|

काठमाडौं : एउटा उदाहरण दिएर यो लेखको दैलो उघार्छु।

केही महिनाअघि संसद्‌ विघटनपश्चात्‌ तत्कालीन नेकपाको प्रचण्ड-नेपाल समूहले देशभर आन्दोलन चर्कायो। आफ्ना कार्यकर्ता राजधानी ल्याएर शक्ति प्रदर्शन गर्‍यो। त्यसै क्रममा कोटेश्वरमा एक मिडियाकर्मीमाथि सो समूहका कार्यकर्ताले हातपात गरे।  उनको मोबाइल समेत फुटाइदिए।

त्यहाँ पत्रकारमात्र कुटिएनन्, पार्टीले कस्ता कार्यकर्ता उत्पादन गरिरहेको छ भन्ने छर्लङ्ग भयो।

कुटाई खाने ती पत्रकार साथीले पछि घटनाबारे लेखे। सबैले पढे। श्रमजीवी पत्रकारमाथि हुने यो खालको व्यवहारले धेरैको मन पोल्यो। तर, पत्रकार महासंघले यसबारे कुनै आवाज उठाएको सुनिएन, मानौं केही भएकै थिएन।

महासंघका अध्यक्षलगायत अधिकांश पदाधिकारी सरकारविरुद्ध आन्दोलनरत समूहहरू निकट थिए? उनीहरूलाई पत्रकारको भन्दा आफ्ना पार्टीका कार्यकर्ताको बढी चिन्ता भएको हुनुपर्छ। नत्र, पत्रकारकै संस्थाको नेतृत्व गरेका महासंघका पदाधिकारी गुपचुप बस्नुपर्ने कुनै कारण थिएन।

मौनता साँधिरहेपछि पत्रकार महासंघ मस्त निन्द्रामा भएको अड्कल धेरैले काटे।

दोस्रो घटना दरबारमार्गमा घट्यो। संसद्‌ विघटनपश्चात्‌ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शक्ति प्रदर्शन गरे।

कडा सुरक्षा घेराबीच भएको उक्त कार्यक्रममा विभिन्न मिडियाका साथीहरू पुगे। बिहानैदेखि सूचना संकलन गर्न तयार पत्रकारमध्ये केहि पत्रकारलाई त्यहाँ छिर्न दिइएन। ती पत्रकारले कसैलाई फोन गरेर सूचना संकलन गर्न सभामा प्रवेश पाएको खबर सामाजिक सञ्‍जालमा आएको थियो।

पत्रकारिता र पत्रकारको हक सुनिश्चित गर्न भन्दै लगत्तै पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्‍यो। यसपाली भने महासंघ निन्द्राबाट उठे झैं गर्‍यो। खुसी नै लाग्यो

तर, प्रश्न उठ्यो : उस्तै प्रकृतिका घटनामा महासंघको दोहोरो चरित्र किन? पत्रकारमाथि हुने अमानवीय व्यवहारमा किन मौनता र पक्षपात?

महासंघको नजरमा कुटाई खाने पत्रकार र सूचना संकलन गर्न सभामा प्रवेश नपाउने पत्रकार किन समान भएनन्‌? ती दुबै श्रमजीवी पत्रकारको अभिभावक महासंघ हुन सकेन। महासंघले यस्ता खालका भेदभाव गरिरहन्छ। किनभने, महासंघमा श्रमजीवी पत्रकारका लागि लड्नेभन्दा पार्टीले टीका लगाइदिएपछि नेतृत्वमा पुग्नेहरूको संख्या उल्लेख्य छ।

कुनै धक र संकोच नमानी लेख्न या भन्न सकिन्छ : नेपाल पत्रकार महासंघ विभिन्न पार्टीमा आस्था राखिरहेका कार्यकर्ता पत्रकारले रवाफ बढाउने अखडा हो। सबैभन्दा बढी राजनीतिक खिचातानीमा परिरहेको पेशागत छाता संस्था पनि यही हो।

जब-जब कुनै पार्टीको दया र निगाह प्राप्त गरी टिकट पाएर व्यक्ति नेतृत्वमा पुग्छन् : उनीहरूले पत्रकारभन्दा पार्टीकै हितबारे धेरै सोच्ने नै भए। यस पटकको चुनावमा पनि पार्टीका हितैषी उम्मेदवारहरूकै बाहुल्यता बढी छ। 

