|

रुकुम (पूर्व) : रुकुम पश्चिममा नेकपा एमालेका दुवै समूह सक्रिय भएका छन्। दुवै समूहले पार्टीका अभियान, कार्यक्रम र बैठक फरक–फरक ढंगबाट गरिरहेका हुन्।

शुक्रबार मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा नेकपा एमालेको जिल्ला कमिटी बैठक बस्यो। शुक्रबार नै बागबजारस्थित पार्टी कार्यालयमा एमालेनिकट राष्ट्रिय युवा संघको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

यी दुवै कार्यक्रममा वक्ता र सहभागी फरक–फरक थिए। जिल्ला अधिवेशनबाट निर्वाचित विमलकुमार पुन र साविक नेकपा विवादको बेला संयोजक बनाइएका टंकप्रसाद ओली फरक–फरक कार्यक्रममा सहभागी भएका हुन्। दुवैले आफूलाई आधिकारिक आफ्नो पार्टी आधिकारिक भन्दै आएका छन्।

पुन नेतृत्वको समूहले एमालेको खनाल–नेपाल समूहलाई र ओली समूहले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरिरहेका छन्। पुन समूहमा उपाध्यक्ष ऋषिप्रसाद शर्मा, सचिव हरिप्रसाद शर्मा र उपसचिव माधवप्रसाद गौतमलगायत नेताहरू छन्।

अध्यक्ष पुनले आफूहरूसित ७५ प्रतिशत बढी जिल्ला कमिटीका सदस्य रहेको बताए। ‘यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएको छ,’ उनले भने, ‘एकै भएर जाने गरी छलफल गरिरहेका छौं।’

संयोजक तोकिएका ओलीले भने आफूहरू नै पार्टीको संस्थापन भएको बताए। ‘पार्टी केन्द्रले पठाएको अन्तर पार्टी निर्देशनअनुसार नै कामकाजमा लागेका हौं,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकका निर्णय, सर्कुलरअनुसार नै पार्टीको अभियानलाई तीव्र बनाइएको छ।’ उनले अर्को समूह छ/छैन भन्ने विषय महत्वपूर्ण नभएको दाबी गरे।

पार्टीका गतिविधि दुवै पक्षले आफ्नै ढंगबाट गरे पनि कार्यालय भने एउटै प्रयोग भइरहेको छ। उनीहरूले बागबजारस्थित मदन–आश्रित भवनमा पार्टी कार्यालयको कामकाज सम्पादन गरिरहेका हुन्। सुरुमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयको ताला फुटाएर कार्यालय सञ्चालन गरेका थिए। पछि नेपाल पक्षधर पनि कार्यालयमा जान थालेका हुन्।

रुकुमपूर्वमा पनि उस्तै हालत

रुकुमपूर्वमा पनि रुकुम पश्चिमकै जस्तै देखिएको छ। फागुनमा जिल्ला कमिटीको कार्यालय स्थापनाको कार्यक्रममा ओली पक्षका मात्र कार्यकर्ताको उपस्थितिमा रहेको थियो।

त्यसदेखि यता बैठक बस्ने क्रममा नेपाल पक्षका कार्यकर्ताको उपस्थित जनाएका छैनन्। नेपाल पक्षका कार्यकर्ताले भने हालसम्म बैठक  बोलाएको छैनन्। जिल्ला कमिटी अध्यक्षमा ओली पक्षका सतमान पुन मगरलाई तोकिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.