मन्त्रिपरिषद्बाट निर्देशिका पास हुन ढिलाइ

|
प्रतिकात्मक तस्विर

काठमाडौं सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले 'केयर गिभर'का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन।  

पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। 

इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतवासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए। नेपालमा इजरायली राजदूत र श्रम तथा रोजगार मन्त्रालयमा सम्झौता भएको थियो। सरकारको ढिलासुस्तीकै कारण कामदार जान पाएका छैनन्।

यसअघि इजरायलले नेपाली कामदार पठाउन माग गरेको भए पनि श्रम तथा रोजगार मन्त्रालयले स्विकृती दिन नसक्दा कामदार पठाउन नसकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताएका छन्।

इजरायलले भने कामदार पठाउन निर्देशिका बनाइसकिएको पनि उनले जानकारी दिए। निर्देशिका बनाइए पनि मन्त्रालयबाट स्विकृत नभएको दाहालको भनाइ छ। निर्देशिका एक साताभित्र स्विकृत हुने उनको ठहर छ। 'सम्पूर्ण प्रक्रिया बनिसकेपछि मात्र कामदार लाने प्रक्रिया अगाडि बढ्छ,' दाहालले भने, 'अन्तिम चरणमा पुगिसकेको छ। कामदारले अनलाइनबाट फारम भर्न सक्छन्।'

नेपालबाट कामदार पठाउन सकिए नेपाली कामदारको माग बढ्न सक्ने उनको भनाइ छ। कामदार पठाउन ढिलाइ भएकैले नेपाल आउनुपर्ने कामदारको माग अन्तै देशतर्फ इजरायलले बढाइरहेको दाहालले बताए। 

उनका अनुसार इजरायल पठाउने निर्देशिकाले सम्पूर्ण कुराहरु बताउने छ। कसरी कामदार पठाउन सकिन्छ, त्यसबारे निर्देशिकाअनुसार काम हुने पनि उनले सुनाए। परीक्षा लिनेदेखि कामदारको योग्यता निर्धारण गर्नेसम्म निर्देशिकामा भएबमोजिम हुने उनको भनाइ छ।

इजरायलले ६ महिनाअघि ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष माग गरेको थियो। 'जिटुजी' माध्यमबाट कामदार लानेगरी सम्झौता भएको हो। नेपाली कामदारले मासिक १ लाख ५० हजारसम्म कमाउन सक्ने महानिर्देशक दाहालले जानकारी दिए। तर टिकट भने कामदार स्वयंले खरीद गर्नुपर्नेछ।

मन्त्रिपरिषदबाट निर्देशिका पास हुन बाँकी

कामदार पठाउन मन्त्रालयबाट निर्देशिका बनाउन ढिलाइ भएकै हो भन्ने थाहाखबरको प्रश्नमा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे भन्छन्,' कामदार पठाउने निर्देशिका बनाउन मन्त्रालयको जिम्मा थियो। करिब सात वटा मन्त्रालयबाट सल्लाह सुझाव लिनुपर्ने भएकोले निर्देशिका बनाउन ढिलाइ भएकै हो।'

नेपाल सरकारबाट निर्देशिकाका लागि सहमति आइसकेको पनि उनले जानकारी दिए। विभिन्न विधि पुर्‍याएर काम गर्नुपर्ने भएकोले केही समय ढिलाइ भएको पनि उनले सुनाए। कार्यविधि बनिसकेर अन्तिम चरणमा छ।

'मन्त्रिमण्डलमा उक्त कार्यविधि पेस गर्न बाँकी छ, 'प्रवक्ता पाण्डेले भने,'  मन्त्रीपरिषदबाट कार्यविधि पास भएपछि निर्देशिकाअनुसार काम बढ्ने छ।'

कोको जान पाउनेछन् इजरायल?

तौल कम्तीमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाइ कम्तीमा ५ फिट भएका, र कम्तिमा एसएलसी पास भएकाले इजरायली भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयर गिभर तालिम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र पनि आवश्यक पर्नेछ।

यसअघि इजरायल पुगेकाले यसका लागि आवेदन दिन पाउने छैनन्। आवेदकले इन्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.