साथी संगतकै कारण अपराधमा लाग्छन् किशोरकिशोरी

|
प्रतिकात्मक तस्विर

काठमाडौं : नेपालमा पछिल्लो समय किशोरावस्थादेखि वृद्ध उमेरका मानिसहरुको संख्या आपराधिक गतिविधिमा संलग्नता बढदै गएको छ।

देशभरका विभिन्न बाल सुधारगृहमा आपराधिक क्रियाकलाप गरी बस्ने बालबालिकाको संख्या बढदै गएको छ। बालबालिकाको संख्या बढेसँगै नेपाल सरकार र गैरसरकारी संस्थाको व्यवस्थापनमा बालसुधार गृह सञ्चालनमा छन्। 

आठ वटा बाल सुधारगृहमा ८ सय  ६० बालबालिका छन्। १३ वर्षमाथि १८ वर्ष भन्दा तलकाले अपराध गरे बाल सुधारगृहमा राखिने गरिएको छ। अदालतले फैसला गरेपछि र पुर्पक्षका लागि समेत बालबालिकालाई राखिन्छ।

नेपाल सरकारको व्यवस्थापनमा ४ वटा बाल सुधारगृह छन्। बैतडी, पर्सा, मकवानपुर र डोटीमा यी छन्। युसेप नेपालको मातहतमा भक्तपुर, बाँके, कास्की र मोरङमा पनि सुधारगृह खोलिएका छन्। व्यवस्थापनको जिम्मा युसेप नामक गैरसरकारी संस्थाले लिएको छ।

भक्तपुरमा १ सय ६५ बालक, २७ बालिका, कास्कीमा ९२ बालक, बाँकेमा १ सय २९, मोरङमा १ सय ८८, बैतडीमा ९३, पर्सामा ९०, मकवानपुरमा ३७ र डोटीमा ३९ बालबालिकालाई राखिएको छ।

जबर्जस्तीकरणी, ज्यान मार्ने उद्योग, चोरी, डाँका चोरी, लागू औषध, कर्तव्य ज्यान, अपहरण तथा, सवारी ज्यान, विद्युतीय कारोबार, बाल यौन दुरुपयोग, आत्महत्या दुरुत्साहन, ठगी, आपराधिक उपद्रो अभद्र, बालविवाह, अप्राकृतिक मैथुन, जबर्जस्ती करणी आर्थिक लाभ र वन्यजन्तु ओसारपसारजस्ता अपराध गरेका कारण बालिकालकाहरूलाई त्यहाँ राखिएको छ। 

त्यस्ता बालबालिकाहरूलाई व्यवस्थापन विभागले अन्य जेलमा बसेका ठूला कैदीहरूलाई जस्तै सेवा सुविधा दिने गरेको छ। बाल सुधार गृहमा बसेका किशोरलाई दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामल दिने गरेएको छ।

बाल सुधार गृहमा रहेका अधिकांश बालक जर्बजस्ती करणी अभियोगका छन्। यस्ता अपराधमा संलग्न विभिन्न जिल्ला गरेर ४ सय २२ छन्। जसमा दुई जना बालिका पनि रहेका महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आठ जिल्लामा गृह मन्त्रालय र अन्य सरोकार निकायसँग सहकार्य गरी बाल सुधार गृहको व्यवस्थापन गरिएको छ। बर्सेनि बाल सुधार गृहको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ।

मन्त्रालयका एक कर्मचारीले भने, '१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई नियन्त्रणमा लिएदेखि हिरासतमा नराखी विभिन्न सुधारगृहमा राख्ने गरिएको छ। उनीहरुलाई बाल सुधार गृहमा घरको वातावरणमा जस्तै गरेर राख्ने गरिन्छ।'

बालिकाको सजाय उमेरअनुसार  

पर्सास्थित सुधार गृह कार्यालका प्रमुख टीका कृष्ण काफ्लेका अनुसार जर्बजस्ती करणी आरोपमा नियन्त्रणमा लिएका १८ वर्षभन्दा कम उमेरका किशोरलाई ठूला मानिसको तुलनामा एक तिहाइ सजाय कम हुने गर्छ।

काफ्लेले भने, 'बालिकाको उमेर कम भएमा बढी सजाय हुन्छ। मुख्यतया सजाय बालिकाको उमेरअनुसार तोकिने गरिएको छ। पीडक महिलाको उमेर बढी भएमा किशोरलाई सजाय पनि कम हुन्छ।'

सबैभन्दा बढी सजाय हाडनाता करणीमा हुने गरेको काफ्लेले जानकारी दिए।

उनका अनुसार उमेर सुधार गृहमा बस्दाबस्दै उमेर बढी भएमा पनि अदालतले निर्णय नगरेसम्म सुधारगृहमा राखिन्छ। फैसला भएका र पुर्पक्षका लागि पनि सुधार गृहमा राखिएका छन्।

'सुधारगृहमा बसेका किशोरहरूले आफूहरूलाई अरु मानिसले फसाउने गरेको जवाफ दिन्छन्,' उनले भने, 'अहिलेका किशोर किशोरीहरु प्रेम सम्बन्धमा हुन्छन्।  केटीका आफन्तले पनि हामीलाई फसाए भन्ने गरेको जवाफ दिन्छन्। नराम्रो काम गरेका हुँदैनौं, तर हामीलाई यसै आरोप लगाइन्छ भनेर जवाफ दिन्छन्।'

काफ्लेले जबर्जस्ती करणी आरोपमा अधिकांश मधेशी समुदायका युवा रहेका पनि जानकारी दिए। थोरै संख्यामा भारतीय युवा पनि रहेका उनले बताए।

साथी संगतमा अपराधमा लाग्छन् किशोर 

किशोरावस्था जिज्ञासु उमेर भएकाले पनि नयाँ-नयाँ कुरा मनमा आउने हुँदा पनि यौनजन्य अपराधमा बढी उद्वेलित हुने गरेका मनोविद् करुणा कुँवर बताउँछिन्।  भन्छिन्, 'सानो उमेरदेखि यौन हिंसामा परेकाहरु वा अभ्यस्त हुनेहरुले पनि यस्ता क्रियाकलाप गरेको पाइएको छ।'

धेरै किशोर साथी संगतमा पनि लागेकै कारण अपराधमा फसेका मनोविद् कुँवरको तर्कत छ। 

उमेरअनुसार पनि यसको प्रभाव पर्ने गरेकाले यौन हिंसाको घटना बढ्ने गरेको कुँवर बताउँछिन्। प्राकृतिक कुरा भएकोले विपरीत लिंगीमा आकर्षण बढ्दा पनि यस्ता समस्या आउने उनले बताइन्। 

उनका अनुसार परिवारलाई आफ्ना सन्तानको प्रेम सम्बन्ध मन नपर्दा यस्ता पनि घटनामा मुद्दा लाग्ने गरेका छन्। केटीभन्दा बढी केटाको उमेर बढी छ भने परिवारले जाहेरी दिने गर्दा किशोरहरूलाई मुद्दा लाग्ने गरेको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.