महासंघको नेतृत्व कसले गर्छ, हेर्न बाँकी छ। तर, देखिएका अनुहारहरूले व्यवसायिक पत्रकारिता र श्रमजीवी पत्रकारका हकहितका नारा लगाएपनि त्यो फगत चुनावी खपतका लागि हो भनी खुट्याउन मिडिया अनुसन्धान गरिरहनु पर्दैन।

श्रमजीवी पत्रकारले आफ्ना मुद्दा स्थापित गर्न ती व्यक्तिलाई भोट दिनसक्छ? वर्षौदेखि पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकारहरू केही बाहेक अधिकांश पार्टीको टीका लगाएर चुनावी मैदानमा छन्‌। कतिपय साथीहरू 'मलाई जिताइदिनुस्‌' भन्दै हामीसँग भोट याचना गर्दै कार्यालयमा आइरहनुभएको छ। तर, उहाँहरूमध्ये धेरैजसोको छवि आधा पत्रकार र आधा पार्टी कार्यकर्ताको छ। अझ, पत्रकारिताका क्षेत्रमा कहिल्यै नाम नसुनिएका व्यक्तिहरू पनि 'पत्रकार महासंघ हाँक्छु, मत दिनुस्‌' भनिरहनुभएको छ। 

मत माग्नेहरूको लर्को र तिनको अनुहार देखेपछि मेरा सहकर्मीले ठट्टा गर्दै भनेका थिए, 'सरजी! पार्टीको टीका लगाएर चुनावी मैदानमा उत्रिएका हाम्रा अग्रज पत्रकारलाई पार्टीले नै जिताउँदैन र भन्या? हामीजस्ता सामान्य पत्रकार र कुनै दलमा आबद्धता नभएकाले कसरी जिताउनु हो? हामीले भोट दिनु भनेको त उनीहरूले वर्षौंदेखि गरेको पार्टीकारिताको अवमूल्यन हो।'

मलाई उनको ठट्टामा घत पर्‍यो। 

पत्रकार लेनिन बन्जाडेले केही दिनअघि सामाजिक सञ्‍जालमा नोट लेखे। महासंघमा उम्मेदवारी दिएका केही अनुहारबारे उनले लेखेका थिए, 'तपाईं जतिसुकै सन्त, व्यावसायिक, इमानदार वा कर्तव्यनिष्ठ हुनुहोस्। पार्टीले टिकट दिएर उठायो भने तपाईंको हैसियत टोले कार्यकर्ताभन्दा माथिको होइन।तपाईं जत्तिको पाखण्डी कोही छैन। पाखण्डीहरूले परिवर्तन ल्याउन सक्दैनन्, उनीहरूको काम भाँड्नेमात्रै हो।'

आज चुनावी मैदानमा उठेका व्यक्तिले पत्रकारिता मुद्दा सुनुवाई हुन्छ भन्ने आधार के हो? जो वर्षौंदेखि महासंघमा नेतृत्व जिताउन अग्रसर छन्‌ : उनीहरू नै अहिले नेतृत्वका लागि हानथाप गरिरहेका छन्‌।

​पत्रकारका समस्या हिजो-आजै निम्तिएको होइन, यावत्‌ समस्याहरू नेपालमा मिडियाको विकासक्रममा सल्टिनुको साटो झनै झाँगिदै गएको छ। यसअघि नेतृत्वमा पुगेकाहरूले पनि उही मुद्दा उठाएका थिए। जुन मुद्दा अहिलेपनि यथावत्‌ छन्।

यस्तो देखिन्छ : पत्रकार महासंघको कुर्सी ताकिरहेका अधिकांश उम्मेदवारहरू र सरकारी अड्डामा सूर्यास्त कुरेर बस्ने लेखनदासको लेखन उस्तै हो। उही फर्म्याट, व्यक्तिमात्र फरक!

