|

इलाम : नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन्। विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन्। विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन्।

कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ। लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन्। यीमध्ये केही खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन्। तर, नेपाली फुटबलको सर्वोच्च नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) यस विषयमा मौन छ। एन्फाका पदाधिकारीहरुले नै गैरकानुनी रुपमा नेपालमा रहेर फुटबल खेलिरहेकाहरुको संरक्षण गर्ने गरेको आरोप छ। नेपाली फुटबल विकासको सुरुवातबाटै भारत, भुटान, बंगलादेशलगायत छिमेकी मुलुकबाट खेपका आधार खेलाडी भित्र्याइँदै आएको इतिहास छ। ६० को दशकबाट नेपाली फुटबलमा अफ्रिकी मुलका खेलाडीहरुले समेत प्रवेश पाए।

तान्जिनिया, नाइजेरिया र आइभरीकोष्टका खेलाडीहरु भारतको बाटो हुँदै अवैध रुपमा नेपाल आएर फुटबल खेलेका थिए। त्यसपछि अफ्रिकी खेलाडीहरुको नेपाल प्रवेशमा लर्को लाग्यो। लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो। कम पैसामा खेलाडी आउने भएपछि क्लबहरुले पनि त्यसतर्फ ध्यान दिन थाले। शारीरिक रुपमा बलिया भएकै कारण अफ्रिकी मुलका खेलाडीहरु स्ट्राइकर र डिफेन्सका रुपमा नेपाली टिमले भित्र्याएका छन्। नेपालमा लिग सुरु हुने समय भएपछि भटाभट अफ्रिकी मुलका खेलाडीहरु नेपाल भित्रिन्छन्।

एउटा प्रतियोगिताको लागि भनेर निमन्त्रणा गरिएको खेलाडीहरु उक्त प्रतियोगितापछि आफू खुशी अन्य प्रतियोगिता सहभागी हुँदै आएका छन्। पछिल्लो उदाहरण अफ्रिकन रुट्स एशोसियसनलाई लिन सकिन्छ। आयोजक साहरा फुटबल क्लबले गत माघ २९ मा अफ्रिकन रुट्सलाई सहभागिताका लागि पत्र पठाएको थियो। क्लबले भोलि पल्ट नै सहभागिता जनाउने निर्णय गरेको पत्र आयोजकलाई दियो। सोही क्रममा अफ्रिकन रुट्सलाई आहा राराका अतिरिक्त विराट गोल्डकप र मकवानपुर जिल्ला गोल्डकपमा सहभागिता जनाउने गरी एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई अनअराइभल भिसा सम्बन्धित निकायमा सिफारिस गरिदिन फागुन २३ मा पत्रचार गर्‍यो।

एन्फाको पत्रअनुसार राखेपले चैत २ मा अनअराइभल भिसाका लागि अध्यागमन विभागलाई अनुरोध गर्‍यो। युवा तथा खेलकुद मन्त्रालयले भने अफ्रिकन रुट्सलाई भिसा उपलब्ध गराउन फागुन २५ मा नै गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। भिसा पाएपछि क्लबले चितवनको विजय खड्गी मेमारियल कप, राजर्षि जनक कप, बागमती गोल्डकपलगायतका केही प्रतियोगिता पनि खेल्यो। जसका लागि उसले सहभागिताको अनुमति लिएकै थिएन। आयोजनकको निम्तोलाई आधार मानेर सहभागी भएको क्लबले बताएको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर आहा राराका लागि नेपाल आएको टिमले विराट गोल्डकपसम्मको प्रतियोगिता खेल्ने बताउँछन्। ‘विराट गोल्ड कपसम्म नेपालमा फुटबल खेल्ने अनुमति पाएको छ, त्यो अवधिसम्म दिन्छौं,’ उनले भने, ‘त्यसपछि पनि नेपालमा नै रहे कारवाही प्रक्रिया अघि बढाउँछौं।’

त्यसो त एन्फाले यसअघि पनि नेपालमा आएको क्यामरुनी क्लब दाफिन्सलाई अवैधानिक भन्दै कारवाही गर्ने बताएको थियो। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कारवाही प्रक्रिया अघि बढाउने बताएका थिए। तर, उनी आफैं दाफिन्सले जितेको मनकामना केबलकार कपको पुरस्कार दिन पोखरा पुगे। दाफिन्सले त्यसपछि पनि बुढासुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप, भरौल गोल्डकप, मनमोहन दुहबी गोल्डकप, इलामको माईभ्याली गोल्डकपमा सहभागिता जनाउँदै उपाधि जित्यो। हेटौंडाको सहिद स्मृति गोल्डकप, धनकुटाको भीमनारायण गोल्डकपलगायतका प्रतियोगिताको फाइनलसम्म खेल्यो।

