काष्ठमण्डपको काम पनि ९० प्रतिशत सकियो

|

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहराको टावर पुनर्निर्माणको काम २० दिनभित्र सकिने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद अर्यालले सबै तलाको निर्माण काम सकिसकेको जानकारी दिँदै गजुर मात्रै राख्न बाँकी रहेकाले अबको २० दिनभित्र टावरकाे काम भने सकिने बताएका छन्।

उनका अनुसार अहिले पार्किङ स्थलको काम पनि धमाधम भइरहेको छ। ‘समग्र अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ, निर्माण संरचनाको भने ८० प्रतिशत सकिएको छ,’ उनले भने।

सहसचिव अर्यालले आगामी असोजसम्म पुनर्निर्माणका सबै काम सकिने बताए। उनले भने, ‘कोरोना बीचमा पनि काम रोकेनौँ, यो आउने असोज महिनासम्म काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ। बीचमा फेरि कोरोना संक्रमण फैलियो भनेचाहिँ अझै पछि धकेलिन सक्छ।’

उनका अनुसार धरहराको २२ तला निर्माणको काम सकिएको छ। धरहरा निर्माण सकिएपछि पुरानो धरहराको संरक्षण गर्ने काम बढाइने छ। ऐतिहासिक धरहरा २०७२ सालको भूकम्पले भत्काएको थियो।

अहिले ४२.२ रोपनी क्षेत्रफलमा धरहरा‍ पुनर्निर्माण भइरहेको छ। भ्याटसहित तीन अर्ब ४५ करोड लागतमा बन्दै गरेको धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइने छ। 

काष्ठमण्डपको काम ९० प्रतिशत सकियो

त्यस्तै,सोही सालको भूकम्पले क्षति पुगेको वसन्तपुर स्थित काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। ‘अब काष्ठमण्डप छाउने,गजुर राख्ने लगायत केही काम बाँकी छ,’उनले भने,‘तीब्र गतिमा काम भैरहेको छ,अब छिट्टै सबै काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ।’

उनले अहिलेसम्म ९ करोड १ खर्च भएको जानकारी दिए। ‘पुरातत्व विभागले १९ करोड लाग्ने स्टिमेट गरेको थियो,तर, हामी १२ करोडमै सकाउने योजना छ।’ उनले काष्ठमण्डप पुरानै स्वरुपमा पुनर्निर्माण गरिरहेको बताए।

‘यो काष्ठमण्डप ७ औँ शताब्दीमा बनेको प्रमाणित भएको छ,’उनले भने,‘यो ऐतिहासिक काष्ठमण्डप पुरानै शैलीमा बनाइरहेका छौ, ठूलठूला खम्बाहरू पनि प्रविधिको प्रयोग नगरी हातकै सहायताले उठाएर राख्यौं, यो तीन तलाको बन्नेछ।’

उनका अनुसार पहिला काष्ठमण्डपकै नामबाट यही राजधानी चिनिन्थ्यो। पछि काष्ठमण्डप शहरलाई काठमाडौं भनियो। ‘समयको निर्धारण पनि काष्ठमण्डबाटै गरिन्छ, यो ऐतिहासिक,धार्मिक सबै पक्षले यसको ठूलो महत्व छ,’ शाक्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.