|

बझाङ : बझाङमा बलात्कार तथा बलात्कार प्रयासका घटना बर्षेनी बढिरहेको पाइएको छ। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २३ वटा बलात्कारसँग सम्बन्धित घटना प्रहरीमा पुगेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष ०७६/७७ को तुलनामा दोब्बर हो।

आर्थिक वर्ष ०७६/७७ मा बलात्कार र बलात्कार प्रयासका १२ घटना प्रहरीमा दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जर्वजस्ती करणीका ९ वटा, जवरजस्ती करणी उद्योगका १० वटा, मानव बेचबिखन तथा जर्वजस्ती करणीको १ वटा, जर्वजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा, वैवाहिक बलत्कार एक घटना दर्ता भएका छन्।

अहिले सम्म बलात्कारको आरोप लागेका आठ जना पुर्पक्षको लागि कारागार चलान भएका छन्। घटनाका दुई जना प्रतिवादी फरार रहेकोले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। तीन जना जमानीमा छुटेका छन्। घटनामा संलग्न बालक भएकाले दुई जनालाई बाल सुधारगृहमा पठाइएको छ भने अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मष्टा गाउँपालिका–२ खिकाला कि १२ वर्षीया सम्झना कामीको बलात्कार पछि हत्या भएको थियो। सोही ठाउँकै १६ वर्षीया राजेन्द्र बोहोराले बलत्कार पछि हत्या गरेको आरोपमा सम्झनाका आफन्तले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी पश्चात प्रहरीले सोही दिन राति घरबाटै बोहोरालाई पक्राउ गरेको थियो।

कर्तव्य ज्यान तथा जर्वजस्ती करणी मुद्दा दर्ता गरेर असोज ३० गते राजेन्द्र बोहोरालाई बाल सुधार केन्द्र डोटीमा पठाइएको छ। बुङगल नगरपालिकाका–८ का ४४ वर्षीया एक पुरुषले १३ वर्षीया छोरीलाई जर्वजस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गर्यो।

बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा उनलाई फागुन २७ गते पक्राउ गरिएको थियो। फागुन २२ गते आरोपितलाई जर्वजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता भई जिल्ला अदालतको चैत २४ गतेको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जयपृथ्वी नगरपालिका–६ नौराका भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंहलाई आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। चैत १४ गते साँझ धारामा पानी लिन गएकी १४ वर्षीया बालिकालाई शिक्षक सिंहले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका आफन्तले चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।  उजुरीका आधारमा आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बलात्कार लगायतका जघन्य अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए। उनले भने, ‘हालसम्मको तथ्याङकलाई हेर्दा जिल्लामा भएका ८० प्रतिशत अपराधिक घटना नजिकैका आफन्तबाटै भएको देखिन्छ।

केहि घटनाहरू विभिन्न प्रलोभन, डर, धम्कीले गाँउ घरमै मिलाउने गरेका कारण पनि प्रहरी सम्म पुग्दैनन्।’ पछिल्लो समयमा यस्ता अपराधिक घटनालाई दबाउनु हुदैन भन्ने जनस्तरमा चेतना फैलिएकाले घटनाहरू प्रहरीमा पुग्ने गरेको उनको बुझाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.