४ हजार जनामा एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीमा संक्रमण

|

धनगढी : कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू फेरी स्वदेश फर्किन थालेका हुन्। 

चैत ३ देखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्। तीमध्ये नाकामा ४ हजार बढीलाई एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीलाई संक्रमण देखिएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले जानकारी दिए।

साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनले भने, ‘हामीले कतिपयको ग्रुपमा परीक्षण गर्ने गरेका छौं, चैत ३ गतेदेखि कोरोना जाँच गर्न थालेपछि ४ हजार हाराहारी परीक्षण गरिसकेका छौं। त्यसमा १ सय ५० बढीलाई कोरोना पुष्टि भएको छ।’ अहिले दोस्रो चरणको कोरोना संक्रमणपछि दैनिक १ हजारदेखि १५ सयको हाराहारीमा घर फर्किन थालेका उनले जानकारी दिए। 

दैनिक सीमा नाकामा घर फर्किनेको भीड बढ्दै गए पनि सोहीअनुसार उनीहरूको कोरोना परीक्षण गर्न समस्या भइरहेको हेल्थ डेस्कका कर्मचारी साउदको भनाइ छ। 

‘जाँच गर्न किटको समस्या छ जनशक्तिले पनि भ्याउन सक्ने अवस्था छैन। थप माग गरिरहेका छौं,’ उनले भने। अहिले हेल्थ डेस्कमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट ४, धनगढी उपमहानगरपालिकाबाट १, सामाजिक विकास मन्त्रालयबाट १ र स्वास्थ्य कार्यालय कैलालीबाट ७ जना कर्मचारी काम गरिरहेका छन्।

यी कर्मचारी बढ्दै गएको भीडमा सबैको कोरोना परीक्षण गर्न अभाव भएको बताइएको छ।

उच्च जोखिममा सुदूरपश्चिम

रोजगारीका लागि भारत गएकाहरू भारतमा संक्रमण तीव्र भएपछि धमाधम स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम फेरि बढेको छ। नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको ज्वरो नाप्ने र कोरोनाका लक्षणबारे बुझ्ने काम नहुँदा जोखिम झनै बढेको हो।

पोजेटिभ देखिएकालाई भने स्थानीय तहले बनाएका आइसोलेसनमा राख्ने गरिएको छ।

यस्तै, भारतबाटै फर्किएका तीन जनामा सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो। मंगलबार राति भारतबाटै फर्किएका कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो। 

जोखिमलाई मध्यनजर गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गर्ने/गराउने निर्णय गरेको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टाइनमा व्यवस्थापन गर्ने  निर्णय गरेको जानकारी दिए। बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताए। जोशीले नियमको उल्लंघन गर्नेलाई कारबाही गरिने बताए। 

त्रिनगर भन्सार नाकासँगै गड्डाचौकी, दार्चुला र बैतडीका नाकाहरू पनि भारतका विभिन्न सहरबाट स्वदेश फर्किनको संख्या दैनिक बढ्दै गएको सम्बन्धित प्रशासन कार्यालयले जनाएका छन्।

सुदूरपश्चिममा थपिए ४१ जना नयाँ संक्रमित 

सुदूरपश्चिममा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशाला र सीमा नाकामा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ६९ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो। यस्तै, महाकाली अस्पताल प्रयोशगालामा ७ जनाको परीक्षण गर्दा २ र जिल्ला अस्पताल बैतडीमा ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो। 

त्रिनगर–गौरीफन्टा सीमा नाकामा ३ सय २७ जनाको एन्टिजोन विधिबाट गरिएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.