यही प्रवृत्तिले गर्दा आज पत्रकारितामा केही गर्छु भन्ने नयाँ पिँढी हतास हुनुपर्ने अवस्था छ।

जसले इमानदार भएर निष्पक्ष पत्रकारिता गर्छु भन्छ - उ यो पेशामा नआएपनि हुने भैसकेको छ। यो असन्तुष्टि या आरोप होइन, एक क्रियाशील पत्रकारले गरेको सत्यको वकालत हो। र, यो स्थिति निम्तिनुका​ पछाडि दलको टिकट लिएर पत्रकार महासंघमा कब्जा जमाएकाहरू नै जिम्मेवार छन्‌। 

महासंघको नेतृत्व गर्न अहिलेहाल तम्सिएका अनुहार हेरौं।

महासंघका पदाधिकारीहरूले करिब १३ हजार जनालाई पत्रकार भन्दै सदस्यता बाँडेका छन्‌। ती सबै यो पटकको चुनावका मतदाता हुन्‌। 

ती मध्ये कतिले पत्रकारिता गर्छन्‌? महासंघलाई थाहा छ? सदस्यताका लागि के-कस्ता मापदण्ड चाहिन्छ भन्नेसम्म थाहा नपाएका व्यक्तिहरू पनि महासंघको सदस्य छन्‌। खोज्दै पसे यस्ता सदस्य जहाँतहीँ भेटिन्छन्‌। अर्कातिर, सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरूले महासंघको सदस्यता लिएका छैनन्‌।

​यो हिसाब गर्दा नेपालमा पत्रकार कति छन्‌, खासमा को पत्रकार नै हुन्‌ भन्नेसम्मको तथ्यांक महासंघसँग छैन। महासंघको सदस्यता हेरेपछि मेरा एकजना मित्रले सुनाएका थिए, 'मैले एउटा अफिसमा वर्षौंदेखि काम गरेको छु, यहाँका पत्रकारबारे म जानकार छु। जब महासंघको सदस्यतामा संस्थामा काम गर्ने पत्रकारको नाम हेरें-म आफैँ चकित ! आधाभन्दा बढी स्वनामधन्य पत्रकारहरूसँग मैले परिचय गर्ने अवसर नै पाएको रहेनछु।'

साथीले यस्तो भनेपछि लाग्यो : भोटका लागि दिएको सदस्यता र रत्नपार्कमा कर्मचारी आवश्यकता भन्दै बाँडिने कागजमा फरक छैन।

यो एउटा उदाहरण हो। खोज्दै जाँदा म:म: पसलेदेखि पेट्रोल पम्प सञ्चालकसम्म, भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्रीदेखि कर छलिरहेका व्यापारीसम्म महासंघको सदस्य छन्‌।

​पत्रकारको नैतिकतालाई कमजोरी ठान्ने र हेप्ने समाचार संस्थाहरूले श्रमको मूल्य दिइरहेका छैनन्‌। कोरोना महामारीका बेला घटेका घटना नै यसका ज्वलन्त उदाहरण हुन्‌।

संकटले निम्त्याएको जोखिममा कति पत्रकारले पत्रकारिता गरिरहे, कतिले आधा तलबले गुजारा चलाउनुपर्‍यो, कतिले अहिलेससम्म भुक्तानी पाएका छैनन्‌, यसबारे महासंघका ठूलाबडालाई सोच्ने फुर्सद थिएन र हुनेपनि देखिँदैन। पत्रकारले दु:ख पाउँदा उनीहरूलाई फाइदा भने निकै हुन्छ-श्रमजीवीहरूले भोगेको पिडा र दु:ख महासंघमा राजनीति गर्ने गजबको भर्‍याङ बनिदिन्छ। 

समस्यामा पर्दा पत्रकारले गुहार्ने महासंघ नै हो। तर, महासंघले यो कोरोना संकटमा परेर पीडित भएका पत्रकारका बारे कति बोल्यो? आफ्नो पसिनाको मूल्य लिन सडकमा उत्रिएका पत्रकारको पक्षमा बोल्न महासंघलाई के ले रोक्यो? यतिसम्मकी, पत्रकारहरू बानेश्वरमा अनसन बस्दासमेत पत्रकार महासंघको ब्यानरसम्म त्यहाँ थिएन।

पेशाबाट हात धुनुपर्दा, तलब तथा सेवा सुविधा नपाउँदा देश-दुनियाँका खबर जनतासम्म पुर्‍याउने श्रमजीवी पत्रकार स्वयं परिवारसंग बेखबर हुनुपर्ने अवस्था सृजना भएको छ। पत्रकारको हकहितमा बोल्न नसक्ने महासंघको औचित्य के हो?

