नेताहरुको दाबी : प्रश्न उठाउने ठाउँ छैन

|

काठमाडौं : २०७७ साल सबैभन्दा धेरै राजनीतिक तरलताको वर्ष रह्यो। सत्ताधारी दलको किचलोका कारणले राजनीतिक अस्थिरताको भइरह्यो। सत्ताधारी दलको विवादका कारण भद्रगोल बनेको राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका देखाउन सकेन।

कांग्रेस नेताहरुले आफ्नो भूमिका संसद र बाहिर देखाएको दाबी गर्छन्। प्रतिपक्षी दल सरकारले गरेको नराम्रो कामको पहरेदारका रुपमा विरोधमा उत्रिन सक्नुपर्ने हो। तर, कांग्रेस आफै अल्मलिएर बस्यो। 

कम्युनिष्ट पार्टीको एकतापछि गणितीय हिसाबले प्रतिनिधिसभामा कांग्रेसको उपस्थिति कमजाेर बन्याे।  तर, प्रमुख प्रतिपक्षीको हिसाबले आफ्नो भूमिका निर्वाह गर्ने नसकेको भन्दै चौतर्फि आलोचना भइरह्यो। 

कांग्रेस साविकको नेकपा झैं पार्टीभित्रको आन्तरिक किचलोबाट बाहिर निस्कन सकेन। त्यसैले कम्युनिष्ट र लोकतान्त्रिक पार्टीको रुपमा जनताले फरक छुट्याउने ठाउँ भेटेनन्। त्यो वास्तविकता हो।

प्रतिपक्षमा रहेको बेलामा कांग्रेसले महाधिवेशनलाई तिव्रता दिएको थियो। तर, भावी सभापतिको दौडमा एक दर्जन नेताहरुको दौडधूप भएपछि महाधिवेशन बेलैमा सफल पार्न सकेन। सभापति शेरबहादुर देउवा पनि तत्कालै आफ्नो पद नछोड्न महाधिवेशन टार्ने खेलमा लागिरहे। 

बरिष्ठ नेता रामचन्द्र पौडेल पनि त्यो दौडबाट अछुतो रहेनन्। यता, पहिलेकै अवस्थामा झैं कांग्रेसमा कोइराला परिवार हावी हुन खोजिरह्यो। नेता कृष्णप्रसाद सिटौला समूहले पनि आफ्नो च्याँखे थापिरह्यो। सभापति देउवादेखि युवा नेता गगन थापासम्मले सभापति बन्ने आकांक्षा देखाएपछि देउवाले कुर्सी जोगाउने दबावमा महाधिवेशनलाई सक्दो पछि धकेल्ने प्रयासलाई निरन्तर राखे। 

विवादको भूमरिमा महाधिवेशन  

कांग्रेसले ०७७ फागुन ७ देखि १० गतेसम्मका लागि १४ औं महाधिवेशन तोकेको थियो। तर, पार्टीभित्रको विवाद र सदस्यता समायोजनको सकसको कारणले २०७८ भदौ दोस्रो साताका लागि तोकिएको छ। तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि तयारी तिव्र पारिरहेको नेतृ पुष्पा भुषाल बताउँछिन्। ​

उनले भनिन्, ‘हामी २०७७ सालमा महाधिवेशन र निर्वाचनको लागि संगठन बलियो बनाउन लागि पर्याैं। मुख्यगरी हाम्रो महाधिवेशनको बर्ष रह्यो। अर्को बर्ष हामीले तोकेको समयमा महाधिवेशन सम्पन्न हुन्छ।’

महाधिवेशन गर्नका लागि तिव्रता दिइरहेको भएपनि जिल्ला तहमा विवादको कारणले सदस्यता नवीकरण र समायोजनको काम सक्न अझै मुस्किल छ। 

कमजोर खबरदारी!

सरकारको गलत कामको खबरदारी गर्नुपर्ने कांग्रेस हरेक मुद्दामा कमजोर भइरह्यो। सरकारले प्रतिनिधि सभा विघटन गर्दा, संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा समेत दरिलो खुट्टा टेकेर खबरदारी गर्न सकेन। संसद पुनःस्थापनापछि ओलीको बहिर्गमनको लागि अझै कांग्रेसले खुलेर सक्रियता देखाउन सकेको छैन। 

संसद विघटन हुँदा त्यसको विरुद्ध सडकमा जान आनाकानी गरेका सभापति देउवा अदालतले संसद् पुनःस्थापना गर्दासमेत आफ्नो नेतृत्वको सरकार बनाउन रहर देखाएनन्। नेता पौडेल समूह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को दबावपछि देउवाले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गरे। 

तर, देउवाको प्रस्तावमा गठबन्धनको सरकार बनाउन निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले सहमति जनाएन। र, त्यो प्रयास पनि असफल भइदियो। 

