|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी जेठ ३० गते गर्ने समय तोकेको छ। तर,अझै पनि मुल राजनीतिक विवाद समाधान हुन सकेको छैन। त्यसो त यही समयमा चुनाव गर्न सकिने सम्भावना कम देखिन्छ। 

पछिल्लो समय नेपाली राजनीति तरङ्गित छ। दुई तिहाई नजिकको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको निर्णयले भंग भएपछि राजनीतिक दलहरु आन्तरिक झमेलामा फसेका छन्।

अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएपछि नयाँ सरकार निर्माणका लागि जोडबल चलिरहेको छ। ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर नयाँ गठनबन्धनको सरकार गठन बनाउने दौडधुपमा बाँकी दल लागिपरेका छन्। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तिक्ततापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार गिराउन प्रयासरत छन्। माओवादीसहित बनेको एमाले सरकारमा छ। तर माओवादीले सरकारबाट समर्थन फिर्ता लिए ओली अल्पमतमा पर्ने देखिन्छ।  

राजनीतिक तरल अवस्थामा स्ववियुको चुनाव तोकिएको भए पनि अझै शंका छ। तर, विद्यार्थी नेताहरु समयमा निर्वाचन हुने आशा व्यक्त गर्छन्। नेकपा एमाले माधव–झलनाथ समूहको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जेठ ३० गते नै चुनाव गर्न सकिने बताउँछन्।

‘निर्वाचनको समय घोषणा हुनु एकदमै स्वागतयोग्य हो,’ उनले भने, ‘यही समयमा चुनावको माहोल बनाउन र सर्वदलीय बैठक बोलाउन विश्वविद्यालयलाई आग्रह गरिरहेका छौं,त्यसैले चुनाव हुन्छ,गर्नुपर्छ।’ त्रिविले केही सक्रियता देखाएका कारणले पनि समयमा चुनाव हुने आधार देखिएको उनको भनाइ छ। 

लोकतान्त्रिक स्थापनापछि स्ववियु चुनावले गति लिन सकेन

अध्यक्ष पराजुलीले नेपालमा जब लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, त्यसपछि चुनावले गति लिन नसकेको बताए। उनका अनुसार २०६५ सालपछि स्ववियुको चुनाव हुन सकेको छैन्। ‘पार्टी र गुटको आधारमा त्रिविमा पदाधिकारी नियुक्ति गर्ने कारणले स्ववियुले गति लिन सकेन,’ उनले भने, ‘चुनावको उचित समय त्रिविले खोज्न सकेको छैन।’

नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले पनि त्यही समयमा चुनाव गर्न सकिने सम्भावना रहेको बताए। ‘चुनाव गर्न सकिने सम्भावना छ,’ उनले भने,‘प्रत्येक दुई–दुई वर्षमा चुनाव हुनुपर्ने थियो,तर हुन सकेन, हामीले सक्ने पहल गरिरहेका छौँ, चुनाव हुने सम्भावना धेरै छ।’

त्रिवि भन्छ : २५ गतेपछि निर्णय हुन्छ

त्रिविका रजिष्टार पेशल दाहालले २५ गतेको छलफलबाट थप निर्णय हुने जानकारी दिए। ‘३० गते चुनाव गर्ने सहमति भने भएको हो,’ उनले भने, ‘फेरि २५ गते सबै विद्यार्थी संगठनलाई बोलाएका छौं,छलफल गरेर टुंगोमा पुग्छौँ,सहमति भएमा ३० मै चुनाव हुन्छ।’

उनले सरकारसँग समन्वय गरेर मात्रै निर्णय गरिने पनि बताए। ‘त्रिविले मात्रै चुनाव गराउने होइन,सरकारसँगको समन्वयमा जानुपर्छ, समय मिलाउनुपर्छ,’ दाहालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.