|

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट गैँडा गणना सुरु भएको छ। मंगलबार गैँडा गणनामा खटिने सम्पूर्ण कर्मचारीहरुलाई तालिम प्रदान गरिएसँगै बुधबारबाट गणना सुरु गरिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

आजबाट सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने निकुञ्जले जनाएको छ। गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नौ र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरी १० वटा हात्तीको प्रयोग गरिएको छ।

त्यसैगरी, हात्तीसारका ३० जना, १० जना मुख्य गणक र १० जना सहायक गणक गरी ५० जना र निकुञ्ज तथा एनटिएनसीका प्राविधिक टोली पनि गैँडा गणनाका लागि खटिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा पाइने कर्णाली नदी तटीय क्षेत्र र बबई नदी तटीय क्षेत्र एवम् आसपासका मध्यवर्ती सामुदायिक वन गरी ५ वटा ब्‍लकमा गैँडा गणना गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।

बासस्थानको विषयमा पनि जानकारी लिइने

उनले भने, गैँडा गणना कार्यमा गैँडासँगै गैँडाको बासस्थान एवं अन्य वन्यजन्तुको अवस्थाबारे पनि जानकारी लिइनेछ। गणकहरूले गैँडा गणना गर्नका लागि जीपीएस, क्यामेरा, दुरबिनको प्रयोग गरेका छन्।

सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैँडा रहेका थिए। निकुञ्जले गरेको आन्तरिक गैँडा अनुगमनका क्रममा ३६ वटा गैँडा रहेको जनाए पनि यसपटकको गणनाबाट बर्दियामा गैँडाको सङ्ख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको छ। देशैभरि ५ वर्षको १ पटक गैँडा गणना गरिन्छ।

यसअघि सन् २०१५ मा गणना गरिएको थियो। गएको वर्ष गर्ने भनिएको गैँडा गणना कोभिडका कारण रोकिएको थियो। अहिले भने देशैभरिका गैँडा पाईने निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गैँडा गणना गर्न थालिएको छ।

चितवन र पर्शामा गएको ९ गतेदेखि नै गणना सुरु गरिएको छ भने शुक्लाफाटामा चैत १९ गतेदेखि सुरु गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.