोप ज्येष्ठ नागरिक लाई खोप

खोप र ज्येष्ठ नागरिक लाई खोप प्रदान गरेपछि उत्साहित वृद्ध ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.