नेताहरू भन्छन् : जसले माग पूरा गर्छ, उसैबारे सोच्न सकिन्छ

|

काठमाडौं : गठबन्धनको सरकार निर्माणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। एमालेसँग वा कांग्रेस–माओवादी–जसपाको गठबन्धनको सरकार बनाउने भन्ने विषयमा जसपा भित्रको विवाद उत्कर्षमा पुगेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने या ओली सरकार ढालेर नयाँ सरकार बनाउने भन्ने विषयको विवादले जसपा विभाजनको बाटोमा गइरहेको छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन्। 

यता, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओली सरकारलाई नै निरन्तरता दिनेमा सहमतिनजिक पुगेका छन्। उनीहरू तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का हुन्। 

जसपाको दुवै समूह सत्ता सहकार्यका लागि आफ्नो माग पूरा गर्नुपर्ने बताइरहेको छ। उनीहरूले रेशम चौधरीको रिहा, मधेश र थरूहट आन्दोलनको मुद्दा फिर्ता हुनुपर्ने, संविधान संशोधन हुनुपर्ने विषय उठाइरहेका छन्। आफ्नो माग पूरा नभएसम्म कुनै समूहलाई सहयोग गर्न नसक्ने जसपाको अडान छ। 

ओलीसँग नजिक महन्थ–राजेन्द्र

प्रधानमन्त्री ओलीलाई साथ दिने पक्षमा जसपा नेताहरू महन्थ–राजेन्द्र समूह सहमतिनजिक पुगेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पुगेर सोमबार र मंगलबार भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक बन्दै गइरहेको नेता लक्ष्मणलाल कर्णले बताए।​

‘हामीले उहाँलाई ४ ओटा एजेण्डा उठाइरहेका छौँ। सकारात्मक रुपमा आश्वासन आएको छ,’ उनले भने। 

प्रधानमन्त्री ओलीले आफूहरूलाई साथ मागिरहेको उनले बताए। आफ्ना माग पूरा गरेको अवस्थामा सहयोग गर्न सकिने तर्क कर्णले गरे पनि बालुवाटार भेटवार्ताका सबै विषय खुलाउन चाहेनन्। 

यता, अर्का नेता राजेन्द्र महतो आफूहरूले उठाइरहेको विषयलाई समाधान गर्ने सरकारको जिम्मेवारी भएको तर्क गर्छन्। ‘मुद्दाका विषयमा कुरा सकारात्मक रुपमा अगाडि बढिरहेको छ। त्यो सरकारको जिम्मेवारी हो। चाहे जुन सरकार होस्’, उनले भने, ‘हामीले त्यसलाई हाम्रो माग पूरा गरेको खण्डमा सहयोग गर्न सक्छौँ।’ 

‘सत्ताको विषयमा छलफल भएको छैन’

तर, जसपा नेताहरूसँग कुनै सत्ता सहकार्यको विषयमा कुराकानी नभएको एमाले नेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। 

‘जसपा नेताहरूसँग अहिले कुनै सत्ता सहकार्यको विषयमा कुरा भएको छैन। रेशम चौधरी, मधेश आन्दोलन, संविधान संशोधन उठाइराख्नुभएको छ’, उनले भने, ‘उहाँहरूको माग छलफल भएको हो, हामीले सत्ता साझेदारीको विषयमा छलफल गरेका छैनौँ।’ 

त्यसो त उनले सत्ताको सहकार्यका विषयमा छलफल भएको इन्कार गरे पनि जसपा नेताहरूले ओलीले सहयोग मागेको बताउँदै आएका छन्। जसपाका महन्थ–राजेन्द्र समूहले एमालेसँग सत्ता सहकार्यबारे छलफल गर्न कार्यदलसमेत बनाएको थियो।  

कार्यदलमा एमाले नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन्। सोमबार बालुवाटारमा भएको छलफलमा यी नेता पनि सहभागी थिए।​

सत्ता सहकार्यको विषयमा जसपाका बाबुराम–उपेन्द्र नेताहरू भने ओली नेतृत्वको सरकार ढाल्नुको विकल्प नभएको टिप्पणी गर्दै आएका छन्। 

मंगलबारको संसद बैठकपछि बाहिरिने क्रममा पनि ओली नेतृत्वको सरकारसँग सहकार्य हुनसक्ने टिप्पणी डा बाबुराम भट्टराईले गरेका थिए। यता, संघीय अध्यक्ष भट्टराई पनि ओलीविरुद्ध सार्वजनिक कार्यक्रम होस् या सामाजिक सञ्जालमा खनिरहेका हुन्छन्। 

नेता भट्टराईले ओलीविरुद्धको मोर्चाबन्दीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक भेटवार्ता गरिरहेका छन्। अहिलेसम्म सत्ता सहकार्यबारे कुनै पार्टीसँग पनि सहमति नबनेको जसपा नेता रामसहाय यादव बताउँछन्।

