अदालतमा अनैतिक सेटिङ भयो त हाम्रो के दोष?

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा पुर्‍याइदिने बताएका छन्। 

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउँछौँ। अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको छ। ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएका छौँ।’ 

जसपाका नेताहरूसँग पनि माओवादीको 'वेभलेन्थ' पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए। कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा ओली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने टिप्पणी गरे। 

उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ। मोर्चा बनाउनेमा चाहिँ हामीहरू र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ। अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथी आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो। उता पट्टिको भएपनि। त्यो लभ त गएको छैन नी। अर्कोले डिभोर्स गरिदिए पनि। अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ। अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो। त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ।’ 

'मोर्चाबन्दी गर्नुपर्छ'

जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग कम्तिमा सरकारमासँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुने बताए। 

‘अब अहिले मोहन विक्रमहरुसँग, वैद्यहरूसँग पनि एकताको सपना देख्नु त एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन। तर, मोर्चा चाहिं बन्छ। मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मूलभूत रूपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पु¥याइएको छ’ उनले भने, ‘तपाई हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग¥यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ।’

प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरे। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहरूको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास व्यक्त गरे। 

‘हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो त्यहाँ छलफल भयो बैठक चाहिं राम्रो भयो। पहिलो चोटी नेपाली कांग्रेस खुलेर केपीले त बर्बादै पार्ने भयो सब प्रतिगमन नै गर्ने, सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भयो भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु म’ उनले भने, ‘जसपाले पनि अब नयाँ सरकार गठन गरौं अब भन्ने प्रस्ताव औपचारिक ढङ्गले नेपाली कांग्रेसले राखेपछि पहिलो चोटी प्रस्ताव राख्नुभयो ठिक छ हामी सल्लाह गर्छौं एक दुई दिन भित्र नै हामी टुङ्ग्याउँछौँ भनेर जसपाले पनि भनेको छ र मलाई लाग्छ केही दिन भित्र नयाँ सरकार गठन हुन्छ र हुनैपर्छ भन्ने लागेको छ।’

नयाँ प्रकारको जनयुद्ध

नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको बताए। सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावादी विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको बताए। 

‘हामी  एकचोटि फेरि नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरी त्यही भन्यो भनेर प्रचार हुन सक्छ। जे होस नयाँ जनयुद्ध जसरी युद्धको बेलामा भन्थ्यौँ नी युद्ध भनेको रक्तपात पूर्ण राजनीति हो राजनीति भनेको रक्तपात हीन युद्ध हो। त्यस अर्थमा अहिले पनि हामी युद्धमै छौं’ उनले भने, ‘प्रतिक्रियावादीको विरुद्ध युद्धमै छौं। तर त्यो युद्ध लडने तरिका र रुप फरक छ।’पार्टी एकता गरेर आफूले गल्ति नगरेको पनि प्रचण्डले बताए। 

निरन्तर गल्ती भयो

‘ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ती भएको छ। सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती भयो’ उनले भने, ‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होला कि भनेर कैयौं पटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ के त्योबेला मान्न नहुने रहेछ भन्ने परेको छ मलाई। अध्यक्षको आलोपालो उही बेला छोडदिन म यहाँ सही तिमीले गर्ने अनि मलाई दुई नम्बर बनाउने भन्न पर्ने रहेछ।’

दोस्रो गल्ती आफ्नै सङ्गठनभित्रका कार्यकर्ता र जनतालाई ध्यान नदिनु पनि रहेको स्वीकार गरे। आफ्नै सङ्गठन भित्र रहेका सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारसँग सम्बन्ध बलियो नबनाई अर्काको पछि लाग्दा अहिले दुःख पाएको पनि बताए। 

‘अब यस्तै यस्तैलाई सहकार्य गरेर एकता गरेर अब सबै ठिक गर्ने भइयो भन्ठानेर आफ्नै सङ्गठन आफ्नै जनतालाई बलियो बनाउनेमा जति ध्यान दिन पथ्र्यो त्यति दिइएन त्यहाँ चाहिं कमजोरी भयो भन्ने लागेको छ मलाई अहिले। आफ्नै सङ्गठन र आफ्नै जनतालाई आफ्नै सहिद परिवार, आफ्नै घाइते अपाङ्ग या वेपत्ता परिवारसँग बलियो सम्बन्ध र त्यसलाई सुदृढ गर्दागर्दै अरूसँग खेल्ने कुरा त ठिकै रहेछ। ठिकै हुन्थ्यो’ उनले भने, ‘आफ्ना छदै छन नि भनेर अलिकति वेवास्ता गरेको जस्तो अर्काको पछि बढी लाग्दा खेरी दुख पाइयो भन्ने मैलाई परेको छ अहिले। त्यसो भएर आउने दिनमा त्यसो नगर्ने भनेर मैले भित्रभित्र सङ्कल्प गरेको छु।’

अनैतिक सेटिङमा भयो 

दुई पार्टीको बिचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिँदा अहिलेको अवस्था आएको बताए। पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरी अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पुर्‍याइदिनु समस्या भएको बताए। 

नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सर्वोच्च अदालतले डिभोर्स गराइदिँदा अहिले दुःख भइराखेको बताए। 

उनले भने, ‘हाम्रो त लभ परिराख्या थियो। दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी २८ गतेको आमसभामा म कसरी बोलेको थिए माधव जी कसरी बोल्नु भयो, झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेका त्यसरी बोलिन्थिएन नी त।

लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ? लभ परि राखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो। कतैबाट पनि मिल्ने कुरा हो त। अब अहिले दुलाहा दुलही दुई वटै रुँदै रुँदै आफ्नो आफ्नो घरमा। त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वभाविक, अनैतिक, गलत र सेटिङमा भयो त हाम्रो के दोष भयो त त्यहाँ। लभ गर्नु गल्ति भएको हो त?’

कम्युनिष्ट आन्दोलनको एकता आवश्यक रहेको बताए। आफूहरुले अदालतको फैसलालाई अप्राकृतिक र अव्यवहारिक भनेको पनि बताए। अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइ दिएपनि कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको पनि तर्क गरे। पार्टीलाई  बलियो बनाएपछि मात्रै सम्भव हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.