३४ प्रतिशतले मात्र लिए सेवा

|
फाइल फोटो

काठमाडौं : सरकारले ५ वर्षअघि निकै प्रचारसाथ स्वास्थ्य बीमा कार्यक्रम शुरू गर्‍यो। गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न भन्दै सरकारले २०७२ चैत २५ बाट स्वास्थ्य बीमा कार्यक्रम थालेको थियो।

कैलालीबाट शुरू गरिएको यो कार्यक्रम अहिलेसम्म ६९ जिल्लामा विस्तार भइसकेको छ। बाँकी जिल्लाहरूमा पनि सरकारले यसै आर्थिक वर्षभित्र कार्यक्रम विस्तार गर्ने जनाएको छ। 

पाँच वर्षमा ३७ लाखले गरे स्वास्थ्य बीमा

बीमा शुरू भएको ५ वर्षसम्म ३७ लाख ४२ हजार २ सय ५६ जनाले स्वास्थ्य बीमा गरेका छन्। यी मध्ये १४ लाख ४५ हजार ५ सय ३३ जनाले बीमा गरेबापत सेवा लिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

हालसम्म बीमा भएकामध्ये अतिविपन्न वर्गका नागरिकको संख्या ४ लाख २३ हजार १ सय ३२ रहेको छ।

अहिलेसम्म मुलुकका ६९ जिल्लामा सञ्चालन भएको बीमा कार्यक्रम बुधबार ६ जिल्लामा विस्तार गरी ७५ जिल्ला पुर्‍याइँदैछ। काठमाडौँ र ललितपुरमा भने केही पछि कार्यक्रम सञ्चालन हुने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सनेन्द्रराज उप्रेतीले बताएका छन्। बोर्डका अनुसार कुल जनसङ्ख्याको १५ प्रतिशतले मात्रै हालसम्म सेवा लिएका छन्।

सङ्गठित क्षेत्रलाई अझैसम्म आवद्ध गर्न सकिएको छैन। चालु १५ औँ योजनामा यो कार्यक्रममार्फत स्वास्थ्य बीमा गर्ने नागरिकको संख्या ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

सेवा लिने ३४ प्रतिशत मात्र

नेपालमा स्वास्थ्य बीमामा सहभागी भएकामध्ये ३४ प्रतिशतले मात्रै स्वास्थ्य सेवा लिएका छन्।

बोर्डले दिएको जानकारी अनुसार कुल ३७ लाख ४२ हजार ६५६ ले स्वास्थ्य बीमा गराएका छन्। अहिलेसम्म बीमितमध्ये ७० प्रतिशतले बीमा नवीकरण गराएका छन्‌। नेपालमा कुल ६७३ स्थानीय तहमा बीमा भएको छ।

चार लाख ६० हजार ७७८ अति गरीब, चार लाख २३ हजार १६२ ज्येष्ठ नागरिक, १३ हजार ५०९ एचआइभी सङ्क्रमित, ५३ हजार ६२४ अति अशक्त अपाङ्गता भएका र झण्डै दुई हजार कुष्ठरोगीले बीमा गराएका हुन्। उनीहरू सबैलाई सरकारले निःशुल्क बीमा व्यवस्था मिलाएको छ।

यस्तै, ४७ हजार ८४४ जना महिला स्वास्थ्य स्वयंसेविकाले बीमा गराएका र उनीहरूका लागि पनि सरकारले लाग्ने प्रिमियम शुल्कमा ५० प्रतिशत छुट गराएको छ।

बोर्डले बुधबार पाँचौँ स्वास्थ्य बीमा दिवस मनाउँदैछ।

बीमा भएको ५ वर्ष पूरा भइसकेको अवस्थामा र सरकारले बीमा विस्तार गर्दै लगेको बेलामा हाल एकपटक बीमामा आबद्ध भएकाहरू र पुनर्बीमा गर्ने बीमितहरू भने निकै कम छन्‌।

शुरूमा बीमा गरेमा मध्ये ७० प्रतिशतले मात्रै बीमा नवीकरण गरेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए। उनले भने, ‘हाल पहिलो पटक बीमा गरेका झन्डै एक तिहाइले बीमा नवीकरण गरेको पाइएको छैन।'

यस्ता छन्‌ चुनौती

सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन्‌ भन्ने योजनासाथ बीमा कार्यक्रम संचालन भएको हो।

जनताले​ बीमाबाट पहिलोपटक सामुदायिक अस्पताल तथा प्राथमिक स्वास्थ्य संस्थाबाट सेवा लिने भनिएको छ।

तर, त्यस्ता स्वास्थ्य संस्थामा जनताले अपेक्षा गरेअनुसार स्वास्थ्य सेवा उपलब्ध छैन। सरकारले दिएको सेवा पनि गुणस्तरीय नभएको गुनासो जनताले गर्दै आएका छन्।

यस्तै, स्वास्थ्य संस्थामा औषधी-उपकरणहरू पनि नरहेको गुनासो बीमितहरूको भएकाले बीमामा चुनौती थपिएको बोर्डका निर्देशक डा. बसौला बताउँछन्‌। 

‘बीमा गरेबापत पहिलोपटक सेवा लिने स्थानीय तहका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र स्वास्थ्यका पूर्वाधार नहुँदा चुनौती थपिएको छ,' बसौलाले भने, ‘ग्रामिण र दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको कमी र गुणस्तरीय पूर्वाधार नहुनु नै अहिले स्वास्थ्य बीमाको मुख्य चुनौती हो।‘

स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले राम्रो सेवा र सुविधाको आशा राख्ने, तर विभिन्न कारणले बीमितको अपेक्षा पूरा नभएपछि पुन: बीमामा आबद्ध हुनेको संख्या कम भएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बताए।

उनले भने ‘पुन: बीमा गराउने बीमितहरूको संख्या घटेको पक्कै हो, यसो हुनुको मुख्य कारण बीमाबाट पहिलोपटक सेवा पाउने हाम्रा स्थानीय प्राथमिक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा गुणस्तर नहुनु नै हो।'

स्वास्थ्य बीमामार्फत सरकारले  ११ सय प्रकारका औषधी उपलब्ध गराउने गरेको छ। तर, स्वास्थ्य संस्थाले ती औषधीहरू सिफारिस नै नगर्ने गरेको डा. उप्रेतीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.