'ग्रिन सिग्नल'मा परेका मात्रै जान पाउने, परीक्षाका लागि सामग्री कोरियाबाटै ल्याइने

|

काठमाडौं : नेपालमा फेरि पनि दिनहुँ कोरोना संक्रमण दर बढ्न थालेको छ।

यसले गर्दा भाषा पास गरेर बसेका नेपाली कामदार जानेको समय अनिश्चित हुँदै जान थालेको छ। नेपाली कामदारका लागि वैदेशिक रोजगारका लागि सबैभन्दा आकर्षक गन्तव्य मुलुक हो दक्षिण कोरिया। नेपालमा कोरोना संक्रमण घट्दै गए पनि पछिल्लो समय फेरि बढ्न थालेपछि भाषा परीक्षा पास गर्नेहरू तत्कालै जान नपाउने अवस्था घट्न थालेको हो।

संक्रमण अझ बढ्दै गएकोले रोजगारका लागि कन्ट्रयाक भइसकेका र बिदामा नेपाल आएका नेपाली कामदार कोरिया जान नपाउने निश्चितजस्तै बनेको छ। कोरियाले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले पनि तत्कालै कामदार जान नपाउने अवस्था बनेको छ।

नेपाल सरकारको तर्फबाट कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव राखे पनि कोरिया सरकार इच्छुक नभएका कारण रोजगारमा जान चाहनेलाई पठाउन सकेको छैन।

नेपालस्थित कोरियाली राजदूतावासका प्रतिनिधिसँग नेपाली कामदार पठाउन विभिन्न चरणमा वार्ता भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। 

कोरियाली प्रतिनिधिसँग छलफल भइरहेको छ

कोरियामा र नेपालमा कोरोना संक्रमण बढिरहेकाले पनि तत्कालै नेपाली कामदार लान नसकिने दूतावासका प्रतिनिधिले बताउँदै आएको (इपिएस) शाखाका प्रमुख इन्द्र गौतमले थाहाखबरलाई बताए। उनका अनुसार कोरियाले नेपाललाई 'रेड जोन' र 'यल्लो जोन'मा राखेको छ। अप्रिल १ देखि 'यल्लो जोन' मा राखेको हो। 'ग्रिन जोन'मा राख्न थालेपछि मात्र नेपाली कामदार जान पाउने छन्।

उनले भने,' मन्त्रालयमा दूतावासका प्रतिनिधिसँग वार्ता पनि भएको थियो। उनीहरूले भनेका छन, तत्कालै कामदार लाने अवस्था छैन। कोरिया जाने कामदारको कोटा नगुम्ने र कोरोनाकै कारण केही ढिलाइ भएको हो।'

कोरियाली प्रतिनिधिले नेपालमा देखिएको कोरोना 'ग्रिन सिग्नल' मा झरेपछि नेपाली कामदार लान सुरु गरिने आश्वासन दिएको गौतमले जानकारी दिए। कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयले अनुमति  दिएपछि मात्र कामदार लाने प्रक्रिया बढ्नेछ।

'हामीले कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव गरिरहेका छौँ। कोरियाले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ। नेपालसहित अन्य मुलुकहरूबाट पनि श्रमिक लैजान कोरियाले रोक लगाएको छ।' इपिएस शाखाका निर्देशक गौतम भन्छन्, 'अहिले १२ वटा मुलुकलाई पूर्ण रुपमा रोक लगाएको छ।नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले कामदार लान अनिच्छुक छ, पारिवारिक र विद्यार्थी भिसा मात्र उपलब्ध गराउँदै आएको छ।'

उनका अनुसार नियमित र 'कमिटेड' गरेर ७ हजार ४ सय कामदारहरू जान पाएका छैनन्। 'कोरियाबाट विदामा आएर जान नपाएका ३ हजार कमिटेडहरू कोरिया जान पाएका छैनन्,' गौतम भन्छन्,' लेबर कन्ट्रयाक्ट भइसकेकाहरूको हकमा कुनै कम्पनीले रद्द गर्‍यो भने पनि १ वर्ष म्याद हुन्छ। सबैको रोजगार सुनिश्चित हुन्छ।' मुख्य कुरा नेपालमा कोरोनाको अवस्था कस्तो रहन्छ त्यसमा निर्भर रहने उनले प्रस्ट पारे। 

रोष्टरमा साढे ४ हजार, अझै बढ्ने

भाषा परीक्षा पास गरेर रोष्टरमा ४ साढे हजारको हाराहारीमा नाम छन्। अझ केही समयमा जान पाएनन् भने रोष्टरमा रहनेको संख्या बढ्ने उनको दाबी छ। हरेक तीन-तीन महिनामा रोष्टरमा पर्नेको संख्या बढिरहेको छ।

भाषा तथा सीप परीक्षा पास गरेपछि कोरिया प्रवेश नगरेका उदाहरण प्रशस्तै छन्। परीक्षा उत्तीर्ण गरेकालाई रोष्टरमा राखिन्छ। कोरोनाको समयमा रोष्टरमा रहेकाहरूको म्याद गुज्रिएका हकमा म्याद थप गर्न नेपालका तर्फबाट आग्रह गरिएको गौतमले बताए। रोष्टरमा परेका कामदारको एक वर्षसम्म समयावधि थपिन्छ।

धेरै श्रमिकको रोष्टरमा रहँदा रहँदै म्याद गुज्रिसक्दा पनि कोरियाली रोजगारदाताको छनोटमा परेका छैनन्। कोरिया प्रवेशका लागि भाषा तथा सीप परीक्षा पास गरेर रोस्टरको प्रक्रियासम्म पुग्नुपर्छ। रोष्टरमा म्याद गुज्रिँदा पनि रोजगारदाताको रोजाइमा नपर्नेहरूको सङ्ख्या साढे ४ हजार इपिएस शाखाले जनाएको छ।

कोरियामा हाल ३१ हजार नेपाली कामदार रहेको गौतमले जानकारी दिए। कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरिएको छ। ट्रायलका लागि कम्बोडियाबाट रेगुलर र कमिटेड कामदार लगिरहेको उनले बताए। पछिल्लो समय थाइल्याण्ड, भियतनाम र श्रीलंकाबाट कामदार लगेको हो।

'भाषा परीक्षा हुन्छ, परीक्षाको सामग्री कोरियाबाट ल्याइने'

'भाषा परीक्षा लिन दुवै देशबीच छलफल चलिरहेको छ, 'गौतमले भने, 'मिति तय भइसकेको छैन। अब लिने परीक्षा विगतको जस्तो पेपरमा हुने छैन।' अनलाइन माध्यमबाट परीक्षा लिने र ट्याबको प्रयोग गरेर परीक्षा हुने उनले जानकारी दिए। परीक्षाको सम्पूर्ण सामग्री कोरिया सरकारले उपलब्ध गराउने उनले सुनाए।

एकपटकमा २ सय भाषा परीक्षार्थीको परीक्षा लिने गरी तयारी भइरहेको गौतम बताउँछन्। दुवै देशले परीक्षा गर्न सफ्टवेयर निर्माण गरिरहेको उनले बताए। भैँसेपाटीस्थित आफ्नै भवनमा परीक्षा लिन सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.