|

म्याग्दी : गत दुई वर्षयता म्याग्दीमा कृषि र पशुपालनको लहर चलेको छ। वैदेशिक रोजगारबाट फर्केका युवाहरू राहदानी (पासपोर्ट) थन्क्याएर खेती र पशुपालनतर्फ लागेका छन्। स्वदेशमा स-सानो रोजगारमा अल्झेका युवाहरू पनि तरकारी खेती र पशुपालन व्यवसायप्रति आकर्षित भइरहेका छन्‌।

तीनै तहका सरकारले कृषिलाई विशेष प्राथमिकता दिएर अनुदान सहयोग समेत उपलब्ध गराउन थालेपछि कृषिप्रति आकर्षण बढेको हो। गत वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण यसप्रति आकर्षण झन्‌ बढ्दै गएको छ।

अहिले म्याग्दीमा व्यवसायिक रूपमा तरकारी र फलफूल खेतीका साथै पशुपालन गर्ने कृषकहरूको संख्या विगत दुई वर्ष अघिको तुलनामा ७० प्रतिशतले वृद्धि भएको स्थानीय तहका कृषि शाखाले तयार पारेका तथ्यांक हेर्दा थाहा लाग्छ।

तरकारी खेती र पशुपालन गर्न थालेपछि आफ्नो हात कहिल्यै पनि रित्तो नभएको यस क्षेत्रमा लागेका किसानहरूले बताएका छन्। पहिला पहिला दुई/चार हजार रुपैयाँका लागि ऋण माग्न जानुपर्ने अवस्थाका कृषकहरूले अहिले भने मासिक २० देखि ४५ हजार रुपैयाँसम्म कमाइ गर्न थालेका स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन्‌।

म्याग्दीको रघुगंगा गाउँपालिका-६, ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बेचेर मात्रै करिब २ लाख रुपैयाँजति कमाइन्। बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोपेकी छन्त्यातले थोरै रोपे पनि राम्रो भाउ आएकाले फाइदा नै भएको बताइन्‌। 

'आलु बेच्न यसपटक बजार पुग्नु परेन, ग्राहकले घरमै आएर लगे, थोरै आलु रोपेपनि राम्रो मूल्यमा बेच्न पाएकाले सन्तुष्ट छु,' छन्त्यालले भनिन्‌।

​म्याग्दीको उपल्लो भेगमा अहिले हिउँदे आलु खनेर धमाधम बेच्ने समय हो। यो वर्ष आलुको बीउको मूल्य आकासिएकाले बीउ अभावमा थोरै रोपे पनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसानहरू खुसी छन्।

कृषि कर्मबाट नै मनग्य आम्दानी हुन थालेपछि म्याग्दीका धेरै किसानहरू अहिले खेतीपातीको काममा नै हौसिएका छन्। दुई वर्ष अघिसम्म आयातित तरकारीको भरमा रहेको म्याग्दी जिल्ला अहिले यसमा आत्मनिर्भर बन्दैछ।

कोरोना भाइरस महामारीका कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलु लगायतका तरकारीले राम्रो भाउ पाएको किसानहरूले बताएका छन्।

कात्तिकको अन्तिमतिर रोपेको हिउँदे आलु यतिखेर खनिन्छ। म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष ५ करोड भन्दा बढी आम्दानी हुने कृषकहरूको भनाइ रहेको छ। म्याग्दीका किसानहरूले तरकारी बिक्री गरेर वार्षिक ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका स्थानीय तहहरूको कृषि अभिलेखबाट थाहा हुन आउँछ।

दूधबाट पनि आकर्षक आम्दानी

तरकारीपछि म्याग्दीका किसानहरू च्याउ खेती, भैंसी र बाख्रापालनप्रति आकर्षित भएका छन्।

दुई दशक पहिले गाउँघरमा दूध बिक्न मुस्किल हुने म्याग्दीमा अहिले भने खोसाखोस नै हुने गरेको छ। जब शहर-बजारमा झैं दूध बिक्न थाल्यो : किसानहरूले दूधबाट आम्दानी लिन थाले। 


गोलभेँडा खेती।

मंगला गाउँपालिका-२ का धर्मराज पौडेलले दुध बिक्री गरेर मासिक ८५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानहरूले पछिल्लो समय दुध बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

च्याउ खेतीबाट नसोचेको आर्थिक लाभ

यहाँका किसानहरूले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन्। म्याग्दीको बेनी नगरपालिका-४, सिंगा राक्से, मालिका गाउँपालिका-७, बिम,बेनी नगरपालिका-२, ज्यामरुककोट लगायतका गाउँहरूमा व्यवसायिक रूपमा च्याउ खेती शुरू गरिएको छ।

बेनी नगरपालिका ४ राक्सेका महिलाहरू व्यवसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्।

परम्परागत रूपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरूले शुरू गरेको च्याउ खेतीले अहिले व्यवसायिक रूप लिएको छ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत ३ वर्षदेखि च्याउ खेतीमा लागेका मैना खत्री र गीता कार्कीले वार्षिक ४ लाख रुपैयाँसम्म कमाउन थाले। उनीहरूको सिको गर्दै गाउँमा अहिले च्याउ खेती गर्ने लहर नै चलेको छ।

च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा ६५ लाख रुपैयाँ हाराहारीमा आम्दानी भएको यसमा लागेका कृषकहरूले बताएका छन्।

बाख्रापालन गर्दा विदेशी मुद्रा बिर्साउने कमाइ 

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवाहरू पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन्। जसको ज्वलन्त उदाहरण हुन् : बेनी नगरपालिका-२, खबराका कर्णबहादुर खड्का।

जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयास गर्दा ८० लाख रुपैयाँ गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालन व्यवसाय शुरू गरेका छन्।

४ वर्ष साउदी, ३ वर्ष इराक र २ वर्ष कतार गरी ९ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने लोभमा स्वाहा भएपछि गाउँमै थालेको बाख्रापालन व्यवसायमा खड्का रमाएका हुन्।

थप तस्वीरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.