|

काठमाडाैं : काठमाडाैं उपत्यका दिनभर धुलाम्य भयो। काठमाडाैंको आकाशभरि फैलिएको धुलोले मानिसको जीवनयापनमा प्रभाव त पार्‍यो नै, एकैदिनको धुलोले मानिसको स्वास्थ्यमा निकै असर पारिदियो। 

काठमाडाैंमा फैलिएको धुलोका कारण विश्वमै सबैभन्दा प्रदूषित सहरको सूचीमा पर्‍यो। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसोको काठमाडाैंको धुलो विश्वकै पहिलो वायु प्रदूषित सहर बनेको थियो। 

एक्कासि काठमाडाैंमा फैलिएको धुलो कहाँबाट आयो त?

भारतीय सीमा क्षेत्रमा बालीनाली सपार्न बालिएको आगोको धुँवा, नेपालकै विभिन्न जंगलमा लागेको डढेलोबाट निस्किएको धुँवा र भारतको थार मरुभूमिबाट आएको धुलोका कणले काठमाडौं प्रदूषित भएको विज्ञ तथा मौसमविद्हरुले बताएका छन्।

सुक्खा समय भएकाले विभिन्न जंगलमा डढेलो लागेको र ती नियन्त्रण गर्न नसक्दा त्यसबाट आएका धुँवा वायुमण्डलमा आएर हावाका माध्यमबाट उपत्यकासम्म आइपुगेको हुनसक्ने वातावरणविद् ङमिन्द्र दाहालले बताए।

अन्तर्राष्ट्रिय एकीकत पर्वतीय विकास केन्द्र इसिमोडका अनुसार भारतको राजस्थान तराई र भारतीय सीमा क्षेत्रका खेतमा लगाउने बाली नाली सपार्न त्यहाँ रहेका अनावश्यक झारपात र सुकेका मकै आदी जलाउँदा त्यसको धुँवा पनि उपत्यकासम्म आइपुग्ने गरेको छ।

यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थर मरुभूमिबाट आएको धुलोले पनि काठमाडौंको तुवाँलो बन्नमा भूमिका खेलेको हो।  

कचौरा आकारको काठमाडौं उपत्यकामा माथि माथि हावा बग्ने, तर तलपट्टि एउटैखाले हावा स्थिर हुने हुँदा तुँवालोको जोखिम हुने गरेको पाइएको छ। उचाइ बढेपछि तापक्रम घट्नुपर्नेमा अचेल माथिमाथि तापक्रम बढी भएकाले तलबाट गएको बाफ सेलाउन नपाएर त्यत्तिकै धुलो र धुँवासँग मडारिएर तुँवालो बढी भएको विज्ञहरुले बताएका छन्। 

उचाइ बढेपछि तापक्रम घट्नुपर्ने हो, तर अहिले त जमिनभन्दा माथिल्लो भाग तातो हुन थालेको छ, जल तथा मौसम विज्ञान विभागका पूर्ववरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भने, 'कचौरा आकारको उपत्यकामा माथिमाथि हावा बग्छ, तल एउटैखाले हुन्छ।'

'ठूलो पानी नपरुन्जेल यस्तो भइरहन्छ, आँधीहुरीले उपत्यकामा भएका फोहोर प्रदूषणलाई नहटाउन्जेल तुँवालो घट्दैन,' मौसमविद् सजिना शाक्यले भनिन्, 'यसरी तुँवालो बढ्नुमा सबैभन्दा ठूलो कारण नै प्रदूषण हो।' 

कसरी तुँवालो बढ्छ?

तुवाँलोका कारण घामबाट प्राप्त हुने तापसमेत कमजोर हुन जाने श्रेष्ठको भनाइ छ।  हावा या वायुमण्डलमा तैरिएका धुलोका कणहरु तुँवालो हो।  स्थानीय तबरमा पछिल्लो समय सडक बिस्तार अभियानका क्रममा फैलिएको धुलो, पुराना सवारी साधनबाट आएका धुँवा तथा कलकारखाना र उद्योगबाट आएको धुँवा जम्मा भएर पनि तुँवालो बढ्ने गर्छन्।

विशेष गरी जमिनको पानी तातेर बाफ भएर माथितिर जाने र प्रदूषणका कारण तुँवालो लाग्ने गरेको विज्ञहरु बताउछन्। 'एक दिन दुई दिन बिराएर पानी पर्नाले जमिनको पानी माथि आकाशतर्फ बाफ उड्न खोज्दा तुँवालो लाग्छ,' जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्माले भने, 'ससाना धुलाका कणहरु बाफिलो हावामा टासिँदा पनि तुँवालो लाग्छ। तुँवालोले गर्दा भिजिविलिटी कमजोर हुन गई हवाई उडानमा समेत समस्या पैदा हुने गर्छ।'

स्वास्थ्यमा कस्तो असर?

प्रदुषणबाट बढ्ने तुँवालोले मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पर्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्। 'यसले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइडलगायत ग्यासको संयोजनबाट मिश्रित तुँवालोले बढी असर गर्छ,' ​छातीरोग विशेषज्ञ डा राजु पंगेनीले भने।

यस्तो प्रदूषणले ब्रोनकाइटिस्ट, क्यान्सर, स्वासप्रस्वाससम्बन्धी रोग र मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने पनि पंगेनीले बताए। साथै रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि घट्न सक्ने उनले बताए।

'दम रोगीलाई बढी असर परेर अक्सिजनको कमी भई बेहोस् हुने सम्भावना पनि रहन्छ,' उनले भने, 'धुलो फोक्सोबाट रक्तसञ्चार हुँदै अन्य अंगमा पनि पुग्न सक्छ। धुलोका कणहरु मिश्रित तुवालोले भन्दा उद्योगधन्दा र सवारी साधनबाट आउने धुँवाले बन्ने तुवाँलोले बढी असर गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.