अवैधानिक रुपमा नेपाल आएको भनिएको दाफिन्सका यान्निक ओवाना र विक विकले संकटा क्लबबाट भारतको आसाममा सम्पन्न सिइएम गोल्डकपमा समेत सहभागिता जनाएका थिए। त्यसैगरी अन्य खेलाडीले च्यासल युथ क्लब, गोर्खा ब्वाइज, चितवन एफसी, नुवाकोट एफसीलगायतका क्लबबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए। ती खेलाडीहरुलाई कारवाही गर्न नसकेपछि एन्फा अध्यक्ष शेर्पा राखेपले टोलीलाई मान्यता दिएको र राखेप एन्फाभन्दा माथिल्लो तहमा रहेकाले कठिनाई भएको भन्दै पन्छिएका थिए।

नेपाली क्लबमा आश्रय

सुरुवातमा नेपालका केही प्रतियोगितामा सहभागिताका लागि भनेर ल्याइएका विदेशी खेलाडीलाई पछि नेपालकै क्लबमा अनुवन्धन गराइन्छ। २०७५ सालमा नेपाल आएका क्यामरुनकै दाफिन्सका धेरै जसो खेलाडीले गत वर्षको ए डिभिजन लिग खेले। कोरोना कहर सुरु भएपछि उनीहरु आफ्नै देश फर्किए। एन्फाले एउटा क्लबले अधिकतम चारजना विदेशी खेलाडीलाई टिममा अनुवन्धन गर्न पाउने नियम बनाएको छ। तर‚ भारतीय बाटो भएर अनाधिकृत रुपमा विदेशी खेलाडीहरु भित्रिने भएकाले टोलटोलमा हुने प्रतियोगितामा समेत अफ्रिकी मुलका खेलाडी देख्न सकिन्छ। सीमित खेलाडीले प्रक्रिया पुर्‍याएर खेल्दै आएका छन्।

एन्फामा दर्ता नभएका र श्रम स्वीकृति नलिएका विदेशी खेलाडी लगातार मैदानमा उत्रिरहेका छन्। गत सिजनको ए डिभिजन लिगमा २७ जना अफ्रिकी मुलका खेलाडीले विभागीय क्लबबाहेकका ११ वटा क्लबबाट फुटबल खेले। तीबाहेक मोफसलमा हुने प्रतियोगितामा अन्य अफ्रिकी खेलाडीले खेल्ने गरेका छन्। जसबारे एन्फा बेखबर झै छ। आयोजकहरुले पनि खेलाडीको आधिकारिकताको जानकारीबिना नै प्रतियोगितामा सहभागी हुन दिने गरेका छन्।

नेपालमा अफ्रिकी खेलाडी भित्र्याउने काम सुगन तण्डुकारले गर्छन्। द फुटबल एजेन्ट नामक उनको संस्थाले अफ्रिकी खेलाडीहरु भित्र्याउँदै आएको छ। ७० को दशकभन्दा अघि नेपाल आएका अफ्रिकी खेलाडीहरुलाई अनुवन्धन अवधि सकिएपछि जम्मा गरेर सुगनले नै अफ्रिकन युनाइटेड नामको क्लब बनाएर मोफसलमा प्रतियोगितामा सहभागी गराएर उपाधि समेत दिलाएका थिए। पछि त्यस क्लबलाई एन्फाले प्रतिबन्ध लगाएपछि अहिले अस्तित्वमा छैन।

सुगनकै पहलमा २०७५ सालमा धनगढीको खप्तड गोल्डकप प्रतियोगिताका लागि दाफिन्स नेपाल भित्रिएको थियो। सुरुवातको १/२ वटा प्रतियोगितामा फितलो देखिएको दाफिन्स पछि नेपाली राष्ट्रिय खेलाडीहरुका लागि समेत चुनौती बन्यो। फिजिकल रुपमा बलिया अफ्रिकी खेलाडीका कारण नेपाली राष्ट्रिय टोलीका धेरै जसो खेलाडीमा इन्जुरीको समस्या देखियो। नेपाली राष्ट्रिय टोलीका सदस्य भरत खवास अफ्रिकी खेलाडीहरु नेपाली फुटबलमा भित्रिनु सकारात्मक भए पनि स्तरीय खेल नहुँदा इन्जुरीको समस्या धेरै हुने बताउँछन्। ‘टेक्निकलभन्दा पनि बढी फिजिकल गेम खेल्छन्,’ उनले भने, ‘स्टामिनाको फाइदा उठाउँदै नेपाली खेलाडीमाथि हावी हुँदा राष्ट्रिय टोलीमा नै इन्जुरीको चुनौती थपिएको छ।’

