सीतामढीबाट समातिए, प्रहरीले अनुसन्धान गर्दै

|

महोत्तरी : महोत्तरी भगाहाका सात जना किशोरी भारत जानुको कारण खुलेको छ।

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न भन्दै एउटै गाउँका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान घाँस काट्ने बहानामा घरबाट निस्केका थिए। घरबाट घाँस काट्न जाने भन्दै निस्किएका उनीहरू भारतमा पो भेटिए।

ती किशोरीहरूले केही दिनअघि नै को कहाँ कसरी र कता निस्कने भनी योजना बनाइसकेका थिए। सोही योजना बमोजिम एक-अर्कालाई सहयोग पुग्ने गरी घरबाट केही टाढा रहेको खेत जाने भन्दै परिवारलाई झुक्याए। अनि बलिउड चलचित्र नगरी मुम्बई पुग्ने लक्ष्यसाथ हिँडे।

उनीहरू भारतको सीतामढीस्थित रेल्वे स्टेशन पुग्नासाथ बच्चा चोरको आरोपमा हल्लीखल्ली भयो। आफूहरू नेपाली रहेको भन्दा भारतीय प्रहरीले अझै ठम्याउन सकेन। पछि एकजना किशोरीबाट सय रुपैयाँ दरको नेपाली नोट फेला पारेपछि भारतीय प्रहरीले उनीहरू नेपाली रहेको थाहा पायो।

गीतसंगीत र नृत्यमा औधी रुचि राख्नेगरेका किशोरीमध्ये रियाको गायिका बन्ने सपना पूरा गर्न मुम्बई जान लागेको किशोरीहरूले प्रहरी तथा सेफ हाउसलाई बताएका छन्। रिया गायिका बनिसकेपछि अन्य किशोरीहरूले नृत्यांगना (डान्सर) बन्ने लक्ष्य पालेका थिए।

उनीहरूले भारतीय टेलिभिजनमा प्रसारण हुने इन्डियन आइडललगायतका टेलिभिजन शो र टिकटकमा भिडियो देखेर आफूहरू मुम्बई जान लागेको बताएका छन्‌। त्यहाँ पुगेपछि अरू झैं आफूहरू पनि 'भाइरल' हुने र गायिका तथा नृत्यांगना बन्न पाइने भएकाले घर छाडेको रियाले प्रहरीलाई बताएकी छिन्‌।

​भारतमा पुगेपछि खर्च टार्न र मुम्बई पुग्न उनीहरूले रुटिन नै बनाएका थिए। कसैले नाच्ने, कोहीले स्कुल पढाउने, कसैले भाँडा मस्काउने र कसैले खाना पकाउने भनेर कामसमेत बाँडिसकेका थिए।

प्रहरीले नियन्त्रणमा लिएपछि ती किशोरीहरूले परिवार र आफन्तलाई दु:ख दिएकोमा क्षमा मागेका छन्‌। साथै, आइन्दा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता पनि जनाएका छन्‌। ​प्रहरीका अनुसार उनीहरूलाई हाल ओरेक नेपालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यसको अझै पनि अनुसन्धान हुँदै गरेको र केही दिनमै पूर्ण जानकारी आउने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.