‘हामीले कुनै सत्ता सहकार्यबारे सहमति गरेका छैनौँ। बालुवाटारमा जानुभएको हो। तर, हामीले त्यहाँ कुनै सहमतिको कुरा गरेका छैनौँ’, उनले भने, ‘हाम्रो माग जसले पूरा गर्छ त्यहाँतिर सहयोग गर्न सकिन्छ।’ 

यसअघि पनि पार्टी तत्कालीन संघीय समाजवादी पार्टीले ओलीले एजेण्डा पूरा गर्ने सर्तमा सरकारमा गएको थियो। तर, उपप्रधानमन्त्रीसमेत रहेको यादवले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्दा इन्कार गरेपछि सरकार छाडेको थियो। एकपटक ओलीबाट धोका पाइसकेकाले ओलीसँग सहकार्य गर्न नहुने नेता यादवको बुझाइ छ। 

‘ओलीले समर्थन आवश्यक परेपछि बोलाए’

प्रधानमन्त्री ओलीले सत्ता टिकाउन संसदमा फेरि छलफल थालेका जसपा नेता रामबाबु यादव बताउँछन्। ‘सत्ता सहकार्यको विषयमा हामी अहिले पुगिसकेका छैनौँ। संविधान संशोधन, मधेश र थरूहट आन्दोलनको क्रममा लगाइएको झूटा मुद्दा फिर्ता हुनुपर्छ’, उनले भने, ‘केपी ओलीजीलाई अहिले संसदमा मतको आवश्यकता परेको छ। त्यसैले उहाँले बोलाएपछि हाम्रा नेताहरू त्यहाँ गएर छलफल गर्नुभएको हो।’

यादव ओलीसँग भएको छलफलको विषय सत्ता सहकार्यका नभएको दाबी गर्छन्। ‘हाम्रो मुद्दामा छलफल चलाइरहेको छौँ’, उनले भने, ‘उहाँले(ओली) हामीलाई के गर्दा सहयोग हुनसक्छ भनेर सोध्नुभएको छ। हामीले पहिला पनि तपाईंलाई समर्थन गरेका हौँ। त्यसैले हामीले उठाएको एजेण्डामा न्याय भयो भने छलफल गछौँ भनेर आएको अवस्था हो।’ 

उनले माओवादी केन्द्रले सत्ता छाडेर बाहिर नआएकाले गठबन्धनको सरकारको विषय अगाडि बढाउन नसकेको बताए। 

‘प्रचण्डजी सत्ताको मोर्चाबाट बाहिर आउनुभएको छैन। उहाँहरूसँग त कसरी सत्ताको विषयमा कुरा हुन्छ’, उनले भने, ‘उहाँहरूसँग सरकारको कुरा गर्न पहिले सरकार छाडेर प्रतिपक्षीको मोर्चामा उभिनुपर्छ।’ गठबन्धनको सरकार निर्माणमा पेरिसडाँडा गएर छलफल गर्दा प्रचण्डले नआँटेका उनले सुनाए। 

‘ पेरिसडाँडामा गएर कुनै सहमति बन्न सकेन’, उनले भने, ‘अहिले हामीले सत्ता सहकार्यभन्दा पनि समर्थनको कुरा मात्रै रह्यो,’ उनले भने।  

जसपाको त्यो कार्यदल 

जसपाले सत्ता सहकार्यका विषयमा छलफल गर्न चैत ५ गते केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको थियो। तर, अन्तिममा आएर तयारी नपुगेको भन्दै बैठक स्थगित गरियो। 

सत्ता सहकार्यका विषयमा निर्णय लिन कार्यकारिणी बैठक बोलाइएको थियो। शीर्ष नेताहरूबीच सहमति बन्न नसकेपछि बैठक बस्न सकेन। 

पार्टी समायोजनका लागि भन्दै सोही दिन पूर्वराजपा पक्षका नेताहरू बानेश्वरमा भेला भए। उक्त भेलाले ६ सदस्यीय कार्यदलसमेत बनाएको थियो। कार्यदलमा केशव झा, सुनील रोहित, जितेन्द्र सोनल, मनीष सुमन, सञ्जय यादव र रमेश यादव रहेका छन्।

त्यसो त ५ गतेकाे बैठकमा जसपाले नयाँ गठबन्धनको सरकार निर्माणबारे निर्णय गरेपछि ओली सरकार ढल्ने माओवादी नेता वर्षमान पुनले बताएका थिए। तर, जसपाभित्रको विवादको कारणले गठबन्धनको सरकार निर्माणको सम्भावना टर्दै गएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि मंगलबार विराटनगरमा पुगेर कांग्रेस प्रतिपक्षी भएकाले सरकारमा नजाने बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.