'प्रदेश सरकारलाई राष्ट्रिय राजनीतिले प्रभाव पार्छ'

|

गोरखा : सर्वोच्च अदालतको फैसलापछि देशको राष्ट्रिय राजनीतिक माहोल ‘सस्पेन्स खेल’ जस्तै बनेको छ। यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारमा पनि पर्न सुरु गरिसकेको छ। गत बुधबार माओवादी केन्द्रले प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिन लगायो।

अब कांग्रेस, माओवादी र जसपा मिलेर गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको कुरा सार्वजनिक हुन थालेको छ। तत्काल माओवादीले सरकारलाई समर्थन फिर्ता गरिहाल्यो भने पनि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार तत्काललाई सुरक्षित देखिन्छ। तर, तीन दलले राजमोलाई पनि अविश्वासको प्रस्ताव ल्याउँदा सहयोग गर्नका लागि फकाइरहेको बुझिन्छ।

तर, गुरुङको नेतृत्वमा सरकार भने अहिले निर्धक्क भएर आव ०७८/०७९ को बजेट तर्जुमाको तयारी गरिरहेको छ। प्रदेश सरकारको समग्र विकासको अवस्था र राजनीतिक तालमेलका विषयमा गण्डकी प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन तथा भौतिक पूर्वाधार बिकास मन्त्रीरामशरण बस्नेतसँग थाहा खबरकर्मी अश्विन दानीले गरेको कुराकानीको सम्पादित अंश :

सरकारले नयाँ बजेट ल्याउने तर्खर गरिरहँदा कांग्रेस, माओवादी र जसपा मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रदेश सरकार ढाल्ने तयारीमा छन् भन्ने हल्ला छ नि!?

हामीसँग नै सहकार्य गरिराखेको माओवादी पार्टीले हालसालै सरकारबाट हटेको छ। तर, पनि त्यो दलले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। कांग्रेस विपक्षमा नै थियो, उसँगै अन्य साना दलहरू पनि थिए। 

अहिले नै कुन पार्टीले नेतृत्व लिने भन्ने स्थिति छैन र तत्काल हामीले सरकार विस्तार गरिहाल्ने योजना पनि बनाएका छैनौँ। कृषि मन्त्रालय मुख्यमन्त्रीले अनि कानुन मन्त्रालयको जिम्मेवारी मैले लिएको छु। यस विषयमा हामीले सबै दलहरूसँग छलफल गर्नेछौँ त्यसपछि यसलाई पूर्णता दिनेछौँ। त्यो काममा हामी लागिरहेका छौँ।

खासमा भन्नु पर्दा, अविश्वासको प्रस्ताव ल्याउने व्‍यवस्था संविधानले नै गरेको छ। यसमा हामीले अचम्म मान्नु पर्ने जरुरत छैन। तर, प्रदेश सरकारलाई राष्ट्रिय राजनीतिले पनि प्रभाव पारेको हुन्छ।

राष्ट्रिय राजनीति अब कसरी जान्छ ? त्यो केही दिनमा थाहा हुन्छ। तर, हामीले प्रदेश सरकार गठन हुँदादेखि हालसम्म सबै राजनीतिक दलहरूसँग समन्वय सहकार्य गरिराखेका छौँ। हामीले गरेका अधिकांश निर्णयहरू, ल्याएका कानुन, नीति नियमहरू, विधानहरू सर्वसम्मत पारित हुनु सबै दलहरूसँग सहकार्य गरेका थियौँ भन्ने कुराको प्रमाण हो।

सत्तापक्षसँग मात्रै हैन, प्रतिपक्षसँग पनि हाम्रो दूरी त्यति टाढा थिएन, छैन। सरकार बनाउनदेखि चलाउन सबै राजनीतिक दलहरूका बीचमा छलफल गर्नुपर्ने जरुरी हुन्छ।

नेकपा एमालेले पनि सरकारमा बसेर सबै दलहरूसँग निरन्तर सहकार्य गरिरहेका कारणले पनि अहिले तत्काल अविश्वासको प्रस्ताव आउँदैन भन्ने मलाई लाग्छ।

अविश्वासको प्रस्ताव आइहाल्यो भने?

