|

मुगु : मृत अवस्थामा भेटिएकी मुगु उत्तरी सोरु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ। 

अभियुक्तले हल्ला हुने डरले बलात्कारपछि बलात्कार प्रयास गरेको र हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।  

घटनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले लक्ष्मीको बलात्कार प्रयास गरिएको र बालिका चिच्याउँदा, कराउँदा हल्ला हुने डरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको बताए।

गएको शनिबारदेखि लक्ष्मी हराएकी थिइन्। सोरु–८ का २० वर्षीय प्रवेश रावलले बलात्कार प्रयास गरी लक्ष्मीलाई जबर्जस्ती गर्न खोज्दा चिच्याउन र कराउन थालेको र हल्ला हुने डरले हत्या गरेको बयान दिएका छन्। 

शनिबार तारापानीको घर नजिकै खेलिरहेकी लक्ष्मी शनिबारदेखि हराएकी थिइन्। स्थानीय र प्रहरीले खोजी गरेका थिए। घरदेखि ५ सय मिटर मुगु कर्णाली नदीघाट नजिकै माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव फेला पारेका थिए। शव नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको थियो। 

शव फेला पारेको स्थानभन्दा केही मिटर यताउता चाउचाउका प्याकेटहरू भेटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले तारापानी सीप बजारमा दुई जना मात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझतिर बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको थियो। घटनाका शंकास्पद प्रवेशलाई नियन्त्रणमा लिई प्रहरी अनुसन्धान थालेको थियो। प्रवेशले बयानमा हत्या गरेको तर बलात्कार नगरेको बताएका छन्। 

हत्या गरी कर्णालीमा फालिएकी र बालिकाको टाउ‍कोको दायाँपट्टि र छातीमा चोट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले बताए। 

विकका अनुसार प्रवेशले आफूले शनिबार मादक पदार्थ सेवन गरेको बताएका छन्। पक्राउ गरी उनलाई थप अनुसन्धानका लागि १० दिन म्याद थपी हिरासतमा राखिएको थियो। बालिकाको पोष्टमार्टम भइसकेको र भेजाइनल स्वाब र भिसेरा संकलन गरी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको उनले बताए। 

त्यसको रिपोर्ट आएपछि मात्र बालिकाको बलात्कार भए/नभएको, बालिकाको लास कसरी नदीमा फेला पर्‍यो? हत्याको कारणबारे ‍थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।

लक्ष्मी ग्रिलाह बालज्योति प्राथमिक विद्यालयमा कक्षा २ मा पढ्दै थिइन्। उनी विद्यालयकै अनुशासित र जेहेन्दार विद्यार्थीमध्ये थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.