६ जना प्रहरी नियन्त्रणमा, माओवादी केन्द्रद्वारा घटनाको भर्त्सना

|

झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ। 

नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु भन्दै स्थानीय तहले पटक पटक सूचना जारी गर्दा समेत उनीहरूले अटेर गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी नगरपालिकाले शुक्रबार बिहान डोजर चलाएर संरचना हटाउन थालेको छ। 

दमक वडा नम्बर ७ स्थित हाट खोला बजार क्षेत्रको सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइन गरी दुई स्थानमा नगरपालिकाले डोजर चलाएको हो। त्यहाँ बसोबास गर्नेमध्ये केही नहुनेलाई यसअघि अन्यत्र व्यवस्थापन गरेर संरचना हटाउन लागेको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए।

आज हटाइएका घर टहरामा बस्नेहरूको अन्यत्र घरबास रहेकाले भत्काउनुपरेको मेयर ओलीले बताए। सुनचाँदी लाइन तीन वर्षदेखि खाली गराउने नगरपालिकाको योजना थियो। त्यो हाल आएर सम्भव भयो। त्यस क्षेत्रमा नगरपालिकाले सिटी सेन्टर निर्माण गर्ने योजना बनाएको छ। 

नगरपालिकाले उठीबास लगाएको आरोप

नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएर आफूहरूमाथि ठूलो अन्याय गरेको पीडितहरूले गुनासो पोखेका छन्। वर्षौंदेखि बसोबास गर्दै आएको जमिनमा सरकारले आँखा गाडेर बास बसाउनुको सट्टा उठीबास लगाएको उनीहरूले आरोपसमेत लगाएका छन्। 

‘६० वर्षदेखि बसोबास गर्दै आएको बस्तीमा बाउ बाजेले प्राण समेत त्यागे, आफू पनि यही जन्में,' हस्तराना मगरले भने, ‘सरकारले दीर्घकालीन बास देला भनेको त उठीबास पो लगायो।’ सरकारसँग आफूहरूले मुद्दा लड्न नसकेर झोलीतुम्बा बोकेर सडकमा जानुशिवाय अरू विकल्प नभएको उनले पीडा सुनाए। 

जमिन व्यक्तिको नाममा भएको दाबी 

सुनचाँदी लाइनको जमिन व्यक्तिको नाममा रहेको त्यहाँ बसोबास गर्ने पदम माझीले दाबी गरेका छन्। नगरपालिकाले सो जमिन व्यक्तिको नभई सरकारी भन्दै जबरजस्ती गरेर डोजर चलाएको उनको भनाइ छ।  माझीका अनुसार आफ्नो नाममा भएको साढे १० कट्ठा १६ धुर जमिन सरकारले हड्पेकाले आफूलाई पनि सुकुमबासी बनाएको दाबी गरेका छन्।

२०४६ सालसम्म मालपोत तिर्दै आएको ६४२ नम्बरको कित्ताबाट हरिमाया मझेनीले ८ धुर जमिन आसबहादुर श्रेष्ठको नाममा २०२९ सालमा बेचेको उनले बताए। सम्बन्धमा माझीका नाति पर्ने डायमन्डकुमार माझीका अनुसार २०२९ सालमा कित्ताकाट गरेर ४ धुर नगरपालिकालाई दान दिएको र हाल आएर सबै जग्गा हडप्न खोजेको आरोप लगाए। 

६ जना प्रहरी नियन्त्रणमा

दमक ७ स्थित पुरानो पूर्वपश्चिम राजमार्ग आसपास पर्ने ६ वटा घरमा पनि नगरपालिकाले डोजर चलाएको छ। २०५८ सालदेखि बसोबास गर्दै आएको पशु हाट उत्तरको विपन्न तथा असक्तहरूको बस्तीमा प्रहरीले जबर्जस्ती गरेर डोजर चलाएपछि त्यसको प्रतिकारमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। काममा अवरोध गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको र बेलुकासम्म छाडिदिने इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले बताए।

पटक पटक घर हटाउन खोज्दासमेत नसकेकाले प्रदेशबाट समेत प्रहरी झिकाएर नगरपालिकाले डोजर चलाएको बताइएको छ। नगरपालिकाले संरचना हटाउन सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी गरी डेढ सयभन्दा प्रहरी परिचालन गरेका थिए। 

माओवादी केन्द्रद्वारा घटनाको भर्त्सना

अतिविपन्न भूमिहीन सुकुमबासीहरूको घर टहरामा दमक नगरपालिकाद्वारा गरिएको निर्मम हस्तक्षेप एवम् बल प्रयोगप्रति माओवादी केन्द्र दमक नगर समितिको गम्भीर ध्यानाकर्षण भएको प्रेस वक्तत्व निकालेको छ। 

सचिव तीर्थराज बस्नेत (शङ्कर) र सहइञ्चार्ज बेदु गौतमले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ– लामो समयदेखि उक्त स्थानमा बसोबास गर्ने अति सामान्य आर्थिक अवस्था भएका भूमिहीनहरूलाई उपयुक्त वैकल्पिक व्यवस्थापन नगरी प्रहरी प्रशासनको बलमा लखेट्न खोज्नु जस्तो अमानवीय कार्यमा दमक नगरपालिका र मेयर नै संलग्न हुनु दुखद हो। 

समस्याको स्थायी समाधानका निम्ति दमकमा रहेका सम्पूर्ण राजनीतिक दलहरू र सम्बन्धित परिवारसँग समेत कुनै प्रकारको छलफल एवम् सहमति नगरी पत्रपत्रिकामा सूचना जारी गरेकै भरमा मजदुर, सुकुमबासी र अतिविपन्नको थातथलो उठाउन खोज्ने यस्ता कार्यले समस्या समाधानमा थप जटिलता सिर्जना गर्ने भएकोले संवेदनशील भएर परिस्थितिको ठोस निकासको निम्ति पहल गर्न दमक नगरपालिकालाई विशेष आग्रह गर्दछौँ। सर्वपक्षीय छलफल एवम् संवाद मार्फत सुकुम्वासी परिवारको उपयुक्त वैकल्पिक व्यवस्थापन सहित न्याय पूर्ण ढङ्गले समस्याको हल खोज्नु पर्नेमा हाम्रो पार्टी अत्यन्तै दृढ रहेको यसै वक्तत्व मार्फत सार्वजनिक गर्न चाहन्छौँ। हाम्रो आग्रह र अनुरोधलाई बेवास्ता गरी चालिएका कुनै पनि कार्यबाट सृजना हुने परिणामको जिम्मेवार स्वयम दमक नगरपालिका कार्यालय हुने समेत अवगत गराउन चाहन्छौँ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.