'पानी नआए पनि जरिवाना लिने काम रोकियोस्'

|

काठमाडौं : सरकारले दोस्रो चरणमा मेलम्चीको खानेपानी रिङरोड बाहिरका स्थानीयलाई वितरण गर्ने भएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन  कार्यक्रममा भिडियो रेकर्डमार्फत खानेपानी मन्त्री मणिचन्द्र थापाले दोस्रो चरणमा रिङरोडबाहिर पानी वितरण गर्ने बताएका हुन्। 

उनी अस्वस्थ्य भएका कारण कार्यक्रममा उपस्थिति भने भएका थिएन। उनले भिडियो रेकर्डमा भने,‘मेलम्ची पानी आएपछि एउटा कोशेढुंगा साबित भएको छ,प्रथप चरणमा रिङरोडभित्र मात्रै पानी वितरण गरिएको छ,दोस्रो चरणमा रिङरोडबाहिरका टोखा,कीर्तिपुरलगायत ठाउँमा वितरण गरिन्छ।’

उनका अनुसार भक्तपुर र ललितपुर क्षेत्रमा भने पहिलाको पानी डाइभर्ट गरेर वितरण गरिनेछ। पुरानै पाइपबाट पानी वितरण गरिएकाले ४० प्रतिशत चुहावट देखिएको र ती चुहावटलाई छिट्टै मर्मत गर्ने मन्त्रालयले जनाएको छ।

११ सय किलोमिटर पाइप बिछ्याइयो ​

मेलम्ची खानेपानी आयोजनाका निर्देशक तिरेश खत्रीले ११ सय २५ किलोमिटर पाइप बिछ्याउनु पर्नेमा अहिलेसम्म ११ सय किलोमिटर नयाँ पाइप बिछ्याएको जानकारी दिए।

‘ती जडान गरिएको दुई सय नयाँ पाइपमा मेलम्चीकै पानी परीक्षण गरेका छौँ,८० हजार धारा बनाउनुपर्नेमा १५ हजार धाराको पनि परीक्षण गरेका छौं।’ काकाकुल अवस्थामा मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई धेरै सहजता मिल्ने उनको भनाइ छ।

जरिवाना रोकियोस्

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महिनौंदेखि ग्राहकको धारामा पानी नझरे पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल)ले शुल्क र जरिवाना गराएकाले त्यो कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरे।

‘ग्राहकको धारामा पानी नआए पनि केयूकेयलले शुल्क र जरिवाना उठाउँदै आएको छ,’शाक्यले भने,‘यस्ता धेरै गुनासा आएका छन्,पहिला पनि मैले धेरै आग्रह गरिसकेको छु,यो प्रकृया तत्काल प्रधानमन्त्रीज्यूसमक्ष रोक्न अनुरोध गर्दछु, बरु केयूकेयलले कर्मचारीलाई तलब खुवाउन नसके स्थानीय तहले सहयोग गर्छ।’

उनले थप दोस्रो चरणमा आउने याङ्ग्री र लार्केको पानी पनि आफ्नै कार्यकालमा आउने विश्वास लिए। महानगरपालिका प्रमुख शाक्यको आग्रहपछि प्रधानमन्त्री ओलीले तत्काल सेवा सुविधा नलिएका ग्राहकलाई शुल्क नलिन केयूकेयललाई निर्देशन दिए। ‘ग्राहकले सेवा नपाएको शुल्क लिन मिल्दैन,यसमा झन् जरिवाना कुरा सुनेर अचम्ममा परेको छु,यस्तो मिल्दैन’ ओलीले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.