|

पाल्पा : नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, पाल्पामा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विनय कसजू (मरणोपरान्त) पुरस्कार प्रदान गरिएको छ।

तानसेनमा आयोजित एक कार्यक्रमकाबीच उनकी धर्मपत्नी गंगालाई नगद ५० हजार, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद नारायणप्रसाद आचार्यले प्रदान गरेका हुन्। 

कसजूले २०२६ सालदेखि पत्रकारिता पेसा थालेका थिए। भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णय पत्रिकामा पाल्पाबाट समाचार पठाउँथे। २०४० सालमा भने आफैंले सत्य साप्ताहिक पत्रिका प्रकाशनमा ल्याएका उनका सहकर्मी पत्रकार सेनानी मेघराज शर्माले बताए।

त्यसपछि कसजूले विकास पत्रकारिता गर्न २०५० सालमा तानसेनमा 'देउराली' पत्रिका प्रकाशनमा ल्याए। जुन पत्रिका अहिले पनि पाल्पाबाट निरन्तर प्रकाशित छ।

गुल्मीको रिडीमा जन्मिएका उनी पाल्पामा कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए। पछिल्लो समयमा राजधानी काठमाडाैंमा पुगे। उनी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तमा नियुक्त भई जिम्मेवारी पनि बहन गरेका थिए। उनी नेपालमा पहिलो प्रमुख सूचना आयुक्त भएको शर्माले बताए।

पछिल्लो समयमा भने बाल साहित्यमा कलम चलाउँदै आएका थिए। २०७६ साल मंसिर १० गते  ७२ वर्षको उमेरमा कसजूको निधन भएको थियो। 

यस्तै सोही अवसरमा नेपाल पत्रकार महासंघ, पाल्पा शाखालाई (संस्थागत) नगद ५० हजार र विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। लेखक तथा पत्रकार नीलकण्ठ न्यौपानेलाई नगद २५ हजार दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको छ। 

जनतालाई सूचनाको मालिक बनाउनु पर्छ भन्दै स्वर्गीय कसजूले पत्रकारितामा आफूलाई प्रोत्साहित गरेको उनका नजिक रहेर काम गर्दै आएका पत्रकार महासंघ पाल्पाका पूर्वसभापति गोविन्द भट्टराइले बताए।

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, अर्का सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेय, लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, पत्रकार महासंघ पाल्पाका पूर्वसभापति झपेन्द्र गैरे, भगवान भण्डारी लगायतले कसजू र सम्मानित व्यक्तिले पत्रकारिताबाट पाल्पामा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

धर्मपत्नी गंगाले स्वर्गीय कसजूले पत्रकारिताबाट मुलुक परिवर्तनमा पुर्‍याएको योगदानको कदर गरेर सम्मान गरेको भन्दै धन्यवाद दिइन्। 

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजले पत्रकारिता क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्न महासंघ पाल्पाका शाखाको नाममा ७ लाख अक्षयकोष स्थापना गरेको शाखा अध्यक्ष राजेश कुमार अर्यालले बताए।

त्यही अक्षय कोषको ब्याजबाट प्राप्त रकमबाट कसजूलाई पुरस्कृत गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.