|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि 'राष्ट्रिय आर्थिक रुपान्तरण २०३०' को  मार्गचित्र तयार पारिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि 'राष्ट्रिय आर्थिक रुपान्तरण २०३०'ले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए।  उनले भिजन पेपर इमान्दारीपूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गरे। उनले बजेटको आकार बढाएर मात्रै विकास सम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए।

उनले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन।

यसमा सुधार आवश्यक छ। पहिले त यसको नियमावली नै बन्नुपर्छ।' कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.