|

आज ६ अप्रिल अर्थात् आधुनिक ओलम्पिक सुरु भएको मिति। ६ अप्रिल १८९६ मा ग्रिसको एथेन्सबाट आधुनिक ओलम्पिक खेलको सुरुवात भएको पाइन्छ।

आधुनिक ओलम्पिकको जग प्राचिन ओलम्पिक नै हो। तर प्राचिन रुपमा ओलम्पिक कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि लिखित रुपमा इसापुर्व ७७६ मा सुरु भएको मानिन्छ। तत्कालिन समयमा ओलम्पिक सैनिकको युद्धकौशल खेलसँग जोडिएर अघि बढेको थियो।

सैनिकबीच कुस्ती, बक्सिङ, घोडा दौड तथा रथ दौड जस्ता प्रतिस्पर्धाको आयोजना गरेर शासकहरु मनोरञ्जन लिन्थे। रोमाञ्चक प्रतिस्पर्धा युद्धको तयारीको रुपमा समेत लिइन्थ्यो। युद्धको तयारी पूर्व गरिएका यस्ता कार्यक्रमका विजेताले सेना प्रमुख अथवा त्यसबेलाका सम्राट वा शासकको हातबाट सम्मान पाउँथे। यो नै ओलम्पिक सुरुवातको उपज हो। 

ओलम्पिकको सुरुवातलाई धर्मसँग जोडेर अघि बढाइएको छ। ग्रिक सभ्यतामा जिउसलाई सबभन्दा महत्वपूर्ण देवताका रूपमा पुजिन्थ्यो। उनकै सम्मानमा ग्रिसको पेलोपोनेसियन प्रायद्धिपको पूर्वी उच्च तटको सभ्य भाग मानिने ओलम्पियामा उत्सव आयोजना गरिन्थ्यो।

जिउसलाई प्राचीन ग्रीक धर्ममा आकाश र गर्जनको देवताको रुपमा मानिन्थ्यो। जसले ओलम्पस माउन्टका देवताहरूको राजाको रूपमा शासन गर्दथे। उनकै छोरा रोमन सम्राट हर्कुलसले ओलम्पिक खेलको सुरुवात गरेको कथन पाइन्छ।

प्रत्येक ४ वर्षमा अगष्ट ६ देखि सेप्टेम्बर १९ सम्म उत्सव आयोजना हुन्थ्यो। जुन नियमित आयोजना हुँदै गयो। उत्सवको समय युद्धहरु समेत रोकिन्थ्यो। उक्त समय ओलम्पिया शहर नभए ग्रामीण इलाका थियो।

जिउसको मन्दिर भएको कारण यो क्षेत्रलाई धार्मिक रुपमा पवित्र मानिन्थ्यो। ओलम्पिक खेलको आयोजना गर्नुअघि विभिन्न बस्तीहरूमा पवित्र मशाल बोकेर हिँडिन्थ्यो। मशाल बोकेर हिँड्दा ओलम्पिक खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी हुन आग्रह गर्नुका साथै तिथिको पनि जानकारी गराइन्थ्यो।

ओलम्पिक खेल आयोजना भएको समय ओलम्पियामा ४० हजारभन्दा धेरै मानिसको जमघट हुन्थ्यो। उनीहरुको प्रभाव यति ठूलो थियो कि प्राचीन इतिहासकारहरूले ओलम्पिक बीचको ४ वर्षको अवधिलाई मापन गर्न थाले। जुन ओलम्पियाड भनेर चिनिन्थ्यो।

मिथक अनुसार हर्कुलसले आफ्नो १२ जना श्रमिकहरुबाट पिताको सम्मानमा ओलम्पिक रंगशाला बनाए। यसको समाप्तिपछि उनले २ सय कदम सीधा लाइनमा हिँडेपछि यस दूरीलाई स्टेडियो भनेका थिए।

पछि गएर यो दूरीको एकाईको रुपमा मापन गर्न सुरु गरिएको थियो। लिखित रुपमा पाइएको पहिलो प्राचिन ओलम्पिक (७७६) मा एक स्पर्धामा मात्र प्रतिस्पर्धा भएको थियो– १८३ मिटर(२०० यार्ड) को दौड। त्यो भनेको रंगशालाको लम्बाइ थियो। विजेता थिए, कोरोइबस।

१३ औ ओलम्पिकपछि थप २ वटा दौड थपियो, डाइओलोस र डोलिचोस्। डाइओलोस अहिलेको ४ सय मिटर बराबरको दौड र डाइलोचोस लामो दूरीको दौड १५ सय वा ५ हजार मिटर बराबरको दौड बराबर हो।