अहिले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर पास हुने अवस्था भने छैन भन्ने मलाई लाग्छ।

माओवादीका दुई मन्त्रीले गत बुधबार राजीनामा दिए। त्यसपछि मन्त्री पद रिक्त भएको दुई मन्त्रालयमध्ये एउटा मुख्यमन्त्रीले अर्को तपाईंले जिम्मेवारी लिनु भएको छ। अब त्यो दुई मन्त्रालयमा कुन दलका मन्त्री आउने सम्भावना छ?

अहिले नै कुन पार्टीले नेतृत्व लिने भन्ने स्थिति छैन र तत्काल हामीले सरकार विस्तार गरिहाल्ने योजना पनि बनाएका छैनौँ। कृषि मन्त्रालय मुख्यमन्त्रीले अनि कानुन मन्त्रालयको जिम्मेवारी मैले लिएको छु। यस विषयमा हामीले सबै दलहरूसँग छलफल गर्नेछौँ त्यसपछि यसलाई पूर्णता दिनेछौँ। त्यो काममा हामी लागिरहेका छौँ।

सरकारको राजमोलाई ग्रिन सिङ्गलन छ भन्छन् नि?

उहाँहरूले हामीलाई सुरुदेखि नै सहयोग गरिराख्नु भएको छ। उहाँहरू सँगको सहकार्य हाम्रो निम्ति पनि सहज छ र उहाँहरूका लागि पनि सहज छ भन्ने लाग्छ। तर, मैले अघि भने राष्ट्रिय राजनीतिका पनि कुरा हुन्छ।

राष्ट्रिय राजनीतिका कारण केही समस्या आइहाल्यो भने अब त्यो पछिको कुरा हो। मलाई लाग्छ उहाँहरूसँगको भेटघाट, कुराकानी, अन्तरक्रियाले चाहिँ के प्रष्ट देख्‍न सकिन्छ भने उहाँहरूको र हाम्रो सहकार्य टुट्दैन भन्नेमा मलाई विश्वास छ।

प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ, यस वर्षको बजेट कस्तो हुन्छ?

गण्डकी प्रदेश सरकारले नयाँ बजेट ल्याउन पूर्व-तयारी सुरु गरिसकेको छ। यो बजेटको आकार गत वर्षका तुलनामा स्वाभाविक रुपमा आकार ठूलो हुनुपर्ने हो। तर, मुलुकमा कोरोना प्रभावका कारण लामो समय लकडाउन भयो, त्यसले नेपालको अर्थतन्त्रमा पनि असर पारेको छ। अहिले पनि कोरोनाका कारण अर्थतन्त्र दह्रो हुनलाई समस्या, चुनौतीहरू सिर्जना भइरहेका छन्। सहज स्थिति छैन।

त्यसकारण यो वर्षको बजेटको आकार गत वर्षको तुलनामा केही सानो हुन सक्छ। तर, त्यही बजेटको पनि अधिकतम प्रयोग गरेर बहुवर्षीय योजानाहरूको काम सुरु गर्नेछौँ। आगामी वर्षमा ती बहुवर्षीय योजनाका लागि बजेटको सुनिश्चितता गर्नेछौँ।

अहिले नै हामीले त्यसो गरेनौँ भने भोलिका दिनमा विकास निर्माणका कामहरूमा यसले नकारात्मक असर पार्न सक्छ। यसो भन्दै गर्दा हामीले जनताका आवश्यकता र चाहनालाई बेवास्ता गर्दैनौँ, प्राथमिकताका आधारमा स—साना योजनाहरू पनि तर्जुमा गर्नेछौँ।

