|

धनगढी : बिहीबारको कुरा हो। धनगढीको चौराहानजिकै एक होटेलमा महिलासँगै राति बास बसेका पुरुष मृत्त अवस्थामा भेटिए। मृत अवस्थामा फेला परेको खबरपछि प्रहरीले अनुसन्धान थाल्यो।

जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले होटलमा धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत भेटिएको पुष्टि गरे। उनले होटेलको कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको जनकारी दिए।

आफन्त आन्दोलित

धनगढीको सनराइज होटलमा मृत भेटिएपछि तिलक भण्डारीका आफन्तले आन्दोलन गरे। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित आफन्तले चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्दसमेत गरे।

सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गर्यो। प्रहरीले धनगढी चौराहमा सडक अवरुद्ध पार्न खोज्ने ३ जनालाई पक्राउ समेत गर्यो। जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। 

उनीहरुले आफूहरुको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप छ। यता, प्रहरीले भने होटलमा काम गर्दै आएकी एक युवतीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। प्रहरीले युवतीको नाम भने सार्वजनिक गरेको छैन।

केही दिनअघि मात्रै  धनगढीकै अर्काे एक होटलमा श्रीमानसँगै बसेकी कञ्चनपुरकी महिलाको पनि संदिग्ध अवस्थामा कोठामै शव फेला परेको थियो। यसरी अकालमा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। क्षणिक आवेशमा आएर जीवन अन्त्य गर्नेको संख्या ठूलो छ। तर यसको रोकथामका लागि प्रभावकारी पहल भने कतैबाट भएको छैन। 

यस्तै, केही दिनअघि पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका २९ वर्षीय नरेश सार्की दुई दिनअघि रूखमा झुन्डिएको अवस्थामा मृत फेला परे। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी मानसिक तनावमा रहेको खुल्यो। तर, कुन कारणले उनलाई तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ वर्षीय केशर रानाले झुण्डिएरै आत्महत्या गरेका थिए। उनी घर नजिकैको रुखमा झुण्डिनुको कारण समेत खोजी भइरहेको प्रहरीको भनाइ छ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अधिकांश आत्महत्याका घटनामा मुख्य कारण आर्थिक अभाव देखिने गरेको बताए। 

कोरोना संक्रमणपछि धेरै मानिस रोजगारी गुमाएर घरमै बसिरहेका कारण आर्थिक अभावमा दैनिक आवश्यकता पूर्ति गर्न नसक्दा घरायसी विवाद हुने क्रम बढेको छ। 

घरासयी विवाद हुँदा मानिस मानसिक रूपमा कमजोर बन्दै जाने र अन्नतः आत्महत्याको विकल्प रोजेको अधिकांश घटनाले पुष्टि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अधिकांशले आर्थिक संकटमा परेका र सोही कारण मनोवैज्ञानिक दबाब बढेर आत्महत्यासम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। गत वर्षको चैतमा लकडाउन भए पनि हालसम्म त्यसको प्रभाव रहेको छ। गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिममा आत्महत्याका घटनाहरू बढ्दै गएका छन्। 

गरिबी, अशिक्षा, भौतिक विकटतालगायतका कारणले मानिस आत्महत्या गर्ने गरेकोे  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताए।

उनले  भने, ‘आर्थिक अभावसँगै समाजिक सञ्जालको दुरुपयोगसमेत आत्महत्याको कारण हो। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध, अनैतिक सम्बन्ध तथा प्रेम सम्बन्धको गलत प्रयोगले मानिसहरु आत्महत्या गर्दै आएका छन्।’ 

सुदूरपश्चिममा आर्थिक अभाव र मनोवैज्ञानिक समस्याको निदान हुन नसक्नु आत्महत्याको प्रमुख कारण रहेको मनोरोग विषेशज्ञ डाक्टर गणेश खड्काले बताए। आत्महत्याको दर नियन्त्रण गर्न निकै चुनौतीपूर्ण विषय भएको उनको भनाइ छ। 

प्रदेश र स्थानीय तह तथा समुदायहरूमा आत्महत्या रोकथामका लागि पर्याप्त प्रयासहरु नभएका कारणले पनि आत्महत्यामा कमी आउन नसकेको आम बुझाइ छ। सुदूरपश्चिममा गत आर्थिक वर्ष ५ सय ३३ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ४३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.