संस्था कहिल्यै खराब हुँदैन, विभिन्न स्वार्थ भजाउन त्यहाँ पुग्नेहरूले संस्थाको साखलाई सिध्याउँछन्‌। ​राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्र अस्तव्यस्त हुनुको पहिलो कारण पनि यही हो। महासंघले हाम्रा मुद्दाहरू स्थापित गर्न उपयुक्त व्यक्ति पाउनै सकेन।

विभिन्न पार्टीका आस्था र विचार बोकेर पुगेका व्यक्तिले स्वतन्त्र पत्रकारको वकालत कसरी गर्छ? यहाँ विशुद्ध पत्रकारिता गर्ने र पत्रकारिताको खोल ओढ्नेबीच फरक छुट्याएर आवश्यक काम-कारबाही गर्ने नैतिकता निर्माण गर्ने हो भने मतदाताहरूले विवेक पुर्‍याउनैपर्छ।

छाता संस्थामा पार्टीको आस्था र विचार लादेर कार्यक्षेत्रमा निष्पक्ष पत्रकारिताको रटान लगाउनुजस्तो पाखण्ड केही हुँदैन। यसो गरेपछि निष्पक्ष पत्रकारिताको अभ्यास कल्पनामा मात्र सीमित भैदिन्छ।

जबसम्म दलीय आस्थाका पत्रकारिताका संगठन खारेज हुँदैनन्‌, तबसम्म श्रमजीवी पत्रकार पीडित भइरहनुपर्छ। किनकी, मिडिया सञ्चालकले दलको नेता हुँदै आफ्ना कार्यकर्तामार्फत महासंघ कब्जा गरिरहन्छन्‌। अनि, महासंघले पत्रकारका मुद्दालाई फगत बिकाउ जार्गन मात्रै बनाइरहन्छ। श्रमजीवी पत्रकारहरू अलपत्र परिरहँदा पत्रकारको पीडा महासंघका लागि नेतागिरी गर्न भजाउने अस्त्र बनिदिने गरेको छ।

नेतृत्व हाँक्न वा उनीहरूलाई समर्थन गरिरहेका केही पत्रकारहरूले कतिपय पत्रकारिताका अन्तरक्रियामा पत्रकार र स्वतन्त्र पत्रकारिताका लागि राजासँग लडेको घटना सानका साथ सुनाइरहेका हुन्छन्‌। हिजो पत्रकारका पक्षमा राजा विरुद्ध नै लड्नसक्ने ती पत्रकार अहिले श्रमजीवी पत्रकारलाई समस्यामा पार्ने मिडिया मालिकविरुद्ध एक शब्द खर्च गर्न किन सकिरहेका छैनन्।

पत्रकार महासंघमा विशुद्ध पत्रकारले अरू केही स्वार्थ नबोकेका पत्रकारमात्रलाई आफ्नो नेतृत्वका रूपमा उभ्याउन कहिले पाउँछन्‌?

इतिहासमा गरेका कामको सम्मान गर्दागर्दै पनि वर्तमानमा भएका विसंगतिविरुद्ध बोल्न नसक्दा इतिहासका कामबारे पनि शंका उठ्नसक्छ भन्ने हेक्का राखिदिनुपर्छ। राजासँग लडेको कथा सुनाउने, तर पत्रकार चुस्ने मालिकविरुद्ध आवाज दबाउनेहरूलाई हामीले कि घागडान भनी पत्याइदिनुपर्ने?

अन्त्यमा; पत्रकारिता देशको मुख्य र सबैभन्दा महत्वपूर्ण अंग हो। तर, पत्रकारिताको सामान्य मूल्य र मान्यता के हो? न्यायका काम गर्न कानून पढ्नुपर्छ। बिरामी उपचार गर्न डाक्टरी पढ्नुपर्छ। तर, समाज , देश र सम्पुर्ण क्षेत्रको चिरफार गर्ने हैसियत राख्ने पत्रकारका लागि मापदण्ड नचाहिने? पत्रकार बन्न लेख्न र बोल्न जाने हुने हो कि यस बाहेक पनि अन्य केही मापदण्ड चाहिन्छ?

पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आवश्यक भइसकेको छ।

चिकित्सकलाई चिकित्सकले मात्र भोट हाल्न पाउँछ, इञ्‍जिनियरलाई इञ्‍जिनियरले नै ! 

अनि, पत्रकार महासंघमा विशुद्ध पत्रकारले अरू केही स्वार्थ नबोकेका पत्रकारमात्रलाई आफ्नो नेतृत्वका रूपमा उभ्याउन कहिले पाउँछन्? यो गम्भीर सवाल हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.