खेलाडीलाई कोरोना देखिएपछि दबाबमा आर्मी

|

काठमाडौं : एएफसी लाइसेन्स पहिलो पटक पाएपछि त्रिभुवन आर्मी क्लबले एएफसी कपको छनोट खेल खेल्दै छ। आर्मीले बुधबार साँझ साढे पाँच बजे श्रीलंका पुलिस क्लबसँग खेल्न लागेको हो। 

दशरथ रंगशालामा हुने फुटबल खेलका लागि आर्मीले सबै तयारी पुरा गरेको जनाएको छ।  खेल अघि मंगलबार गरिएको प्रि म्याच कन्फ्रेन्समा  त्रिभुवन आर्मीका प्रशिक्षक नबिन न्यौपानेले दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ खेल्ने बताएका छन्।  

न्यौपानेले छनोटको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध जित निकाल्नेमा आफू विश्वस्त रहेको पनि बताए। क्लबको तयारी राम्रो रहेको र खेलाडी पनि पूर्णरुपमा फिट रहेको भन्दै प्रशिक्षक न्यौपानेले दोस्रो चरणमा स्थान बनाउने बताएका हुन्।  घरेलु फुटबलमा शीर्ष श्रेणीको ए डिभिजन लिग मछिन्द्र क्लबले जिते पनि एएफसी क्लब लाइसेन्स नभएपछि नेपालको एक मात्र लाइसेन्स प्राप्त क्लब आर्मीले यो प्रतियोगिता खेल्न लागेको हो।

एएफसीको तालिकाअनुसार आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन  खेल जित्नु पर्ने हुन्छ।  पहिलो खेलमा श्रीलंका पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग १४ अप्रिलमा गोवास्थित जिएमसी रंगशालामा खेल्नेछ।

यो खेल जितेको खण्डमा आर्मीले प्लेअफको अर्को पोलको विजेतासँग फाइनल खेल्नेछ। त्यस खेलको विजेताले एएफसी कपमा प्रवेश गर्दै समूह डीमा स्थान बनाउने छ। समूह डीमा दक्षिण एसियाका ४ क्लब रहनेछन्। जसमा तीन वटा क्लब भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धारा किङ्स र माल्दिभ्सको माजिया स्पोर्ट्स क्लबले घरेलु लिग जित्दै स्थान बनाईसकेका छन् भने एक स्थानको लागि आर्मीले खेल्न लागेको हो।  

तर एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत श्रीलंका पुलिसविरुद्धको खेल अगाडी त्रिभुवन आर्मीका चार खेलाडीमा कोरोना देखिएको छ। यो खेलका लागि कोरोना परिक्षण गर्दा चार खेलाडी र एक अफिसियलमा कोरोना पोजेटिभ देखिएको एन्फा स्रोतले बतायो ।  कोरोना पोजेटिभ देखिएका खेलाडी र अफिसियलको नाम भने गोप्य राखिएको छ। चार खेलाडीमा कोरोना देखिएपछि आर्मी केही दबाबमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.