इसापूर्व ७०८ मा पेन्टाथलन थपियो जहाँ फुट रेस, लंगजम्प, डिस्कस, ज्याभ्लिन थ्रो र कुश्ती खेललाई परिचय गराइयो। ६८८ मा बक्सिङ र ६८० मा घोडचढी समावेश भए।

६४८ मा बक्सिङ र कुस्तीको मिश्रण प्याक्रेसन खेल समावेश भयो। जसको कुनै नियम नै थिएन। त्यसपछि खेलहरू थपिने क्रम बढ्यो। ३७ औं ओलम्पिकमा ढाँचा परिवर्तन गरी पाँच दिनसम्म विस्तार गरियो। प्राचीन ओलम्पिकमा व्यक्तिगत प्रतिस्पर्धा हुन्थ्यो। प्रतियोगिताहरू स्टेडियम र हिपोड्रोममा आयोजना हुन्थ्यो।

पहिलो दिन खेलाडीहरू र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो। दोस्रो दिन हिपोड्रोममा घोड सवारी प्रतियोगिताहरु आयोजन हुने गर्थ्यो। जसमा चार वटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो। दोस्रो दिन नै बेलुकी पख डिस्कस, लङजम्प, ज्याभ्लिन थ्रो, दौड र कुस्ती जस्ता खेलहरूको आयोजना हुन्थ्यो।

तेस्रो दिन खेलाडीहरूको अंक जोडिन्थ्यो, अनि एउटा विशाल धार्मिक अनुष्ठान आयोजना गरिन्थ्यो। देवराज जिउसको स्मृतिमा एक सय वटा गाईको बलि चढाइन्थ्यो र उक्त मासु प्रसादका रूपमा खेलाडीहरूलाई वितरण गरिन्थ्यो।

चौथो दिन विभिन्न प्रकारका दौड आयोजना स्टेडियममा गरिन्थ्यो। सोही दिन बेलुकी बक्सिङ, कुस्ती आदि खेल आयोजना हुन्थ्यो। पाँचौं तथा अन्तिम दिन खेलाडीहरूलाई सम्मान गरिन्थ्यो। ओलम्पिक विजेताहरूलाई नाँचगानका साथ सङ्गीतमय वातावरणमा सम्मान गरिन्थ्यो। ओलम्पिक विजेताहरूलाई ओलिभ (जैतुन) पत्ताको श्रीपेच लगाएर सम्मान गरिने चलन थियो।

आधुनिक ओलम्पिकमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई स्वर्ण, रजत र कास्य पदकले सम्मानित गर्ने चलन छ तर प्राचीन ओलम्पिकमा भने विजेतालाई ओलिभको पत्तासित रातो रिबन लगाएर सम्मान गरिन्थ्यो।

त्यतिबेलाका ओलम्पिक खेलाडीहरू नाङ्गै हुने भएकाले महिलाको उपस्थितिमा बन्देज थियो। दास र विदेशीले सहभागिता जनाउन पाउँदैनथे। प्रतिस्पर्धा गर्ने खेलाडीहरू चार हप्ताअघि नै ओलम्पिया पुगिसकेको हुनुपर्थ्यो। ओलम्पियामा उनीहरूले छनोटमा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्न सक्थे।

खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउने परम्परा त्यति बेलै थियो। नियम पालना नगर्नेलाई जरिवाना गर्ने परम्परा प्राचीन ओलम्पिकमै भएको मानिन्छ। 

विस्तारै प्रतियोगितामा सिपाहीहरूले सहभागिता जनाउन थालेपछि उनीहरूको एजेन्डा पनि हाबी हुँदै गयो। खेलहरू बढ्ने क्रम जारी रह्यो। जसका कारण प्रतियोगितामा व्यवसायिकताले बढावा पायो। यसको मुल मर्म विस्तारै ओझेल पर्दै गयो। प्राचीन ओलम्पिक इसापूर्वको ३९३ सम्म मात्र चल्यो र यसपछि यो क्रम रोकियो।

तत्कालीन रोमन राजा थियोडोसिसले ओलम्पिक आफुविरुद्ध सञ्चालन भएको ठाने। उनी इसाइ धर्मालम्बी थिए र आफ्ना जनता खेलकुदमा भन्दा धार्मिक काममै मात्र लागोस् भनेर चाहन्थे। जसका कारण उनले खेल उत्सव नै बन्द गरिदिए। 

आधुनिक ओलम्पिकको सुरुवात

त्यतिबेला रोकिएको ओलम्पिक फेरि शुरु हुन धेरै वर्ष लाग्यो। झन्डै १५०३ वर्षपछि ओलम्पिक उद्गमस्थल ग्रिसबाटै फर्कियो। १८९६ मा ग्रिसको एथेन्समा पहिलो आधुनिक ओलम्पिक आयोजना भयो। जसको श्रेय भने फ्रान्सका बारोन पिइरे डी कोउबर्टिनलाई जान्छ। उनले १८९२ ‘युनियन डेस स्पोर्ट् एथलेटिक्स’को बैठकमा ओलम्पिकको खाका प्रस्तुत गरेका थिए।

