महामारीमा नयाँ मुलुकसँग श्रम सम्झौता भएन

|

काठमाडौं : कोरोनामय २०७७ ले वैदेशिक रोजगारमा जान चाहने धेरैलाई असर गर्‍यो।

धेरैले पासपोर्ट बनाए, विभिन्न मेनपावर धाए, पहिलेजस्तो सञ्चारमाध्यममा विज्ञापनको कमी आउँदा त्यहीँ विज्ञापन हेरी म्यानपावरमा अन्तर्वार्ता दिनेको संख्या न्यून थियो। भिजिट भिसाबाट भए पनि रोजगारकै लागि विदेश जानेको कमी आएन।

कोरोना सुरु भएपछि रोजगारका लागि खाडी मुलुकको २ वटा राष्ट्रले मात्र नेपाली कामदार लगेका छन्। कतार र साउदीले केही संख्यामा नेपाली श्रमिक लगेका छन्। कुवेतले भिसा लागिसकेका घरेलु कामदार लगेको थियो। युएई, मलेसियालगायत नेपालीको लागि सबैभन्दा आकर्षक मानिएको कोरियाले पनि नेपाली कामदार लगेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि विभिन्न मुलुक जान सयौँको संख्यामा लामबद्ध युवा अहिले पनि देखिन्छन्। सहजै उनीहरू गएका छैनन्। महामारीको समयमा कम्पनीले समयमा तलब दिने वा नदिने त्यस्ता दुविधा छ उनीहरूमा।

कोरोनाले प्रभावित पारेपछि त्यसको सबैभन्दा बढी असर वैदेशिक रोजगारमा जानेलाई परेको छ। नेपालीका लागि मुख्य रोजगारको केन्द्र मानिएको खाडी मुलुकमा कामदारको संख्या घटेको छैन। करिब २५ लाख भन्दा बढी नेपाली कामदार विभिन्न मुलुकमा छन्।

यद्यपि महामारीको बाबजुदमा पनि विदेश जानेको संख्यामा कमी भएन। विगत वर्षझैं यसपटक नेपाली कामदार विदेश जान सकेनन्। चार गुणाले विदेश जानेको संख्यामा कमी आएको छ। करिब ४९ हजारले नेपाल छोडेका छन्।

अघिल्लो आर्थिक वर्षमा त्यहीँ करिब ९४ हजार विभिन्न रोजगार मुलुक गएका थिए। २०७७ वैदेशिक रोजगारको लागि सुखद् भएन, तर अब २०७८ कस्तो होला भन्ने जिज्ञासा पलाउन थालेको छ। विदेश कामदार पठाउन कोभिडको अवस्था कस्तो हुने त्यसमा निर्भर रहने सरकारले वैदेशिक रोजगारका लागि विभिन्न कामदार पठाउन वार्ता गरे केही राहत हुने व्यवसायीले बताउन थालेका छन्।

'सरकारले कामदार पठाउन श्रम सम्झौता भएको मुलुकसँग वार्ता थालोस्'

सरकारको तर्फबाट कोरोना महामारी यथावत रहेको अवस्थामा रोजगार सम्झौता भएका मुलुकसँग कसरी नेपाली कामदार पठाउन सकिन्छ त्यस विषयमा छलफल गर्न अग्रसरता लिनुपर्ने वैदेशिक रोजगार व्यवसायिक महासंघका अध्यक्ष विष्णु गैरे बताउँछन्। उनले युएई जस्ता मुलुकले अन्य मुलुकका कामदार लान थालिसकेका निकट भविष्यमा नेपाली कामदारको कोटा गुम्न सक्ने आशंका व्यक्त गरे।

'सरकारले खाडी मुलुकमा भिजिट भिसामा गइरहेका नेपालीलाई रोक्नुपर्छ,' गैरे भन्छन,' सबै नेपाली भ्रमणका लागि मात्र गएका छैनन्।  भिजिट भिसामा गई बसेकाले सस्तो पारिश्रमिकमा काम गर्न थाल्दा कोटा आउन छाडेको छ।' उतै बसेकाले काम गर्ने हो भने नेपालीका लागि आउने कोटा कटौती हुने सम्भावना बढेर गएको उनको भनाइ छ।

महामारीको समयमा व्यवसायीले धरौटीमा राखेको रकमसमेत फिर्ता नदिएकोमा गैरेले गुनासो गरे। धरौटी रकम पाएको वैदेशिक रोजगारको बजारलाई फरक तरिकाले प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ।

जुन-जुन मुलुकले कामदार लान छोडे त्यस देशसँग तत्कालै वार्ता गरी कामदार लाने प्रक्रिया अगाडि बढाउन गैरेले आग्रह गरेका छन्। कोभिड परीक्षण गरेर र रोजगारदाताले क्वारेन्टाइनको व्यवस्था गर्नेगरी कामदार लान सम्झौता गर्नुपर्ने उनले धारणा राखे।

अहिले भएका देशले कामदार लान छोडेमा नयाँ गन्तव्य मुलुक खोज्न सरकारसँग उनले माग गरे। संकटको समयमा गन्तव्य मुलुकको खोजी गरेमा यसले दिगो रुपमा नेपाली कामदार पठाउन सकिने उनको भनाइ छ।

नयाँ मुलुकसँग श्रम सम्झौता भएन

नेपाल र नेपालीको लागि वैदेशिक रोजगार कस्तो हुने त्यसको लागि कोभिड संक्रमणको दर कस्तो हुने त्यसमा निर्भर हुने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रवक्ता छत्र बहादुर शाह बताउँछन्। २०७७ को वर्ष वैदेशिक रोजगारमा जानेहरू पर्याप्त मात्रामा श्रमका लागि नआएको उनले जानकारी दिए।

'अधिकांश विदेशबाट छुट्टीमा आएका कामदारहरू नै पुनः श्रमका लागि आएका थिए,' प्रवक्ता शाहले सुनाउँछन्, 'नयाँ श्रमका लागि एकदमै थोरै आए। साउदी र कतारका लागि श्रम भएको थियो।' सरकारले रोजगारका लागि यस अवधिमा नयाँ गन्तव्य मुलुक पनि नखोजेको उनले जानकारी दिए। पहिले जति मुलुकमा श्रम सम्झौता गरेको थियो, अहिले पनि त्यति मुलुकसँगै श्रम सम्झौता कायम छ। कुनै पनि मुलुकसँग थपघट श्रम सम्झौता भएको छैन।

उनका अनुसार हालसम्म संस्थागत रुपमा १ सय १० मुलुकसँग रोजगारको लागि सम्झौता गरिएको छ। व्यक्तिगत तवरबाट १ सय ६२ वटा मुलुकबाट विभिन्न भिसा प्राप्त गरी श्रम स्वीकृति गरि पठाइन्छ। यसपटक अन्य समयभन्दा पनि कम श्रम भएको उनको भनाइ छ।

नेपालीहरु बढी जाने मलेसियाबाहेक खाडी मुलुकको रुपमा छ। कतार, साउदी अरब, युएई, बहराइन,ओमन, कुवेत तथा जोर्डन जस्ता मुलुकमा नेपाली कामदार गइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.