'अध्यक्षज्यूको वक्तव्‍यबारे मलाई थाहा छैन'

|

गोरखा : गण्डकी प्रदेशमा १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्रले गत बुधबार सरकारबाट आफ्ना २ मन्त्रीलाई राजीनामा दिन लगाएर सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि हालसम्म समर्थन भने फिर्ता लिइसकेको भने छैन।

माओवादीले समर्थन फिर्ता लिइहाले पनि जनमोर्चाले कायमै राख्ने भएकाले गण्डकी प्रदेश सरकार नढल्ने कुरामा मुख्यमन्त्री गुरुङ ढुक्क देखिन्थे।

तर, वैशाख १ गते बुधबार (आज) जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ। त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो।

 त्यसमा हाम्रो समर्थन रहनेछ। तर, त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ’, भन्दै एक प्रेस विज्ञप्ति जारी गरे। केसीले उक्त प्रेस विज्ञप्ति जारी गरेसँगै यतिबेला गण्डकी प्रदेश सरकार संकटको घेराभित्र परेको देखिन्छ।

​तर, पार्टीका अध्यक्ष केसीले निकालेको प्रेस विज्ञप्तिपछि राजमोले अब गण्डकी प्रदेश सरकारमा कस्तो खेल खेल्छ? यस बिषयमा बुझ्नका लागि राजमोका संसदीय दलका नेता सांसद कृष्ण थापासँग कुराकानी गर्दा उनले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र प्रेस विज्ञप्तिबारे आफू अनभिज्ञ रहेको तर्क गरे।

थाहाखबरकर्मी अश्विन दानीले थापासँग गरेको कुराकानीको संक्षिप्तअंश :

राजमोले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भन्छन्, अब नयाँ सत्ता समीकरणको तयारी गर्नुभयो? के छ तपाईंहरूको रणनीति?

हैन, हजुर हामीलाई त यहाँ समर्थन कायम राख्ने भन्ने छ। फिर्ता लिएको सन्देश छैन त।

तर, तपाईंहरूको पार्टी अध्यक्षले प्रेस विज्ञप्ति निकाल्दै समर्थन फिर्ता गरेको भन्ने छ नि!

फिर्ता लिएको छैन, कसैले नयाँ सरकार बनाउने भयो भने त्यसलाई समर्थन गर्ने भन्ने कुरा वक्तव्यमा छ रे भन्ने सुनेँ। मैले त्यो पनि हेरेको छैन।

गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आयो भने समर्थन गर्ने निर्णय भएको हो?

खै ! हाम्रो संसदीय बैठकमा कहीँकतै निर्णय भएको छैन।

तर, पार्टी अध्यक्षले त त्यो निर्णय गरिसक्नुभयो नि?

मलाई त अध्यक्षज्यूले सम्पर्क गर्नुभएको छैन। समर्थन फिर्ता लिने भन्ने कुरा मलाई थाहा छैन, तपाईंहरूको जस्तै मिडियाले भनेको कुरा मैले सुनिरहेको छु।

अन्य दलसँग नयाँ सत्ता समीकरणको छलफल तपाईंहरूले गर्नुभएको छ कि छैन?

अन्य दलहरूसँग के कस्तो छ स्थिति भन्ने विषयमा सामान्य छलफल भएको छ तर सरकार बनाउने, गिराउने, अविश्वासको प्रस्ताव ल्याउने विषयमा त त्यस्तो कहीँ कतै छलफल भएको छैन।

राजमोलाई माओवादी र कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिएर समर्थन गर्न अफर आयो त्यही भएर समर्थन फिर्ता लिएको भन्ने हल्ला छ? के भन्नुहुन्छ?

अहिलेको वर्तमान सरकार र भविश्यमा बन्ने नयाँ सरकारमा हाम्रो सहभागिता हुने निर्णय छैन, सहभागिता हुँदैन। त्यसैले गर्दा हामीलाई कुनै पद चाहिँदैन।

अहिलेको सरकार ढालेर नयाँ सरकार बनाउने तपाईंहरूको छलफल भएको हो ?

पार्टीमा हामीलाई अहिलेसम्म त्यस्तो केही जानकारी भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.