|

तनहुँ : शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो।

चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो। गत वर्ष वडा नम्बर ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो। १२ वटा वडा रहेको नगरपालिकामा १, ६, ८ र १२ नम्बर वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। वडा नम्बर ९ को नवनिर्मित कार्यालय भवन सञ्चालनमा ल्याइएको छ। कुल ५१ लाख १३ हजार रुपैयाँको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो।

सुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताए।

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका १४ वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन्। वडा नम्बर १ स्थित चारकुनेमा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए। नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी ६ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए। तनहुँको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.