प्रदीप ज्ञवाली भन्छन् : उहाँहरू असफल भएर फर्किनुहुन्छ

|

काठमाडौं : सत्तारूढ नेकपा एमालेभित्रको विवाद बढ्ने क्रम रोकिएको छैन। पछिल्ला दिन  प्रभावशाली नेताहरू नै एकअर्काविरुद्ध तोकेरै आक्षेप र लाञ्छना लगाउन व्यस्त छन्। निषेधको राजनीति थालेको यो समूहभित्र बढ्दो अस्तव्यस्त पार्टी कानुनी हिसाबले नफुटे पनि तीन चिरामा विभक्त भइसकेको छ। 

पार्टीभित्रको समस्या समाधान गर्न बैठकमा आउन ओली पक्षले आह्वान गरिरहेको छ भने त्यसलाई  नेपाल समुहले  ढोका थुनेर उहाँहरु हामीलाई भित्र बोलाएको भन्दै प्रतिवाद गरेको छ। 

फागुन २३ को सर्वोच्च अदालतले माधव नेपाल र पुष्पकमल दाहाललाई विभाजन गरिदिएपछि एमाले दल त ब्युँझियो, तर यसभित्र किचलो झनै बढ्न थाल्यो। नेकपा भित्रको विवाद एमालेभित्र सरेको छ।  

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललगायत अन्य नेतालाई पनि ताकी ताकी कारबाही गर्न थालेपछि एमाले एमाले विभाजनको दिशातर्फ गइसकेको छ। तर 'उपाध्यक्ष' वामदेव गौतम अझै पार्टी एकता जोगाउन भन्दै लागिपरिरहेका छन्।  

पार्टीभित्रको विवाद बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद मिलाउन पहल थालेकी छन्। यसै क्रममा उनले शनिबार वरिष्ठ नेता झलनाथ खनाल निवासमै पुगेर पार्टीभित्रको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरिन्।  ​

इतिहास संशोधन मण्डलका अध्यक्ष एवं प्रवर्तकहरू दिनेश पन्त र महेश पन्तलाई भेट्न पुगेकी राष्ट्रपति भण्डारीले नेता खनाललाई पनि भेटिन्। भेटमा उनले एमालेभित्र देखिएको विवाद समाधान हुनुपर्ने र त्यसमा सबै मिलेर जानुपर्ने बताएकी थिइन्।

‘हामीले एकछिन भलाकुसारी गर्‍याैं, विगतका कुरा पनि हामीले गर्‍यौं। अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो। उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो,’ खनालले भनेका थिए। ​

कारबाहीले बिच्कियो!

नेकपाको एकता भंग हुनुअघि नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डसँग लागेर ओलीविरुद्ध मोर्चाबन्दी गरेको थियो। प्रचण्ड–माधव समूह ओलीलाई एक्ल्याएर पार्टी विभाजनको अन्तिम कसरतमा थिए। पार्टी पुरानै अवस्थामा फर्केपछि नेता नेपालले अदालतले घोक्र्याएर एमालेमै फर्काइदिएको टिप्पणी गरेका थिए। 

यद्यपि, उनीहरुले पहिलेको अवस्थामा फर्केपछि नवौँ महाधिवेशनको निर्णयलाई कार्यान्वयन गरेर जानुपर्नेमा अडान कसे। तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाल समूह पार्टीमा फर्किने निर्णय गरिसके पनि एकलौटी रुपमा फागुन २८ गते आफू निकट नेता मात्र राखेर केन्द्रीय कमिटीको बैठक राखेर माओवादी केन्द्रबाट आएका  नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरे। त्यति मात्र गरेनन् उनले आफ्नो गुट बाहेकका नेतालाई कार्यक्षेत्रबाट पजनी पनि गरिदिए । 

उनले केन्द्रीय कमिटीलाई महाधिवेशनको मिति नै तोकेर आयोजक कमिटी घोषणा समेत गर्न भ्याए। ओलीले गरेको कारबाही फिर्ता गर्न नेपाल र एकता अभियानमा लागेका वामदेव गौतमको समूहले पटक पटक माग राख्दा समेत बेवास्ता गरेर पेलेर अघि बढिरहे। 

यहीबीच नेपाल समूहले चैत ४ र ५ गते कार्यकर्ता भेला आयोजना गरेर तल्लो तहसम्मको सुझाव लियो। भेलाले पार्टीभित्र रहेर ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकाल्यो। 

तर, उनीहरुले पार्टीभित्र गुटबन्दी नछाडेको भन्दै ओलीले पार्टी विधान विपरीत गतिविधि चालिरहे थप कदम चाल्न सक्ने चेतावनी सहित वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यबाट समेत निलम्बन गरिदिए। 

जसको असर अहिले एमालेभित्र समानान्तर कमिटी घोषणामा देखा परेको छ। नेपाल समूहले अध्यक्ष ओलीले स्वेच्छाचारिता देखाएका र पार्टीभित्र एकलौटी गर्दै गएको आरोप लगाउँदै देशभरका कार्यकर्ता र नेतालाई आफ्नो पक्षमा पार्न भन्दै समानान्तर कमिटी गठन गर्न थालेका छन्।   

अभियान घोषणा

ओलीको कारबाही र निर्णयलाई छलफल र बहसको ढोका बन्द गरेको र एमालेलाई विभाजन गर्दै छिन्नभिन्न पारेको आरोप नेपाल समूहले लगाउँदै आएको छ। 

ओलीले नेपाल समूहका चार नेतालाई स्पष्टीकरण सोधेपछि ओलीले गरेको कारबाहीलाई अर्थ नभएको टिप्पणी गर्दै पार्टीको तल्लो तहसम्म समानान्तर कमिटी गठन बनाइरहेको छ। नेपाल समूहले ओलीलाई बालुवाटार गुटको संज्ञा दिँदै आधिकारिक पार्टी आफूहरु भएको दाबी गर्दै आएका छन्।  

