|

काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताले विरोध प्रदर्शन गर्ने बताएको छ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी यसका अभियन्ताले प्रदर्शन गर्ने घोषणा गरेका हुन्। अभियन्ताहरूले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न मागसमेत गरे। 

अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौं संविधानको परिकल्पना गर्न नहुने बताए। उनले २०४७ को संविधान कुनै संशोधन नगरी सोही संविधान पुनः स्थापना गर्नुपर्नेमा जोड दिए। 

स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले राजा, राजनितिक दल र जनताले बनाएको २०४७ को संविधानलाई नै फर्काउनुपर्नेमा जोड दिए। उनले भने, ‘देशको हितका लागि ४७ सालको संविधानमा फर्कनुको विकल्प छैन।’ 

संविधान पुनःस्थापना महाअभियान २०४७ का संयोजक विक्रम बहादुर बमले २०७२ सालको संविधानले काम नगरेको तर्क गरे। उनले २०४७ को संविधानमा प्रजातान्त्रिक भएको जिकिर गरे। 

अभियानका अर्का संयोजक शोभाराम थापाले २०४७ सालको संविधानमा नफर्किए देशले निकास नपाउने बताए। उनले भने, ‘पुरानो संविधान नै जनताको हितमा छ।’ उनले संविधान पुनःस्थापना गर्नुपर्नेमा जोड दिए। 

संविधान पुनर्स्थापना महाअभियान २०४७ का महासचिव चक्र देव जोशीले २०४७ सालको संविधान परिर्वतन गरेर २०७२ सालको संविधान जारी गर्नु नै नेताहरूबाट गल्ती भएको आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.