तर, यस वर्ष हामी स—साना टुक्रे योजनाहरू भन्दा पनि बहुवर्षीय योजनाहरूलाई केन्द्रीत गरेर त्यसलाई पुग्ने गरेर बजेट तर्जुमा गर्नेछौँ। हामी हाम्रो कार्याकालको करिब-करिब अन्त्य अन्त्यमा आइपुगेका छौँ। अब करिब दुई वर्ष मात्रै हामीसँग छ। तसर्थ हामीले सरकारमा आउँदै गर्दा आम जनतासँग गरेका बाचा र प्रतिबद्धतालाई ख्याल राख्दै विगतमा सुरु गरेका योजनाहरूलाई सम्पन्न गर्न र दियो विकास र समृद्धिका लागि आवश्यक बहुवर्षीय योजनाहरूको सुरुवात गर्ने गरी हामीले यस वर्षको बजेट तर्जुमा गर्ने तयारीमा जुटेका छौँ।

आउँदो बजेटका मुख्य प्राथमिकताहरू केके हुन्?

हाम्रो बजेटको मुख्य प्राथमिकता भनेको समग्र गण्डकी प्रदेशको विकास र समृद्धि र आम नागरिकहरूको खुसी र सफल जीवनशैली निर्माण नै हो। यसका लागि हामीले मुख्यत सडक, खानेपानी, बिजुली, पुललगायतका समग्र भौतिक विकासका क्षेत्रमा अन्य क्षेत्रमा भन्दा बढी नै बजेट विनियोजन गर्नेछौँ।

त्यसपछि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन हुँदै आम जनताका अपेक्षा, चाहना र आवश्यकताहरू पूरा गर्दै समग्र प्रदेशलाई सफल प्रदेश बनाउन आवश्यक योजनाहरूलाई प्राथमिकता दिन्छौँ।

अहिलेको सरकार पद लोलुपतामा लागेर काम गरिरहेको छ भन्ने आरोप छ नि,  के भन्नुहुन्छ?

विकासविरोधी मानिसहरूले सरकारको विरोध गर्नकै निम्ति कहिलेकाहीँ त्यसो भनिरहन्छन्। तर, अहिलेको सरकारले पद लोलुपताको पछि लागेर जनताको आँखामा धुलो हाल्ने काम गरिरहेको छैन, टालटुल काम गरिरहेको छैन।

हामीले प्रदेशलाई चौतर्फी विकास र समृद्धिका दिशातर्फ उन्मुख गराइरहेका छौँ। जनताका आशा, भरोसा, इच्छा, आकांक्षा र आवश्यकताका आधारमा काम गरिराखेका छौँ।

यसो गर्दै गर्दा यदि कसैले अहिलेको सरकार पदलोलुपताका आधारमा काम गरिरहेको छ भन्छन् भने उहाँहरूलाई म भन्न चाहन्छु, विरोधका लागि मात्रै विरोध नगर्नुस्। सहज तरिकाले काम गर्न नदिन दबाब दिने गरी राजीनामा माग्ने, काम नै गरेर भन्दै गलत प्रचार गर्ने नगर्नुस्।

यदि अहिलेको सरकारले भन्दा बढी काम गर्न सक्छु या सक्छौँ भन्ने लाग्छ भने प्रक्रिया पुर्‍याएर आउनुस्। यदि हामीले सरकार छाड्दैमा मात्रै विकास हुने हो भने हामी तयार र्छौँ तर त्यसको प्रक्रिया पूरा हुनुपर्छ।

त्यसो भए आजसम्म जनताका पक्षमा गण्डकी प्रदेश सरकारले के के गर्‍यो त?

मलाई लाग्छ यो सोधिराख्नुपर्ने विषय हैन, तपाई गोरखामा मात्रै नभएर गण्डकी प्रदेशका सबै जिल्लामा सहजै देख्न सक्नुहुन्छ। प्रदेश सरकारले बनाएका नयाँ, स्तरोन्नति र कालोपत्रे गरेका सडकहरू, अधिकांश घरहरूमा खानेपानीका धाराहरू, अबको एक वर्षभित्रै गण्डकीका सबै घरघरमा खानेपानीका धारा पुर्‍याउने गरी काम गरिराखेका छौँ।