तत्कालीन समयमा स–साना राज्यमा विभाजित विश्व अशान्त थियो। कुबुर्तन विश्व शान्तिको चाहाना राख्थे। उनी विश्वका सम्पूर्ण देशबीच भाइचाराको सम्बन्ध कायम गर्न चाहन्थे।

उनको यही प्रभावकारी सोचका कारण सन् १८९६ अप्रिल ६ मा ग्रिसको राजधानी एथेन्समा पहिलो ओलम्पिक खेल आयोजना भयो। उद्धघाटन समारोहमा ग्रिसका राजा जर्जियस र ६० हजार दर्शकहरुले १३ राष्ट्रका २८० सहभागीहरुलाई स्वागत गरे। त्यसबेला ४३ विधामा प्रतिस्पर्धा गराइएको थियो। जसमा ट्रयाक एन्ड फिल्ड, जिम्न्यास्टिक, पौडी, कुस्ती, साइक्लिङ, टेनिस, भारातोलन, सुटिङ र फेन्सिङ थिए।

१५ अप्रिलसम्म भएको पहिलो आधुनिक ओलम्पिकमा आयोजकसहित १४ देशले सहभागिता जनाए। प्रतिस्पर्धी २४१ खेलाडीमध्ये सबै पुरुष मात्र थिए। महिला खेलाडी थिएनन्। नौ खेलको ४३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। अमेरिकाका जेम्स कोनोली आधुनिक ओलम्पिकको पहिलो च्याम्पियन हुन्। उनी पहिलो दिनमै ट्रिपल जम्पमा च्याम्पियन बनेका थिए। यद्यपि उनलाई ‘सिल्भर मेडल’ ले सम्मान गरिएको थियो। उनी हाई जम्प र लङ जम्पमा पनि क्रमशः दोस्रो र तेस्रो भएका थिए।

पेरिसले १९०० मै दोस्रो ओलम्पिक आयोजनाको अवसर पायो। जहाँ ९९७ खेलाडीको सहभागिता जनाए। त्यसमध्ये २२ महिला खेलाडी थिए। २४ देशले ९५ स्पर्धामा प्रतिस्पर्धा गरे। तेस्रो ओलम्पिकको अवसर अमेरिकाले पायो।

१९०४ मा अमेरिकाको सेन्ट लुइसमा सम्पन्न तेस्रो ओलम्पिकबाट प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकको व्यवस्था गरियो। जुन अहिलेसम्म पनि कायमै छ। त्यसपछिका सवै ओलम्पियाडहरु गणना भएका छन्।

सन् १९१६ को पहिलो विश्वयुद्ध तथा १९४० र १९४४ को दोश्रो विश्वयुद्ध ताकाको बाहेक सन् १९२० को एन्ट्वर्प ओलम्पिकबाट आधिकारिक संकेतको रुपमा पाँच वटा चक्का प्रयोगमा आएको हो।

ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन १९१३ मा तयार गरेर १९१४ मा घोषणा गरिएको थियो। तर १९१६ को ओलम्पिक प्रथम विश्युद्धको कारण रोकिएपछि सन् १९२० को ओलम्पिकबाट प्रयोगमा आएको हो।

ओलम्पिक खेलको चिह्नको निर्माण पाँच वटा गोलो चक्का निलो, पहेंलो, कालो, हरियो, रातोलाई एउटा सेतो पट्टिमाथि मिलाएर बनाइएको छ। यो चिन्ह १९१२ मा बैरनले बनाएका थिए।

प्रत्येक रंकको चक्काले महादेशहरूको प्रतिनिधित्व गर्दछ। निलोले युरोप, पहेंलोले एसिया, कालोले अफ्रिका, हरियोले अस्ट्रेलिया र रातोले अमेरिकाको प्रतिनिधित्व गरेको छ।

१९९२ बाट ग्रिष्मकालीन र हिउँदे ओलम्पिकको आयोजना हुन थाल्यो। २००४ मा ग्रिष्मकालीन ओलम्पिक पुनः जन्मथलो ग्रिस फर्कियो। त्यतिबेला २०१ देशका १० हजार ६२५ खेलाडीले ३०१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। 

आधुनिक ओलम्पिकको सुरुवात भएको मितिलाई लक्षित गरेर संयुक्त राष्ट्र संघले २३ अगष्ट २०१३ मा हरेक वर्ष अप्रिल ६ लाई खेलकुद विकास र शान्तिका लागि अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसँगै २०१४ बाट दिवस मनाइँदै आएको छ।  

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.