नियम पालना नगर्नेलाई कानुनको दायरामा ल्याइछाड्छौँ : प्रहरी निरीक्षक कँडेल

|

काठमाडौं : सवारी चापका हिसाबले काठमाडौं उपत्यकामा अति महत्वपूर्ण चोकमध्ये एक हो थापाथली। ललितपुर जाने मूलनाका र कलंकीतर्फ जाने यस क्षेत्रमा सवारी चाप अन्य क्षेत्रमा भन्दा बढी हुन्छ। यहाँ सवारी व्यवस्थापन गर्ने ट्राफिक जवानहरू बिहानैदेखि चोकमा देखिन्छन्। थापाथलीको विशेषता के भने त्यहाँ कार्यरत सबै महिला ट्राफिक छन्।

प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलको कमाण्डमा उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापन भइरहेको छ। कात्तिक १२ गतेदेखि थापाथली प्रभागको कमाण्डमा रहेकी उनी ४४ जना महिलाको कमाण्ड सम्हालेकी छन्।

कडाइको हिसाबले थापाथली चोक सबैभन्दा अगाडि आउँछ। केही समयअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा कलाकार जितु नेपालले सार्वजनिक रूपमा भनेका थिए, 'थापाथली चोकमा कार्यरत महिला ट्राफिकहरूको कडाइको म प्रशंसक हुँ। उहाँहरूले गल्ती गर्नेहरूलाई कुनै पनि हालतमा छोड्नुहुँदैन। मलाई थापाथली चोकमा सानो गल्ती गर्न पनि डर लाग्छ।'

थापाथलीका महिला ट्राफिकको आँखैमा सिसी क्यामेरा हुन्छ : सवारी चालक

अन्य क्षेत्रमा बेफिक्री सवारी हाँक्ने चालकहरू थापाथली चोकमा आएपछि केही हच्किएको पंक्तिकारले पनि अनुभव गरेको छ। रिद्धिसिद्धि यातायातका एक चालकले भनेका थिए, 'यहाँ ट्राफिकहरूका आँखा, आँखा हैनन् सिसी क्यामेरा हुन्। गल्ती पत्ता लगाइहाल्छन्।'

प्रहरी निरीक्षक कँडेल भने आफूहरू कडाभन्दा पनि नियमसंगत हिँड्न नरुचाउनेलाई कानुनी दायरामा ल्याएको बताउँछिन्। 'कारबाहीको मापदण्ड नियमसँग लागू हुने हो। हामीले नियम पालना नगर्नेलाई कानुनको दायरामा ल्याउने काम गरिरहेका मात्र हौं', उनी सुनाउँछिन्, 'लप्पनछप्पन हुँदैन। हामी नियम पालना गराउन क्रियाशील हुने हो। मेरो नेतृत्वमा काम गरिरहेकोले  काम महाशाखाले मूल्यांकन गर्ने हो। तर, प्रभागमा काम गर्ने मेरा सहपाठीहरूको कामले भने म सन्तुष्ट नै छु।'

उनले यहाँको कमाण्ड सम्हालेको करिब ६ महिना भयो। यस अवधिमा उनले आफू मातहतमा ट्राफिक महिलाको काम गर्व गर्न लायकको रहेको बताइन्।

'महिला महिला भएको कारण पनि काम गर्न सहज हुने हो। यद्यपि, पुरुष ट्राफिक साथीहरूसँग काम गर्न पनि अफ्ठ्यारो होइन। महिला महिला मिलेर काम गर्दा आफ्नै घरको दिदी-बहिनीसँग काम गरेको अनुभव हुन्छ', उनी भन्छिन्।

अन्य स्थानमा पनि महिला कमाण्ड खटाउने योजना छ : महाशाखा

महानगरीय ट्राफिक महाशाखामा हाल करिब १४ सय ट्राफिक कार्यरत छन्। जसमध्ये २ सय ९ जना महिला ट्राफिकहरूले महाशाखाले दिएको जिम्मेवारी पूरा गर्न क्रियाशील छन्।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले उपत्यकाका दुई ठाउँमा महिलाको कमाण्डमा खटाइएको बताए। थापाथलीको अलवा विमानस्थल प्रभागमा पनि महिलाको कमाण्डमा सवारी व्यवस्थापन भइरहेको छ।