हामीले बिजुली नपुगेका प्रत्येक गाउँका प्रत्यक घरमा बिजुली बत्ती पुर्‍याउँदै छौँ, बिजुली पुर्‍याउन नसक्ने ठाउँमा सौर्यबत्ती वितरण गरिराखेका छौँ, यस वर्षभित्रै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने तयारीमा छौँ। ठाउाँठाउँमा झोलुङ्गे, मोटरेवल पुल बनिराखेका छन्। 

हामीले सरकारमा आउँदै गर्दा आम जनमासमा गरेका बाचा र प्रतिबद्धता भुलेका छैनौँ, भुल्ने छैनौँ, त्यसलाई पूरा गर्न निरन्तर लागिपरिरहेका छौँ। अझै हामीसँग करिब दुई वर्ष बाँकी नै छ, यो बाँकी समयमा तपाईहरूका थुप्रै चाहना र आवश्यकतालाई तपाईंहरू सन्तुष्ट हुन गरी पूरा गर्नेछौँ यस कुरामा समग्र प्रदेशवासीहरू ढुक्क हुनु भए हुन्छ।

हिजो पढ्नलाई घण्टौँसम्म हिँडेर टाढा जानुपर्ने बाध्यता हटाउँदै गाउँगाउँमा प्राविधिकसहितको गुणस्तरीय शिक्षा प्रदान गरिराखेका छौँ। विगतमा स्वास्थ्य चौकी नभएका ठाउँमा अहिले बनाउँदै छौँ, भएका ठाउँमा प्रभावकारी सेवा विस्तार गरिराखेका छौँ।

गाउँगाउँमा कृषि तथा पशुपंक्षीका फार्महरू खुलिरहेका छन्। सयौँ युवाहरूलाई अनुदान दिएका छौँ। युवाहरूलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउँदै विभिन्न रोजगारीका अवसरहरू प्रदान गरिराखेका छौँ। कृषिका क्षेत्रमा उत्पादनलाई वृद्धि गर्ने, प्रशोधन गर्ने र त्यसलाई उचित बजारीकरण गर्ने गरी काम गरिराखेका छौँ। 

विभिन्न ठाउँका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी त्यसको संरक्षण, प्रवर्धन र सौन्दर्यीकरण गरी आन्तिरिक तथा वाह्य पर्यटकको हव बनाउँदै छौँ। हरेक बर्ष विदेश जाने नागरिकहरूको संङ्ख्या कम गराउन र स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्न बिभिन्न कार्यक्रमहरू सन्चालन गरिराखेका छौँ। यसरी नै समग्र नागरिकका पक्षमा काम गर्दै यस प्रदेशलाई चौतर्फी रुपमा सवल बनाउने योजना कार्यक्रमहरू लागू गरिराखेका छौँ।

अन्तमा केही?

अन्तमा हामी जुन बेला प्रदेश सरकारमा सामेल हुँदै थियौँ त्यतिबेला हामीसँग नीति, नियम, कानुन मात्रै हैन काम गर्न बस्ने ठाउँसमेत थिएन। त्यो स्थितिबाट आएका हामीले अहिले प्रदेशका लागि आवश्यक कानुन निर्माण गरेर जनतालाई चाहिने हरेक सेवा सुविधाहरूलाई गाउँगाउँमा मात्रै हैन, कुनाकुनामा, दुरदराजमा पुर्‍याएका छौँ, त्यसलाई निरन्तरता दिई राखेका छौँ।

हामीले सरकारमा आउँदै गर्दा आम जनमासमा गरेका बाचा र प्रतिबद्धता भुलेका छैनौँ, भुल्ने छैनौँ, त्यसलाई पूरा गर्न निरन्तर लागिपरिरहेका छौँ। अझै हामीसँग करिब दुई वर्ष बाँकी नै छ, यो बाँकी समयमा तपाईहरूका थुप्रै चाहना र आवश्यकतालाई तपाईंहरू सन्तुष्ट हुन गरी पूरा गर्नेछौँ यस कुरामा समग्र प्रदेशवासीहरू ढुक्क हुनु भए हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.