'मैले जुन मन्त्रालय सम्हालें, जनपक्षीय मन्त्रालय सम्हालें'

|

गोरखा : गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण ३ जेठ २०७५ अघिको अवस्थामा पुर्‍याएपछि त्यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको छ।

गण्डकी प्रदेशमा एमाले–माओवादीले संयुक्त सरकार बनाइसकेपछि मात्रै पार्टी एकीकरण भएको थियो। माओवादीबाट हरिबहादुर चुमान कानुनमन्त्री र लेखबहादुर थापामगर कृषि मन्त्री भएका थिए।

तर, माओवादी पार्टीका यी दुवैले मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन्। माओवादीका दुुई मन्त्रीले एकैसाथ राजीनामा दिएपछि अहिले देशभर गण्डकी प्रदेश सरकार के हुन्छ भन्नेमा सबैले चासो व्यक्त गर्न थालेका छन्। 

यस्तै विषयसँग सम्बन्धित रहेर भर्खरै राजीनामा दिएका उनै निवर्तमान मन्त्री लेखबहादुर थापा मगरसँग थाहाखबरकर्मी अश्विन दानीले गरेको कुराकानीको सम्पादित अंशः

मन्त्री मण्डलमा जाँदा एक भएर जानुभयो, निस्कँदासम्म फरकफरक हुनुभयो। कार्यकालको अनुभव कस्तो रह्यो?

सुरुमा पनि एक भएर गएका होइनौँ। पार्टी एकता भइसकेको थिएन, नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुई वटा भिन्नभिन्नै पार्टी हो। चुनाव लड्दाचाहिँ हामी संयुक्त मोर्चामा लडेका हौँ,गठबन्धनबाट चुनाव लडेका हाैं। पछिल्लो चरणमा पार्टी एकता भयो। पार्टी एकता भइसकेपछि फेरि पार्टीमा मतभेद सुरु भयो।

पार्टीमा ठूलो उथलपुथलजस्तो भयो। सर्वोच्च अदालतको फैसलाले पार्टीलाई विघटन गरिदियो। घोषणा गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले थुप्रै गैरसंवैधानिक गतिविधि गर्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता खारेज गर्ने क्रममा उहाँ हुनुहुन्छ। मौलिक हकअधिकार र सामाजिक न्यायका सिद्धान्तलाई कब्जामा पार्ने प्रक्रियामा लाग्नुभा’छ।

विदेशी ग्रान्ड डिजाइनमा संघीयता र गणतन्त्र ध्वस्त बनाउन ओली लाग्नुभएको हुँदा हामी संघर्षमा पनि विमति भयौँ। प्रदेश सरकारमा रहेर केन्द्र सरकारको विरोध गरिरहन हामीलाई नैतिक रुपमा कठिनाइ भयो। पार्टी पनि फरक भयो, प्रतिगमनविरुद्ध संघर्ष गरिराखेका पनि छौँ, गरिरहन्छौँ। 

पार्टी फरक हुने बित्तिकै सरकारमा सँगै सहकार्य गरेर काम गर्न सकिँदैन रहेछ हैन? 

स्वाभाविक रुपमा संयुक्त सरकारमा काम गराइमा कहिलेकाहीँ अप्ठ्यारो भइ नै हाल्दो रहेछ। नेपाल सरकारजस्तो एउटै पार्टीले चलाएजस्तो त हुँदैन। तर पनि मैले आफ्नो मन्त्रालय सम्हालेपछि पार्टीको सिद्धान्तलाई, मुख्यगरी निर्वाचन घोषणापत्रका आधारमा काम अघि बढाएँ।

जनतालाई, प्रदेशभरका किसानलाई, यहाँका व्यवसायीलाई, फर्महरूलाई, यहाँका सहकारीलाई सपोर्ट हुनेगरी र उत्पीडित, जनपक्षीय कामहरू गरियो र अहिले अब म भए पनि नभए पनि मन्त्रालय सहज ढंगबाट अगाडि बढ्नेमा म विश्वस्त छु। 

ठ्याक्कै भन्नु पर्दा पार्टी फरक हुुने बित्तिकै सहकार्य गर्न नसकिने, मन्त्री पदबाट नै राजीनामा दिनुपर्ने अबस्था हुँदो रहेछ रु

स्वभाविकै पार्टीले लिने विचार, नीति, सिद्धान्त, योजना तथा कार्यक्रममा भर पर्छ। फरक पार्टीको आफ्नो छुट्टै कार्यशैली, विशेषणहरू हुन्छ। त्यो अवस्थामा केही न केही असर त परिहाल्छ नि।

पार्टी फरक हुने बित्तिकै तपाईंलाई मन्त्रिमण्डलबाट असहयोग भयो? या तपाईंले सहयोग गर्न सक्नु भएन?

