|

काठमाडौं : ‘काफल चरी गाउँछे वनमा रमाई–रमाई ..... कुक्कु कुक्कु ..... पन्छी भर्भराउँछे डाली समाई समाई’,

रेशराज आचार्यको चलचित्र धर्म संकटमा गायिका देवीका प्रधानले गाएको गीत सुन्दा जो कसैलाई पनि चैत–वैशाख– जेठमा पाइने काफल अनि त्यही बेला हाम्रा गाउँ घरमा कोइली चराले गाएको गीति सन्देश याद आउँछ। तर, पछिल्लो समयमा कोइलीको सुरिलो स्वर र मिठास भरिएको कोइली गीत सुन्न केही कठिन भएको छ।

आजभन्दा ५०–६० वर्ष पहिले कोइली कराएको, काफल पाक्यो भनेर गीत गाएको धेरै सुन्न पाइन्थ्यो, गोकर्णेश्वर नगरपालिका सुन्ताखानकी ८६ वर्षीया कान्छीनानी भण्डारीले भनिन्, अहिले त घरहरू पनि बढे, वनजंगल घटे चरा देख्न त परै जाओस् गीत सुन्न पनि पाइन्न।

यो चैत वैशाखको समयमा कहिलेकाँही कोइलीको आवाज एकाबिहानै मात्र सुन्न पाइने कुरा उनले बताइन्। उनी मात्र होइन, ७० कटिसकेका धेरैलाई यस्तो अनुभूति भएको छ।

'पहिले पहिले समय या सिजन फेरिएको सन्देश पनि कोइलीले दिन्थ्यो, गोदावरी नगरपालिका ५ लेलेका ७७ वर्षीय शिव महतले भने,  'काफल पाकेको सन्देश मिल्थ्यो, अहिले त न वनमा काफल न कोइलीको दिनैभरि गीत सुन्न पाउनु।' उमेर पाको भएकालाई मात्र होइन ४० वर्ष पनि नकाटेकाहरु पनि पहिलेको भन्दा कोइलीको आवाज कम सुनिएको आफ्नो अनुभव सुनाउँछन्।

स्कुल पढ्ने बेला बिहानै ओछ्यानबाटै हामी कोइली कराएको सुन्थ्यौँ, चापागाउँका ३४ वर्षीय रामचन्द्र विष्टले भने, स्कुल बिदा भएको बेला या हाफ छुट्टीमा हामी नजिकैको भागवान् र कोड्कु जंगलमा काफल खान जान्थ्यौँ, त्यतिबेला जंगल नै गुञ्जायमान हुन्थ्यो। उनका अनुसार अहिले काफल पनि त्यत्ति फलेको पाइन्न, कोइलीका आवाज पनि कम सुनिन्छ।  

एकातर्फ कोइलीका लागि आवश्यक पर्ने आहाराको कमी हुँदै जाने अर्कोतर्फ वन जंगल फँडानी र डढेलोका कारण कोइलीको संख्या घट्दै जानाले काफल पाकेको सन्देश कम हुन थालेको पन्छीविद् डा हेमसागर बराल बताउँछन्।

 कोइलीका लागि आवश्यक हुने हावापानीमा आएको परिवर्तन, यसका किरा फट्याङ्ग्रा लगायतका आहारा घट्नाले कोइली घटेको अनुमान गरिएको छ , उनले भने,  'तथ्यांकका हिसाबले भने अरुले सोचे जस्तो कोइली घटेको छैन। सन् २०१६ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको अध्ययनमा कोइली चरा घटेको देखाए पनि संकटको सूचीमा भने परेको छैन।' 

नेपालमा १७–१८ प्रजातिका कोइली चरा पाइने डा बराल बताउँछन्। कोइलीअन्‍तर्गत रैथाने कुकु, काफल पाक्यो , कुहु , कुकु ,भारक , पुर्वीय , सानो कोइली लगायत नेपालमा पाइन्छ। पछिल्लो समयमा गृष्म आगन्तुक चराहरु नेपालमा आइरहँदा कति अरु कोइली प्रजातिका चराहरु पनि नेपालमा आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.