|

भारत यतिखेर कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको छ। दिनहुँ झन्डै ढेडलाख संक्रमित थपिइरहेका छन्। पछिल्लो २४ घण्टाभित्र ७७३ जना संक्रमितको ज्यान गएको छ। 

संक्रमणको यो लहरले भारतका अधिकांश राज्यमा निकै तनावपूर्ण स्थिति निम्त्याएको छ। बीबीसी हिन्दीका अनुसार बिरामीहरूको उपचार गर्न आवश्यक स्रोतसाधन अभाव हुँदै गएको छ।

कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको अन्तिम संस्कार गर्न अझै समस्या भइरहेको छ। उत्तर र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कार गर्न घन्टौं लाइन बस्नुपर्ने अवस्था छ।

उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालको हालत दिन–प्रतिदिन चिन्ताजनक हुँदै गएको छ। भोपालका केही संगठनहरूले सन् १९८४ मा भएको ग्यास त्रासदीजस्तै स्थिति अहिले देखिएको बताएका छन्।

भोपाल ग्यास त्रासदीमा ३७८७ जनाको मृत्यु भएको थियो भने ५ लाखभन्दा धेरै मानिसहरूको स्वास्थ्यमा समस्या निम्तिएको थियो।

त्यहाँका स्थानीय पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशमा अहिलेको अवस्था सरकारले आंकलन गरेभन्दा निकै फरक छ। संक्रमणका कारण ज्यान गुमाएकाहरूको अन्तिम संस्कारका लागि परिवारजनले टोकन लिएर श्मशान घाटमा ८ देखि १० घण्टासम्म कुर्ने स्थिति निम्तिएको छ। 

त्यहाँ दिनभर जलाउँदा पनि संक्रमितको शव सकिने गरेको छैन। राजधानी लखनउको बैकुण्ठ धामस्थित विद्युत शवदाह गृहमा दैनिक करिब २५ शव अन्तिम संस्कारका लागि ल्याउने गरिएको छ। एउटा शव जलाउन करिब ४५ मिनेट समय लाग्नेगर्छ। त्यहाँ केही दिनयता दिनभर शवदाह हुने गरेको छ।

तर, सरकारले भने अप्रिल महिनामा लखनउमा दैनिक ५ देखि ८ संक्रमितको मृत्यु भएको बताउने गरेको छ। धाममा भने कोरोना सजगता मापदण्ड अपनाउँदै दैनिक २० भन्दा धेरै शव जलाउने गरिएको छ।

यस बाहेक अन्य श्मशान घाटमा पनि मृतकको पार्थिव शरीरको अन्तिम संस्कार हुने गरेको छ। तर कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरूको अन्तिम संस्कार भने बैकुण्ठ धाममै हुने गरेको छ। 

स्थानीय मुन्ना सिंहले होलीपछि त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको बताए। उनले भने, 'धेरै शव केजीएमयू अस्पतालबाट आइरहेको छ, संक्रमितका शवको अन्तिम संस्कार बिहान तीनदेखि ४ बजेका बीचमा गर्ने गरिएको छ।' 

बैकुण्ठ धामको श्मशान घाटको बाहिर संक्रमितको शव लाइन लगाएर राख्ने गरिएको छ। शवदाह गृहको बाहिर बसिरहेका राजेन्द्र नायकले भने, 'एउटै एम्बुलेन्सबाट तीन–तीन वटा शव झिकेको मैले देख्ने गरेको छु, यहाँ शव जलाउन आफन्तजनहरू घण्टौंसम्म लाइनमा बस्ने गरेका छन्।' 

त्यहाँका मुख्य चिकित्सा अधिकारीको कार्यालयले पछिल्लो ३ दिनमा लखनउमा २० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। तर, श्मशान घाटमा ६० जना संक्रमितको शवको अन्तिम संस्कार गरिएको छ। 

भोपालको अवस्था भयावह

भोपालका पत्रकार शुरैह नियाजीले जानकारी दिएअनुसार मध्यप्रदेशको स्थिति पनि निकै खराब भइरहेको छ।

त्यहाँ पनि शव जलाउन घाटमा घण्टौंसम्म लगाइन लगाउनुपर्ने अवस्था निम्तिएको छ। राजधानी भोपालको मदभदा विश्राम घाटमा बिहीबार ३१ जना संक्रमितको शव जलाइएको थियो। 

शव जलाउन २ देखि ३ घण्टासम्म पर्खनुपर्ने अवस्था रहेको र अन्य घाटहरूमा पनि शव जलाउन निकै कम मानिसहरूलाई मात्रै पठाउने गरिएको बताइएको छ। संक्रमितको शव जलाउन गएका कर्मचारी पनि संक्रमित हुने जोखिमका कारण यसो गरिएको बुझिएको छ। 

भदभदा श्मशान का प्रबन्ध लाड सिंहले भनेका छन्, स्थिति लगातार खराब भइरहेको छ, 'एकैपटक धेरै लाश जलाउने गरिएको छ, ताकि स्थिति नियन्त्रणमा राख्न सकियोस्। नियमित बाहेक नयाँ स्थानमा पनि श्मशान बनाएर शव जलाउन थालिएको छ।'

बेवारिस लाशको अन्तिम संस्कार गर्ने संस्था जनसंवेदनाका राधेश्याम अग्रवालका अनुसार अहिले त्यहाँका घाटहरूको अवस्था निकै भयावह देखिन्छ। श्मशान वरपरका जमिनलाई पनि शव जलाउन तयार पारेर राख्ने गरिएको छ। 

अग्रवालले भने, 'अहिले जस्तो स्थिति देखिएको छ, त्यो हेर्दा हामीलाई तत्कालै थप विद्युत शवदाह गृह आवश्यक छ, तर सरकारले यसप्रति गम्भीरता देखाएको छैन।'

आर्थिक अभावका कारण कतिपय परिवारले कोरोना संक्रमणका कारण ज्यान गुमाएका आफन्तको शव जलाउन र अन्तिम संस्कारसमेत गर्न नपाएको उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.