मुख्यमन्त्री शाहीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह

|

काठमाडौं : नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारमा एमालेका तर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिने निर्देशन दिने निर्णय गरेको हो। 

संसद् सचिवालयस्थित एमाले दलको कार्यलयमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई राजीनामा दिन आग्रहसमेत गरेको प्रदेशसभा सदस्य सुशील थापाले जानकारी दिए।

एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री शाहीले पनि नैतिकताका आधारमा राजीनामा दिने उनको विश्वास छ। राजीनामा नदिए मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

यससँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ। आजको बैठकमा एमाले संसदीय दलका सबै १९ जना प्रदेश सभा सदस्यको सहभागितामा रहेको थियो।

साथै बैठकले गुलाबजंग शाहको नेतृत्वमा तीन सदस्यीय संसदीय दलको विधान संशोधन कार्यदलसमेत गठन गरेको छ। कार्यदलको सदस्यमा करबीर शाही र मीना रखाल रहेका छन्। 

आजको बैठकले पार्टी एकताको सन्देश दिएको प्रदेशसभा सदस्य थापाले बताए। ‘आजको बैठकले कर्णाली प्रदेशबाट पार्टी एकताको सन्देश देशभरि गएको छ, उनले भने, ‘आज हामीले केन्द्रीय सरकार र पार्टीलाई पनि एकताका लागि सुझाव दिने निर्णय गरेका छौँ।’

यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएको थियो। केपी शर्मा ओली पक्षीय सांसदहरू मात्र सहभागी बैठक भएकाले नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो।

कर्णालीमा सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख भएका छन्। अब अर्को बैठक चैत २४ गते बस्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.