|

काठमाडौं :  पछिल्लो समय महानगरीय ट्राफिक महाशाखाले सडकमा खटिएका ट्राफिकलाई आर्थिक प्रलोभनमा पार्नेहरूलाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ।

सवारी चलाउँदा चालकहरूले नियम मिच्ने र आवश्यक कारबाही गर्न खोज्दा घुस दिने गरेका छन्। तर, ट्राफिक प्रहरीले भने घुस दिन खोज्‍ने ती चालकहरूलाई पक्राउ गरेर कारबाही गर्दै आएको छ। महाशाखाले बितेको केही महिनादेखि घुस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्दै आएको छ।

गएको असोजदेखि चैत १७ सम्मको तथ्यांक हेर्दा ट्राफिकलाई घुस दिने करिब १ सय ३६ जना सवारी चालकलाई पक्राउ गरिएको छ। उनीहरूले ट्राफिक व्यवस्थापनका क्रममा नियम मिच्ने र ट्राफिक जवानहरूलाई घुस दिन खोजेका थिए। यस अवधिमा ट्राफिक महशाखाले घुस लिन नमान्‍ने करिब १ सय १२ ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ।

नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न महाशाखाले नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपश्चात् हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्छन्।  प्रलोभनमा नपरी त्यस्ता चालकहरूलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिँदै आएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

'आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्णपालना गर्न र उल्लंघनपश्चात् हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न हामीले अनुरोध गरिरहेका छौं', उनले भने, 'यसरी आर्थिक पारदर्शीता एव शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एव सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ।'

गएको असोजमा ६, कार्तिकमा १६, मंसिरमा २८, पुसमा २५, माघमा २१, फाल्गुनमा २४ र चैत १७ सम्ममा १६ जना सवारी चालकले प्रहरीलाई घुस दिएर आर्थिक प्रलोभनमा पारेका थिए। ट्राफिकहरूले उनीहरूको घुस अस्वीकार गरी  पक्राउ गरेको महाशाखाको तथ्यांकमा रहेको छ।

यस्तै, ट्राफिक प्रहरीलाई महाशाखाले विभिन्न समयमा घुस अस्वीकार गर्ने ट्राफिकलाई विशेष कार्यक्रम गरेर सम्मानित गर्ने गरेको छ। महाशाखाले मंसिरमा २०, पुसमा ४०, फाल्गुनमा १६  र चैतमा ३६ जनालाई सम्मान तथा प्रशंसापत्र वितरण गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.