फोहोर फाल्न नदिनेदेखि विद्यार्थीलाई सडकमै पढाउने सम्मको चेतावनी

|

काठमाडौं : काठमाडौं महानगरपालिका र नुवाकोट सिसडोलबासी बीच सहमति हुन नसकेपछि स्थानीयले फोहोर फाल्न नदिने भएका छन्।

महानगरपालिकाले बिहीबार स्थानीयसँगको माग सम्बोधन गरी फोहोर फाल्ने वातावरण बनाउन प्रभावित क्षेत्रका स्थानीय, स्थानीय प्रतिनिधि, सांसद लगायतलाई राष्ट्रिय सभा गृहमा बोलाएको थियो। 

बैठकमा स्थानीय तथा सांसदले अहिले सम्झौता नभई २०६२ सालमा भएको सम्झौता कार्यान्वयन गराउनुपर्ने माग राखे। नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले महानगरपालिकाले झारा टार्ने खालको सम्झौता बनाएको भन्दै असहमति जनाए।

बैठकमा उनले भने, ‘यसमा म चाहिँ सही गर्ने वाला छैन, यसमा (माग) २०६२ सालमा भएका कुनै पनि सम्झौताका माग छैन।’ 

यस्ता थिए बुधबारको सहमति प्रस्तावका माग

महानगरपालिका,धुनिवेसी नगरपालिका र ककनी गाउँपालिकासँग बुधबार प्रस्ताव–सहमति पत्र बनाएका थिए।

त्यसमा सिसडोल आसपास प्रभावित क्षेत्रको शैक्षिक विकासका लागि गरिएको प्रस्तावमा सहमति भएको थियो। 

शिक्षा तथा मानव स्रोतबाट दरबन्दी मिलानका क्रममा धादिङ धुनिवेसी नगरपालिका–१ र नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा–१, २ र ३ क्षेत्रमा रहेका १७ वटा विद्यालयलाई शिक्षक दरबन्दी मिलाउने प्रस्ताव–सहमति भएको थियो। जसमा मावि, निमावि र प्राथमिक गरी ५१ जना कुल दरबन्दीमा २० शिक्षक दरबन्दी अनुपातमा पदपूर्ति गर्ने र बाँकी अपुग शिक्षक दरबन्दीमा महानगरपालिकाले अस्थायी पदपूर्ति गर्ने प्रस्ताव भएको थियो। 

फोहोरमैला प्रभावित क्षेत्रको स्थानीयवासीका लागि आवश्यक चार जना चिकित्सक र १५ जना उपचारको लागि आवश्यक बेड महानगरपालिकाले उपलब्ध गराउने,फोहोरमैला प्रभावित क्षेत्रमा वडाहरुलाई भौतिक पूर्वाधार विकास निर्माणका लागि नगरपालिका र गाउँपालिकालाई आर्थिक वर्ष २०७८/०७९ बजेट तथा नीति कार्यक्रममा महानगरपालिकाले तीन/तीन करोड बजेट बिनियोजन गर्ने,एक थान एम्बुलेन्स उपलब्ध गराउने लगायत प्रस्ताव सहमति भएको थियो। तर, अन्य स्थानीय र सांसद,नेताहरुले त्यसमा असहमति जनाए। 

नुवाकोट क्षेत्र नम्बर १ का प्रदेश सदस्य बद्री मैनालीले भने, ‘यो प्रस्तावले स्थानीयको माग सम्बोधन हुँदैन, माग धेरै छन्, महानगरपालिकाले मात्रै पूरा गर्न सक्दैन, त्यसैले विषयगत मन्त्रालयका व्यक्तिसँग बसेर छलफल गर्नुपर्छ,त्यसपछि मात्रै सहमति पत्रमा हस्ताक्षर गरिन्छ।’

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पहिला बैठकमा उपस्थिति भए पनि स्वास्थ्य समस्याका कारण उनी केही समयका लागि बाहिरिएका थिए। उनी बाहिरिएपछि शाक्यले समस्या सुन्न नचाहेको भन्दै स्थानीय, सांसदहरुले बैठक नै बहिस्कार गरेर हिँडे।

सबै प्रभावित क्षेत्रको जग्गा चलनचल्तीअनुसार अधिग्रहण गरिनुपर्ने, अस्पताल निर्माण गर्नुपर्ने, बाली तथा पशु बिमा, पानीको उचित व्यवस्था गर्नुपर्ने लगायत माग स्थानीयले राखेका छन्। 

‘सडकमै विद्यार्थीलाई पढाउछौ‍ं’

फोहोरमैला प्रभावित शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिश शर्मा ढुंगेलले स्थानीयको मागलाई महानगरपालिकाले सम्बोधन नगरेसम्म भोलि पल्ट देखि विरोध स्वरूप विद्यार्थीलाई सडकमा पढाउने र काठमाडौंको फोहोर लैजान नदिने बताए। उनले भने, ‘वर्षौदेखि हामी विभिन्न समस्या भोग्दै आएका छौँ, तर महानगरपालिकाले ती समस्या समाधान गर्न चाहेन, हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौँ।’

स्थानीयले ७ दिनदेखि विभिन्न माग राखेर सिसडोलमा फोहोर फाल्न दिएका छैनन्। जसले गर्दा उपत्यकाको चोक चोकमा फोहोर थुप्रिँदै गएको छ। 

बैठक बहिष्कारपछि महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले थप छलफल गरी समस्या समाधान गर्ने जानकारी दिए। ‘आज सहमति हुन सकेन, फेरि छलफल गरेर समस्या समाधान गर्छौं, फोहोर व्यवस्थापनमा हामी उदासीन छैनौँ,’ उनले भने।

महानगरपालिकाका अनुसार २०६२ सालमा तीन वर्षसम्मका लागि मात्रै फोहोर व्यवस्थापन गर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्रालयले स्थानीयसँग सहमति गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्ने गरेको थियो।

तर हालसम्म महानगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापन गर्न नसकेको छैन। जसका कारण स्थानीयले पटक-पटक फोहोर फाल्न अवरोध गरी विराेध गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.