खोप आयात गर्नुपर्ने सरकारको पहिलो प्राथमिकता

|

काठमाडौं : एक सातायता कोरोना संक्रमण ग्राफमा बढ्दै छ। करिब दुई महिनायता संक्रमण न्यून भएपश्चात् पुनः संक्रमण ग्राफ बढेको छ।

त्यसभन्दा अगाडि दैनिकजसो ७०-८० जनाको हाराहारीमा संक्रमण बढ्दै गएको थियो। अहिले भने दैनिक २ सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सातामै २ हजार भन्दा बढी संक्रमण देखिन थालेका छन्।

छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढ्न थालेको हो। नेपालमा कोभिडको दोस्रो लहर फैलन थालिसकेकाले चिकित्सकहरूले नियन्त्रणका लागि तीनै तहका सरकार एक हुनुपर्ने बताउन थालेका छन्।

जनस्वास्थ्य मापदण्ड पालना नगर्दा र खोप लगाएपछि सर्वसाधारणमा आत्मविश्वास बढ्नु, खोप आयात भएपछि सामाजिक दूरी पालन नगर्नु, मास्क प्रयोग नगर्नुले नै कोरोना बढिरहेको उनीहरूले बताउन थालेका छन्। 

देशभरका विभिन्न सीमानाकाबाट खुला रुपमा मानिसहरू भित्रिँदा पनि कोरोना जोखिम बढ्न थालेको हो। तर सरकारले सीमा कडाइ भने गर्न सकेको छैन। भारत तथा तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाइनमा राख्न नसक्दा पनि पछिल्लो समय संक्रमण ह्वात्तै बढ्न थालेको छ। 

विदेशबाट आएका मानिसहरूको कोरोना परीक्षण नहुनु नै संक्रमण बढ्नुको मुख्य कारक रहेको छ। क्वारेन्टाइनमा नबसी बाहिर सहजै आवतजावत गर्दा र अनुगमन नहुँदा संक्रमण बढदै गएको छ।

'भारतबाट आएका मानिसको परीक्षण नगर्दा संक्रमण फैलियो'

भारतबाट आएका मानिसहरूको परीक्षण नगर्दा अहिले समुदायस्तरमा संक्रमण फैलिसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर कुमार राजभण्डारीको दाबी छ।

अस्पतालमा उपचार गर्न आएका एकजनाले धेरैलाई संक्रमण फैलाइसकेको उदाहरण दिँदै उनले भने, 'तीव्र रुपमा परीक्षण गरिएन भने यसले विष्फोटक रुप लिइसकेको छ।'

सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना नगरेकोले पुनः संक्रमण फैलिएको राजभण्डारीको दाबी छ। उनका अनुसार सामाजिक दूरी कायम नगर्दा र मास्क प्रयोग नभएकोले पछिल्लो समय संक्रमण दर बढेको हो।

धेरै भन्दा धेरै परीक्षणको दायरा बढाई आइसोलेट गर्न उनको सुझाव छ। घनाबस्तीमा परीक्षण गरेर व्यवस्थित आइसोलेसनमा राख्नुपर्ने उनले बताए।

संघीय सरकार, प्रदेश, स्थानीय सरकार तथा नागरिक समाजले महामारी नियन्त्रणका लागि चेतनामुलक कार्यक्रम गरी अगाडि बढ्नुपर्ने डा. राजभण्डारीले बताए। तीनै सरकारको बीचमा समन्वय हुनुपर्ने उनको भनाइ छ।

स्थानीय सरकारले निःशुल्क मास्क वितरण गरी सबैलाई सचेत गराउन उनले आग्रह गरे। राजनीतिक दलले सभा, जुलुस भेला तथा अन्य विवाह, भोज गर्न नुहने उनको भनाइ छ। केही समययता जिम्मेवार व्यक्तिहरूले संक्रमण रोकथामलाई बेवास्ता गरिरहेको उनले प्रस्ट पारे।

'परीक्षणलाई तीव्रता दिनू'

कोरोना संक्रमणको दर न्यून हुनासाथ सरकारले नियन्त्रण भएको जस्तो गरेर त्यसलाई बेवास्ता गर्दा सेकेन्ड वेभको संक्रमण देखा पर्न थालेको स्वास्थ्य मन्त्रालयका पूर्ववैतनिक स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरेर अब तयारी अवस्थामा राख्न उनले सुझाव दिए। १२ प्रतिशतका दरले संक्रमण बढ्नु भनेको नेपाल कोरोनाको उच्च जोखिममा रहेको प्रमाणित भइसकेको उनले जानकारी दिए।

'कोरोना परीक्षण तीव्र रुपमा गरी पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्नुपर्छ, 'डा. तिवारी भन्छन्, 'अस्पतालमा आइसियु संख्या बढाउनुपर्छ। गत वर्षको अनुभवले के-के समस्या गरेको छ, त्यसको सबै पहिचान भइसकेको छ।'

सरकारले कोभिड रोकथाम तथा नियन्त्रणको उपाय अपनाएसँगै खोप आयात विशेष ध्यान दिनुपर्ने तिवारीले बताए। उनका अनुसार सरकारको पहिलो प्राथमिकतामा खोप आयात हुनुपर्छ।

स्वास्थ्य मन्त्रालयले एकल ढंगले निर्णय गर्न नसक्दा महामारी नियन्त्रणमा केही फितलो देखिएको उनले गुनासो गरे। महामारी नियन्त्रणका लागि सिसिएमसीले निर्णय गरेपछि काम गर्नलाई अग्रसर भइरहेको उनले जानकारी दिए।

तिवारीले भारतले रेमडिसिभर खोप आयातमा रोक लगाए पनि बंगलादेशबाट आयात गर्न सुझाव दिएका छन्। कोरोना संक्रमितको उपचारमा रेमडिसिभर औषधि सबैभन्दा बढी प्रभावकारी रहेको मानिएको थियो। नयाँ संक्रमितहरूलाई पहिले जस्तो उपचार गर्न नपरोस् भनेर अहिलेदेखि आवश्यक औषधि आयात गर्नुपर्ने उनको भनाइ छ।

'कोरोनाबाट सुरक्षित रहन मास्क लगाउनू'

'कोरोना नियन्त्रणको मुख्य उपाय मास्क लगाउने र खोप लगाउने हो,' जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित भन्छन्, 'मास्कको उचित ढंगले प्रयोग गरेमा र सरकारले जतिसक्दो खोपलाई प्राथमिकतामा राखेर आयात गर्न सकेमा अझै पनि कोरोना नियन्त्रण गर्न सकिन्छ।'

पछिल्लो समय देखिएका भाइरसहरु छिटोछिटो सर्ने भएकाले सावधानी अपनाउनु देखि बाहेक अन्य विकल्प नरहेको डा. दीक्षितको भनाइ छ। उनले सामाजिक दूरी कायम गर्न असम्भव भए पनि सबैलाई मास्क लगाउन आग्रह गरेका छन्।

परीक्षणको दायरा बढाइ समयमा आइसोलेसन राख्न उनले सुझाव दिए। संक्रमितको पहिचान महामारी नियन्त्रणको भरपर्दो उपाय हुन सक्ने उनले प्रस्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.