महिला कर्मचारीहरूले काम उत्कृष्ट गरिरहेको भन्दै प्रमुख भट्टराईले  महिलाको संख्या र अवस्था हेरेर थप क्षेत्रमा जिम्मेवारी दिनेबारे योजना बनाइरहेको बताए।

'कतिपय ठाउँमा पुरुष साथीले नेतृत्व गरिरहेका छन्। कतिपय ठाउँमा महिलाहरू हुनुहुन्छ। जति अनुपातमा महिलाहरू हुनुहुन्छ। त्यहीअनुसार महिलालाई पनि जिम्मेवारी दिनुपर्छ। उहाँहरूले पनि जिम्मेवारी लिएर काम गर्न सक्नुहुन्छ भन्ने हेतुले महिलाहरूको कमाण्डमा जिम्मेवारी दिएको हो', उनले सुनाए', महिला भएरभन्दा पनि सुरक्षा संवेदनशीलता र उहाँहरूको क्षमता हेरेर कमाण्ड सम्हाल्न दिइएको हो।'

यो दुई क्षेत्र मात्र होइन उपत्यकाका सबै क्षेत्रमा ट्राफिक प्रहरीले मर्यादित र अनुशासनको परिधिभित्र बसेर काम गरिरहेको उनको दाबी छ।

'काम गर्ने सबैलाई प्रोत्साहित गर्ने र उहाँहरूको समस्याहरूलाई सुल्झाउने तथा विभिन्न समयमा पुरस्कृत पनि गरिरहेका छौँ। यो नीतिले पनि उहाँहरू काममा थप मनोबल थपेर काम गरिरहनुभएको हो', उनी थप्छन्।

हामी सवारी चालकसँग मित्रता चाहन्छौं : प्रहरी निरीक्षक कमला सुवेदी

यस्तै, विमानस्थल प्रभागमा प्रहरी निरीक्षक कमला सुवेदीको कमाण्ड दिइएको छ। असोजबाट विमानस्थल प्रभागमा काम गरिरहेकी सुवेदी ३४ जना महिलाहरूको कमाण्डको नेतृत्व गरिरहेकी छन्। यो स्थान सुरक्षाको दृष्टिकोणले पनि कम चुनौतीपूर्ण छैन।

कडाइको हिसाबले यो क्षेत्रको पनि चर्चा सुनिन्छ।  'गल्ती भएकोलाई गल्ती महसुस नगर्नु हाम्रो प्रवृत्ति छ। हामीले गल्तीलाई गल्ती महसुस गराएर नै उहाँहरूलाई कानुनले तोकेको नियममा राख्ने हो', सुवेदी भन्छिन्।

महिलाको हकमा भन्नुपर्दा महिलाले केही गर्न सक्दैनन् भन्ने आम बुझाइ छ। यद्यपि, महाशाखाले आफूलाई जिम्मेवारी सुम्पेको छ। यो आफैँमा उत्प्रेरित गर्न थप महत्वपूर्ण रहेको उनले सुनाइन्।

'पहिले पहिले कम महिलाहरू हुनुहुन्थ्यो। अहिले महिलाको संख्या पनि बढ्दो छ। महिलाको संख्या बढ्दा आत्मशक्ति पनि बढ्ने रहेछ', उनले भनिन्', इमान्दार भएर काम गर्दा हामीसँग सवारी चालकहरू हच्किएको अनुभव छ। ट्राफिक नियम पालना र चुस्त व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो।'

'उमेरको हिसाबले कतिपय महिला ट्राफिक छोरी र बहिनी समानका पनि हुनुहुन्छ। उहाँहरूलाई काम दिँदा इमान्दारी देखाउनुहुन्छ। आफ्नो दैनिक काम के भनेर पनि सम्झाइरहन नपर्ने, आफ्नो जिम्मेवारी पूरा ज्यान दिन तयार सहपाठी रहेकाले काम गर्न पनि रमाइलो भइरहेको छ', उनले थाहाखबरसँग भनिन्।

 इमान्दार र कानुनसम्मत काम गर्दा केही कडा भएको हुन सक्छ। तर, हामीले यात्रा सहज गर्ने न हो। ट्राफिक सबै सवारी चालकको साथी बन्न चाहिरहेका उनी सुनाउँछिन्। 'हामीले ट्राफिक पोशाक लगाएर नियममा हिँड्नुस भन्ने हो। सवारीधनीले पनि आफूलाई  बिना बर्दीको ट्राफिक सम्झिएको खण्डमा यात्रा सहज हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.