सत्ता समीकरणको बिषयलाई लिएर सभापति देउवा र नेता पौडेलबीच सार्वजनिक कार्यक्रममा नै बाझाबाझ गरेको भिडियो भाइरल भइरहेको छ। त्यति मात्रै नभएर पार्टीको कार्यक्रममा उनीहरुले गर्ने भाषणसमेत प्रतिपक्षी दलको जस्तो आरोप–प्रत्यारोप र घोचपेचपूर्ण हुने गरेको छ। 

'जिम्मेवारी पूरा गरेका छौं'

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत कांग्रेसले प्रतिपक्षीको भूमिकाबाट आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गर्छन्। 

‘हामीले हाम्रो धेरै कुरा जनताको सम्म पुर्याउन सकेका छौँ। सत्तासीन दलहरुले जे जस्ता कुकृत्य गरे। उहाँहरुको कारण र देशको परिस्थितीको बारेमा आफ्नो कुराहरु बुझाउन सफल भयौँ’ उनले भने, ‘सत्ताधारी दलको कदमको कारणले आम जनताका लागि २०७७ निराशाजनक रह्यो। हामीले पार्टीको तर्फबाट त्यसलाई जनस्तरसम्म लैजान सफल भएका छौँ।’

आगामी साल कांग्रेस र जनताको लागि सफल हुने विश्वास उनको विश्वास छ। जनताको पक्षमा कांग्रेसले सक्दो काम गरेको उनी दाबी गर्छन्। 

उनले भने, ‘संसदमा संख्या कम भएकाले ठुलो स्वर हुने कुरा भएन। तर, जनताले अझै गर्न पर्थ्यो भन्ने आश राख्नु स्वभाविक हो। तर, पनि हामीले जे गरेका छौं। त्यसमा सन्तोष गर्ने ठाउँ छ। हामीले आगामी वर्षलाई त्योभन्दा सफल बनाउन लागिपर्ने छौँ।’

कोरोना नियन्त्रण र राहतको बिषयमा कांग्रेसले सरकारले भन्दा धेरै सहयोग गरेको उनले दाबी गरे।​

‘कोरोनाको बेलामा हाम्रो साथीहरुले आआफ्नै साधन स्रोत जुटाएर देशभर सरकारभन्दा धेरै क्रियाशिल भयौँ। सरकारी कोषमा समेत हामीले सहयोग गरेका छौँ। हाम्रो तर्फबाट हुने र सक्ने काम गरेका छौँ’ उनले भने।  

‘भूमिकामा प्रश्न उठाउने ठाउँ छैन’

कांग्रेस नेतृ पुष्पा भूसाल पनि आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरेको दाबी गर्छिन्।

प्रतिपक्षी दलले जनअपेक्षीत कामका लागि सरकारलाई खबरदारी गर्न नसकेको भन्ने गुनासो छ नी भन्ने प्रश्नमा उनले भनिन्, ‘हामीले भूमिका खेल्न नसकेको होइन। अझै बढी खेले हुन्थ्यो भन्ने हो। खेल्न नसकेको भन्ने त कुनै प्रमाण र तथ्यले पुष्टि गर्ने कुरा रहेन।’

प्रतिपक्षीको भूमिकामा रहँदा आफूहरुले पूर्णरुपमा भूमिका खेल्न नसकेको कुरामा उनी सहमत हुन्छिन्। 

‘भूमिका नै खेलेन भन्ने कुरामा चाहिँ स्वीकार गर्ने कुरा भएन। अझै बढि जनजीविका र संविधान कार्यान्वयनको बिषयमा प्रतिपक्ष दलको भूमिकाले सरकारलाई दबाव दिनुपर्छ भन्ने हो’ उनले भनिन्, ‘हरेक क्षेत्रमा भ्रष्टाचारको कुरा आइरहेको छ। कोरोना भाइरसको संक्रमणको कुरा छ। जनजीविकाको कुरा छ। हामीले आवाज उठाएका हौँ। त्यसमा सरकार जिम्मेवार नबनेको घटना छन्।’

प्रतिपक्षी दलले उठाएको कुरालाई सरकारले वेवास्ता गरेका कारणले आफूहरुको भूमिका नदेखिएको उनी तर्क गर्छिन्। 

‘सरकार प्रमुख संसद बैठकबाट भागि राख्नुभएको छ। प्रतिपक्षी दलबाट उठाएको कुरा पनि पूर्ण हुन्छन् भन्ने होइन। सरकारको कारणले नै अहिलेको परिस्थिती देखा परेको हो। सरकार गम्भिर नभएको कारणले प्रतिपक्षीको भूमिका खुम्चिएको देखिएको हो’ उनले भनिन्, ‘सरकार प्रमुखले प्रतिपक्षको एजेण्डाहरु नसुनेको कारणले यस्तो देखिएको हो। भूमिका नै निर्वाह गरेन भन्ने बिषयलाई हामीले स्वीकार गर्दैनौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.