|

काठमाडौं :  आर्थिक वर्ष ०७४ देखि ७७ सम्मको अवधिमा बाह्‍य पर्यटकका १ हजार ३ सय २१ वटा सामान हराएका छन्। चोरी १०, पकेटमार ८, उत्पीडनमा १८, अपहरण ५, बलात्कार २ लगायत यो तीन वर्षमा १ हजार ७ सय ९२ वटा आपराधिक तथा सामान्य घटनाहरू भएको  पर्यटक प्रहरीको अभिलेखमा रहेको छ। तर, सबैभन्दा बढी उजुरी भने चोरी र सामान हराएका बारेमा छन्।

ती घटनाहरूको बारेमा पर्यटक प्रहरीले नेपाल प्रहरीका विभिन्न निकायसँग समन्वयमा अनुसन्धान तथा नियमा‍न गरेको हो। यो तीन वर्षको अवधिमा महिलाको तुलनामा पुरुष बढी समस्यामा देखिएका छन्। उजुरी दिएको तथ्यांकको आधारमा आव ७५, ७६, र ७७ मा क्रमश: २६८, २२१, १६६ गरी ६ सय ५५ उजुरी महिलाका परेका छन्।

यस्तै, क्रमश : ३५१, ४१२, ३७४ गरी ११३७ जना पुरुष विभिन्न स्थानमा समस्यामा परेको उजुरी अभिलेखमा छ। पर्यटक प्रहरीले पर्यटकका गुनासो र समस्या समाधान गर्ने काम गरिरहेको पर्यटन प्रहरीका निमित्त प्रहरी निरीक्षक चन्द्र किशोर साहले जानकारी दिए।

पर्यटकको सुरक्षामा कुनै कसुर नराखे पनि बेला-बेलामा विभिन्न घटनाहरू घट्ने गरेको उनले सुनाए। ती घटना उजुरी पर्नेबित्तिकै आफूहरुले छानविन र अनुसन्धान गरिरहेको उनको दाबी छ। यो तीन वर्षमा चोरी तथा सामान हराएका घटनाका उजुरी सबैभन्दा बढी रहेको उनले  जानकारी दिए।

'हामीले पर्यटकीयस्थलमा विदेशी पर्यटकलाई सहजीकरण गर्ने, उनीहरूमाथि हुने आपराधिक क्रियाकलाप रोक्ने, पर्यटकीय क्षेत्रको सुरक्षा गर्ने, भाषाको समन्वय गर्ने, पर्यटकको उजुरीलाई छानविन तथा आवश्यक कारबाही गर्ने गरेका छौं', इन्सपेक्टर साहले भने, 'पर्यटन सुरक्षामार्फत पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने र आर्थिक अभिवृद्धिमा सहयोग पुर्‍याउने नै हाम्रो मूल हेतु हो।'

सबैभन्दा धेरै समस्यामा परेका विदेशी नागरिक

नेपाल घुम्ने क्रममा बाह्य पर्यटक मुख्य रूपमा ठगिने, दुर्व्यवहारमा पर्ने, लुटपाटको शिकार हुने लैंगिक हिंसामा पर्ने गरेका छन्। पर्यटकहरूले खासगरी भेदभाव, बार्गेनिङ गरेर अलपत्र पारिने, लागुपदार्थ सेवन तथा वेश्यावृत्तिमा उत्प्रेरित गर्ने र अनाधिकृत रकम उठाउने जस्ता समस्या भोग्नु परिरहेको छ।

त्रिवर्षीय तथ्यांकको विश्लेषण गर्दा चिनियाँ नागरिक २ सय ८७ जना, अस्ट्रेलियन नागरिक १ सय ३९ जना, भारतीय नागरिक १३५, बेलायती नागरिक १ सय १८ लगायत करिब १ हजार ७ सय ९२ जना व्यक्तिले समस्या परेको भन्दै उजुरी दिएका छन्।

पर्यटक प्रहरीको काम कर्तव्य

हाल पर्यटन प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पट्रोलिङ गर्छ। इजाजत बेगर गाइड कार्य गर्नेमाथि नियन्त्रण गर्ने, पर्यटन विभागको निर्देशनमा होटल, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ एजेन्सीहरू निरीक्षण गर्ने साहले बताए।

'विभिन्न ठाउँहरूमा अलपत्र परेका पर्यटकहरूलाई उद्धार गरी सम्बन्धित निकाय, दूतावास वा उनीहरूको आफन्तसँग सम्पर्क गराउने गरेका छौं। कोरोना समयमा नेपालभित्र अलपत्र परेका १ हजार ७ सय ५० जना विदेशी नागरिकलाई हामीले उद्धार गरेर सम्बन्धित निकायमा पुर्‍याएका थियौं', साहले भने, 'अवैधानिक रूपमा नेपाल प्रवेश गरेका वा बसोबास गरेका नागरिकलाई निगरानी गर्ने, बन्द, हडतालको समयमा पर्यटकलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने गरेका छौं।'

देशभर कति छन् पर्यटन प्रहरी?

नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीको छुट्टै घुम्ती पर्यटक प्रहरी स्थापना छ।

उपत्यकामा १० र देशभर १७ स्थानमा करिब २२७  प्रहरीको दरबन्दी छ। तर, हाल जम्मा २ सय १४ कार्यरत रहेका छन्। देशका पाँच वटा प्रदेशमा पर्यटक प्रहरीले काम गरिरहे पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पर्यटन प्रहरीको कार्यालय खोलिएको छैन।

पर्यटक प्रहरी खासगरी उपत्यकाका लागि दरबन्दी ९९ जना रहेका छन्। तर, १ सय ४ जना कार्यरत रहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र र अपराध अनुसन्धान तथा कार्य विभागअन्तर्गत पर्यटक प्रहरीको रूपमा कार्यरत छ।

उपत्यकाका पर्यटन क्षेत्रमा १० स्थानमा प्रहरी खटाइएका छन् भने उपत्यकाबाहिर १७ स्थानमा रहेका छन्। इन्सपेक्टर साहका अनुसार पर्यटक प्रहरी इकाइ, भृकुटीमण्डपमा ३४, वसन्तपुर ८, पशुपति ८, पाटन ७, एअरपोर्ट १०, स्वयम्भू ८, ठमेल ९, बौद्ध ८, भक्तपुर ६ र नगरकोटमा ६ जना प्रहरी खटिएका छन्।

यस्तै, उपत्यकाबाहिर प्रदेश-१ मा काँकडभिट्टा  र लुक्लामा दरबन्दी १७ जना रहे पनि क्रमश: ७ र ६ जना कार्यरत छन्। प्रदेश-२ को जानकी मन्दिर र वीरगञ्ज‍मा १७ दरबन्दी भए पनि १२ जना कार्यरत रहेका छन्। बागमती प्रदेशमा सौराहा, पटिहानी र स्याँफ्रुबेसीमा दरबन्दीमा २० जना रहे पनि १८ जना कार्यरत छन्। जसमध्ये स्याँफ्रुबेसीमा दरबन्दी नभए पनि ५ जना राखिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा ८ स्थानहरू पोखरा २२, धम्पुस २, बिरेठाँटी २, घान्द्रुक २, बन्दिपुर ३, चामे ८, जोमसोम ८, घोडेपानी ५ गरेर ५२ जना प्रहरी कार्यरत रहेका छन् भने दरबन्दी भने ६४ जनाको रहेको छ।

यस्तै, ५ नम्बर प्रदेशमा लुम्बीनी र बेलहियामा १५ जना पर्यटक प्रहरी कार्यरत रहेका छन्। जसमा लुम्बिनीमा १० दरबन्दी हो। बेलहियामा दरबन्दी नभए पनि ९ जना पर्यटक कार्यरत छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रहरीको दरबन्दी नै  छैन। पर्यटन प्रहरीका एक अधिकारीले तोकेको दरबन्दी पनि उपलब्ध नहुँदा समस्या पैदा हुने बताए। उनले भने, 'पर्यटकसँग सम्बन्धित भएकाले पनि पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण छ। तर, यसतर्फ कसैको ध्यान जान सकेको छैन।'

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरका अनुसार भर्ना र लिखितको काम सकिएकोले दरबन्दी पूरा गर्ने प्रक्रियामा रहेको बताए।

'हाल नेपाल प्रहरीमा करिब ३५ सय प्रहरीको रिक्त पद रहेकाले त्यहीअनुसार पर्यटक प्रहरीमा पनि रिक्त छ', उनले भने, 'भर्ना र लिखित छनोट प्रक्रिया सकिने बितिक्कै काम अघि बढ्छ।'

दुई प्रदेशमा भने पर्यटक प्रहरी नै छैनन्। देशलाई पर्यटन हब बनाउने भन्दै सन् २०२० लाई पर्यटन वर्ष बनाउने सरकारले घोषणा गरेको थियो। तर, कोरोना संकटलाई मध्यनजर गर्दै 'पर्यटन वर्ष' स्थगित भयो।  पर्यटकीय क्षेत्रमा पर्यटकको सुरक्षा तथा यात्रा सहजीकरणको लागि प्रहरी खटाइएको एसएसपी कुँवरले बताए।

देशमा विभिन्न शहर र गाउँमा प्रहरी कार्यरत रहेका छन्। तर, पर्यटकसँग सम्बन्धित प्रहरी नै कर्णाली तथा सुदूरपश्चिममा नहुनु आफैँमा आश्चर्यलाग्दो रहेको छ। दुई प्रदेशमा पर्यटक प्रहरीको स्थापना गर्न किन आवश्यक ठानिएन त? आवश्यक योजना तर्जुमा भइरहे पनि दुई प्रदेशबारे तत्कालै पर्यटक प्रहरीको दरबन्दीबारे नेपाल प्रहरीसँग कुनै योजना नरहेको प्रवक्ता कुँवरले जानकारी दिए।

पर्यटक प्रहरी छुट्टै संगठन होइन। यसकारण  पर्यटक प्रहरी नभएको ठाउँमा स्थानीय रूपमा कार्यरत प्रहरीले पर्यटकहरूको काम गरिरहेको उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.