फुल रुपमा असहयोग भन्ने कुराको विषय हैन। यो त विशेषगरी एउटा राजनीतिक प्रश्न पनि हो। त्यसकारण राजनीतिकर्मीले राजनीतिक कुरालाई बढी ध्यान दिएको हुन्छ। अहिले संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता, समानुपातिक र समावेशीता, मौलिक हकहित अधिकार र जनयुद्ध र जनआन्दोलनको भिजनबाट प्राप्त संविधान र त्यसले ल्याएको निर्वाचन अनि उपलब्धिको रक्षा गर्ने हो। यो उपलब्धीहरूको रक्षा गर्ने अहिलेको मुख्य एजेण्डा हो।

त्यसविरुद्ध संघीय सरकार र उसको कम्पनीहरूले गरिरहेको छ। त्यसविरुद्ध भण्डाफोर अभियान चलाउनुपर्छ। सरकारमाभन्दा बाहिर बसेर भण्डाफोर गर्दा राम्रो हुने ठानेर बाहिरिएका हौँ।

केन्द्रको निर्देशनमा राजीनामा दिनुभएको हो नि?

हामीलाई राष्ट्रिय राजनीतिका कारण केही न केही अप्ठ्यारो त लागिरहेको थियो। तै पनि त्यस्तो लाग्ने बित्तिकै तुरुन्त राजीनामा दिने स्थितिमा हामी थिएनौँ। पार्टीबाट तत्काल त्यसो नगर्न सुझाव आएको थियो। अहिलेचाहिँ पार्टीको केन्द्रीय नेताहरूबाट, पार्टीको संसदीय दलको बैठकबाट पनि राजीनामा एकमतले दिँदा उपर्युक्त हुन्छ भन्ने सुझाव आएपछि दिएका हाैं। 

अब अविश्वास प्रस्ताव ल्याएर प्रदेश सरकार ढाल्ने तयारीमा हो त?

अहिले हामी सरकारबाट बाहिरिए पनि गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रको तर्फबाट समर्थन जारी नै राखेका छौँ। समर्थन जारी हुँदाहुँदै पनि हाम छलफल गर्दै छौँ। सबै परिस्थिति, देशको, प्रादेशिक परिस्थितिलाई ख्याल गरेर हामी बढ्छौँ। 

अहिले कुनै योजना छैन, समर्थन जारी भएकाले अविश्वास प्रस्ताव ल्याउने त्यस्तो केही कुरा छैन। अब के हुन्छ भन्ने गर्भको विषय छ। अहिले नै थाहा हुने स्थिति छैन।

करिब साँढे तीन बर्ष मन्त्री पद सम्हालेर छाड्दा आफूलाई सफल या असफल कस्तो ठान्नुभएको छ?

मैले जुन मन्त्रालय सम्हालें जनपक्षीय मन्त्रालय सम्हालें। जनताको पक्षमा, गरिबी न्यूनीकरण गर्न, व्यवसायमा लाग्नेलाई सफल बनाउन, किसानलाई आधुनिक प्रणालीमा लैजान, उत्पादन प्रणालीलाई परिवर्तन गर्न मेरो मन्त्रालयको महत्वपूर्ण भूमिका रह्यो।

अन्त्यमा केही?

एक किसिमले हामी स्वतन्त्र पनि हौँ। र हाम्रो राजीनामा भनेको संविधानविरुद्ध लाग्नेको विरुद्ध संघर्ष गर्न हो। आम जनमानसलाई यो गलत प्रवृत्ति, संविधानविरोधी हर्कतको प्रतिकार गर्न राजीनामा दिएको भन्छाैं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.