अफ्रिकन रुट्सको मनोमानी, तनावमा आयोजक

अफ्रिकन रुट्स आहा रारा फाइनल खेले एक दिनपछि सर्लाहीमा सेमिफाइनल खेल्न चाहन्थ्यो। सोहीअनुसार बिहीबार पुलिससँग सेमिफाइनल जितेर हेटौंडाको पिप्ले युथ क्लबसँगको खेल्न सर्लाही हिँड्ने तरखर गर्दै थियो। तर, सहाराले आफ्नो जिम्मामा नेपाल आएको भन्दै टिमलाई सर्लाही जान रोक्यो। उक्त टिमलाई बस्नका लागि आयोजकले नर्थ फेस होटल व्यवस्था गरेको थियो। अफ्रिकन टिमको गतिविधि शंकास्पद लागेपछि निगरानीका लागि आयोजकले होटल सञ्चालकलाई समेत आग्रह गरेको थियो। तर, होटल सञ्चालकलाई चक्मा दिंदै अफ्रिकन रुट्सको ११ सदस्यीय टोली होटलबाट भागेर रातारात सर्लाही हिँडेको आयोजक साहारा क्लबको दाबी छ।

सर्लाहीको खेल सामाजिक सञ्जालमा लाइभ भएपछि मात्र साहराले अफ्रिकन रुट्स सर्लाही पुगेको थाहा पायो। आयोजक होटलमा पुग्दा त्यहाँ नौजना खेलाडी मात्र थिए। ‘उनीहरु सेमिफाइनल जित्ने बित्तिक्कै सर्लाहीमा खेल्न जान लागेका रहेछन्, हामी रोक्यौं,’ आयोजक समितिका सुर्दशन रञ्जितले भने, ‘उनीहरुलाई नेपाल ल्याउने सुगन (सगुन तण्डुकार)ले सर्लाहीको म्याच पोष्टपोण्ड गर्‍यौं भनेपछि हामी ढुक्क भयौं। तर, बिहान ३ बजे उनीहरु थाहै नपाई हिँडेछन्।’

आहा राराको फाइनल खेलको दिन बिहान ३ बजे उनीहरु होटल फर्किएका थिए। फिफाको नियमअनुसार कुनै पनि टिमले ४८ घण्टाको आरामपछि अर्को खेलमा सहभागी हुनुपर्ने हुन्छ। तर, अफ्रिकन रुट्सले फिफाका नियमको धज्जी उडाउँदै १२ घण्टा नबित्दै आहा राराको फाइनल खेल्यो। सर्लाहीमा पिप्लेसँग पराजित टिम आहाराराको फाइनल खेलमा संकटासँग स्तब्ध बन्यो।

एन्फा अध्यक्षकै परामर्शमा सहभागी !

अफ्रिकन रुट्सलाई नेपाल ल्याउने सुगन एन्फाको परामर्शमा सर्लाहीमा खेलेको बताउँछन्। ‘सर्लाहीबाट सहभागिताका लागि निम्तो आएपछि एन्फाको परामर्शमा प्रतियोगितामा सहभागी भएका हौं,’ उनले भने, ‘हामीले आहा रारा, विराट र मकवानपुर खेल्नका लागि स्वीकृती मागेका थियौं। सोहीअनुसार टिम नेपाल आएको हो। एन्फा अध्यक्ष कर्मा दाई (कर्माछिरिङ शेर्पा)ले राम्रो टिम छ भने सहभागीता जनाऊ भनेपछि हामीले सर्लाहीमा खेलेका हौं।’

सगुनले अफ्रिकन रुट्सलाई आहा राराका लागि मात्र नल्याएको बताए। उनले आगामी बैशाख ११ सम्म सञ्चालन हुने प्रतियोगितामा अफ्रिकी टिम सहभागी हुने बताए।

अन्तिम प्रतियोगिताको रुपमा वैशाख ४ सम्म विराट गोल्डकप खेल्ने र बैशाख ११ सम्म ती खेलाडीहरु स्वदेश फर्कने एन्फालाई जानकारी गराएको सगुनले बताए। यदि एन्फाले भिसाको मिति थपेर अन्य प्रतियोगितामा सहभागी गराउँछ भने उक्त टिमले खेल्ने र भिसा नदिए फर्किने उनको भनाइ छ। सुगनले भने, ‘यहाँबाट फर्किएपछि टिमका खेलाडीहरुले नेपालको क्लबबाट खेल्न प्रोसेस गर्छन् र त्यसपछि यहाँका क्लबबाट खेल्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.