ओलीले पार्टीभित्र कारबाही बढाएपछि माधव समूहले देशव्यापी रुपमा दुई महिने अभियान घोषणा गरिसकेको छ। शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले दुई महिनाभित्र तल्लो तहसम्म पार्टी कमिटी गठन गर्ने निर्णय गरेको हो।  

‘पार्टी एकता आवश्यक छ। त्यसैको लागि हामी एकताको लागि नै लागिरहेका छौँ। अदालतको निर्णयअनुसार जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्षलाई आह्वान गरेका छौँ’ योगेश भट्टराईले बैठकपछि भनेका थिए,  ‘कारबाहीलाई ठूलो मानेका छैनौँ। जेल, नेल, कारबाही र निस्कासनले हामीलाई छुँदैन।’

‘विभाजन चाहदैनौं, प्रतिरोध गरेका हौँ’

अध्यक्ष ओली एमाले र कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउन लागिपरेको नेता भीम रावल बताउँछन्। 

‘ओलीले पार्टीलाई छिन्नभिन्न बनाउन लाग्नुभयो। त्यसको विरोध गरेका छौँ। कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागेकाले शसक्त रुपमा देशव्यापी अभियान चलाउँछौँ’ उनले भने, ‘ओलीले तल्लो तहसम्म फैलाएको भ्रम चिर्दै नवौँ महाधिवेशनको निर्णयलाई कार्यान्वय गरेर अभियान घोषणा गरेका छौँ।’

देशव्यापी अभियान चलाएर सबै जिल्लामा संगठन विस्तार गर्ने उनले बताए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा त्यही बेलाको घटनाक्रमलाई नियालेर निर्णय गर्ने तर्क गर्छन्। 

‘समर्थनको विषयमा अहिल्यै हामी बोल्न मिल्दैन। त्यो बेलाको विकसित घटनाक्रमलाई राम्रोसँग नियाल्छौँ’ उनले थपे, ‘त्यसैले अहिले त्यो बिषयमा परिकल्पना गरेका छैनौँ।’ 

ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाएर मनलाग्दी निर्णय गर्न थालेपछि प्रतिरोधको लागि दुई महिने अभियान चलाएको अर्का नेता रघुजी पन्त बताउँछन्।

‘उहाँले मनलाग्दी निर्णय गर्न थाल्नुभयो। पार्टीको वैधानिक कमिटीले काम गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने, ‘ओलीले समानान्तर कमिटी गठन गरेपछि हामीले वैधानिक रुपमा चलिरहेका छौँ,' माथिका ४ जनाले कारबाही गर्नुभयो। उहाँले तल्लो तहलाई पनि कामविहीन बनाएर कारबाही नै गर्नुभयो। त्यसको प्रतिरोध मात्रै गरेका हौँ।’ 

एमालेको पार्टी सदस्य भएकाले पार्टीले जे निर्णय गर्छ त्यो आफूहरुले मान्ने तर्क गरे। 

‘सरकारलाई गठनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाको निर्णय हो। हामी पार्टीको सदस्य भएकाले त्यही निर्णय मान्छौँ’, उनले भने, ‘पार्टी अध्यक्षबाट उचित निर्णय गरेमा सहयोग गछौँ। नत्र विरोध गछौँ।’ 

‘उहाँहरु असफल भएर फर्किनुहुन्छ’

पार्टीभित्रको विवाद समाधान गर्ने दिशामा नलागेर समानान्तर कमिटी बनाउन लाग्नेहरू असफल हुने परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता  प्रदीप ज्ञवाली बताउँछन्। 

‘उहाँले यो गतिविधि रोक्नुपर्छ। यस्ता गतिविधिले पार्टी एकता गराउन सम्भावना कमजोर बन्दै जान्छन्। उहाँहरुको यस्तो कदम कहि पुग्दा पनि पुग्दैनन्। यसअघिको इतिहासलाई हेर्दा यस्ता सफल हुदैन। त्यसले व्यक्तिगत नोक्सानी बाहेक केही हुँदैन’, उनले भने, ‘२०५४ सालमा नेता वामदेव गौतमले समानान्तर गतिविधि गर्नुभयो। पछि पार्टी विभाजन समेत गर्नुभयो। त्यसले खास परिणाम त ल्याउन सकेन।’

माधव नेपाल समूहलाई समानान्तर गतिविधि रोकेर पार्टी एकता गर्नका लागि फर्किन आग्रह समेत गरे। तर अध्यक्ष ओलीले त्यसका लागि कस्तो वातावरण तयार गर्छन् त्यो चाहिं बताउन सकेनन् । 

‘पार्टी विभाजन हुदैन। केही व्यक्तिहरु बाहिरिनु होला हामी त्यो पनि चाहेका छैनौँ। हामीले पटक-पटक भनिरहेका छौँ’ उनले भने, ‘उहाँहरु एक सूत्रीय अभियान नै बनाएर प्रधानमन्त्री हटाउनै पर्छ भनेर लागि राख्नुभएको छ। न कुनै एजेण्डा छ। न जनतासँग जोडिएका विषय नै।’ 

पार्टीभित्रको समस्या समाधान गर्न बैठकमा आउन समेत आह्वान गरे। तर नेपाल समुहका नेता रघु पन्त प्रतिवाद गर्छन्- ढोका थुनेर उहाँहरू हामीलाई भित्र बोलाउँदै हुनुहुन्छ। हामी विभाजनको पक्षमा छैनौं । यसलाई नै अध्यक्ष ओलीले हाम्रो कमजोरीका रुपमा लिइ रहनु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.