वन विभाग भन्छ : डढेलो रोकथामका लागि पर्याप्त बजेट छैन

|

काठमाडौं : गर्मीयाम सुरु भएसँगै देशभरका वनहरूमा आगलागी हुनेक्रम बढेको छ। वन विभागका अनुसार देशका ४९ जिल्लाका दुई सय भन्दा बढी वनमा आगलागी भइरहेको छ। विभाग अन्तर्गत वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार एउटै जिल्लामा १७ भन्दा बढी वनमा आगलागी भइरहेको छ।

विभागका अनुसार मकवानपुर, चितवन, सल्यान, उदयपुर, सुर्खेत, तेह्रथुम, बाँके, पर्सा, दाङ, डोटी, पाल्पा, खोटाङ, नवलपुर, जाजरकोट, म्याग्दी, रौतहट, धनकुटा लगायतका  जिल्लामा आगलागी बढी आगलागी भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा बढी डढेलो लाग्ने अनुमान वन विभागले गरेको छ।

गत वर्ष कोरोना भाइरसको त्रासले मानिसहरूको चहलपहल कम भएको थियो। रुखबाट झरेका सुख्खा पातहरू व्यवस्थापन नभएकाले डढेलोको जोखिम रहेको विभागले जनाएको छ।

यसपटक मानिसको चहलपहल बढी हुने र आगलागी सुरु भइसकेकोले जताततै डढेलो लाग्न थालेको छ। वन डढेलो पहिचान प्रणालीका प्रमुख तथा दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक एवं वन तथा भूसंरक्षण विभागका अग्नि नियन्त्रण उपसचिव  सुन्दर शर्माले यो वर्ष वनमा अत्यधिक डढेलो लागेको बताए।
गत वर्षदेखि अमेरिकास्थित नासाको स्याटेलाइट मार्फत देशभर रहेका मुख्य वन तथा स्थानीय वडामा भएका वनमा लागेको डढेलो पहिचान गर्न थालिएको छ।इसिमोडसँगको प्राविधिक सहकार्यसँगै डढेलो पहिचानको काम थालिएको शर्माले जानकारी दिए। उनका अनुसार हरेक वर्ष आगलागीबाट करिब दुई लाख हेक्टर वन क्षेत्र नष्ट हुने गरेको छ।

उनले भने,‘पछिल्लो पाँच वर्षमा आगलागीबाट करिब १० लाख हेक्टर वनमा रहेका बोट विरुवाहरू नष्ट भएका छन्। क्षतिको तथ्यांक संकलन गरिएको छैन।’ मुलुक संघीय संरचनामा गएसँगै विभागका प्रशासनिक काम बाँडफाँड भएसँगै प्रदेश अन्तर्गत रहेका वन मन्त्रालयले क्षति विवरण राख्ने गरेको उनले जानकारी दिए। यस वर्ष डढेलो सुरुवाती भएसँगै जलेर दुई जनाको मृत्यु र १ जना घाइते भएको शर्माले जानकारी दिए।

वन डढेलो लगाउनुलाई अपराध मान्ने गरिएको उनले बताए। वन ऐनमा कसैले वनको क्षति गरेमा वा डढेलो लगाएमा तीन वर्ष कैद वा ६० जरिवाना तथा दुवै हुने व्यवस्था  छ। वनजंगल नष्ट गर्ने क्रियाकलापमा लागेकालाई स्थानीय स्तरमा मिलाउने गर्दा धेरै मानिसहरुले छुट पाएका थुप्रै उदाहरण रहेको शर्माले बताए। 
वन डढेलो नियन्त्रणका लागि स्थानीय मानिस बढी जागरुक हुनुपर्नेमा उनले जोड दिए। 

मुख्य कारण मानवीय व्यवहार

विश्वभरका विभिन्न जंगलमा डढेलो लाग्नुको दुई कारण छन्। पहिलो कारण प्राकृतिक जसमा बढी जसो मौसमी ताप बढेर वा ढुंगाको घर्षण भएर डढेलो लाग्ने गरेको छ। नेपालमा अधिकांश आगलागी मानवीय व्यवहारका कारणले नै हुने गरेको छ।  मानिसहरू जंगल गएका बेला चुरोटका ठुटाहरू र बनभोज जानेहरूले डढेलो लगाउने गरेको शर्माले बताए। 

अर्थ मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वन डढेलो रोकथामका सामग्री खरिद गर्न नसकिएको शर्माले बताए। तालिम र सामान्य औजार खरिद गर्न वार्षिक १ लाख बजेट छुट्याउने गरेको छ। वर्षेनी वनमा लागेको डढेलो नियन्त्रणका लागि उक्त रकम पर्याप्त नभएको उनले प्रस्ट पारे।

वन डढेलो रोकथामको लागि आधुनिक सामग्री वन विभागसँग नभएको उनले बताए। आगलागीबाट प्रदेश १ का हिमाली जिल्लाहरू बढी जोखिममा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सन्तोष मोक्तानले बताए।

मोक्तानका अनुसार सुख्खा मौसम सुरु भएसँगै सम्भावित वनमा लाग्ने डढेलोका क्षेत्रहरु वर्गीकरण गरी नियन्त्रणका लागि अभियान सुरु गरिएको छ। उनले भने, ‘जिल्ला डिभिजन वन कार्यालयसँग संयोजन गरी क्षतिको तथ्यांक राख्न सुरु गरेको छ।’

डढेलो नियन्त्रणका लागि स्थानीय निकायसँग सहकार्य गरि वारुण यन्त्रको प्रयोग गरिने गरिएको मोक्तानले जानकारी दिए। वन डिभिजनले सुरक्षा सामग्री तथा डढेलो नियन्त्रणका सामग्री तयारी गरि राखेको उनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.