|

लमजुङ : पूर्वी लमजुङको राइनास नगरपालिका वडा नं. ५, तिनपिप्ले विरौटोलका स्थानीयबासी हलेदो र अदुवाको खेतीतर्फ सामूहिक रूपमा जुटेका छन्। 

प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आवद्ध स्थानीय सामूहिक हलेदो तथा अदुवा खेतीतर्फ जुटेका हुन्। समूहमा आवद्ध २५ जना संगठित भएर सामूहिक हलेदो र अदुवा खेती शुरू गरेका हुन्‌।

​उनीहरूले करिव ५० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती शुरू गरेका हुन्। स्थानीय नगरपालिकाको सहयोगमा सामूहिक खेतीतर्फ आकर्षित बनेका स्थानीयले करिव ४० रोपनी जग्गामा हलेदो खेती, ५ रोपनीमा अदुवा खेती थालेका छन्।

अहिले करिव २० रोपनी जग्गामा हलेदो लगाउने काम सकिएको र बाँकी जग्गामा पनि हलेदो र अदुवा लगाउने काम जारी रहेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका उपाध्यक्ष रामशाली नेपालीले बताए। 

५ रोपनी जग्गामा भने समूहका एक सदस्यले हलेदो खेती शुरू गरेका छन्। ५ रोपनीमा समूहका सदस्य दलबहादुर अछामीले व्यक्तिगत रूपमा हलेदो खेती शुरू गरेका हुन्। प्रगतिशील दलित बहुउद्देश्यीय कृषक समूहमा हाल १ सय १५ जना आवद्ध छन् भने सामूहिक खेतीमा हाल समूहका २५ जना मात्र आवद्ध रहेका कृषक समूहका अध्यक्ष शंकरबहादुर नेपालीले बताए। उनका अनुसार सामूहिक खेतीमा पुरुषहरूका भन्दा महिलाहरूको सहभागिता बढी रहेको छ।

सामूहिक खेतीका लागि राइनास नगरपालिकाले मसला बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत अदुवा तथा हलेदोको बीउ, अनुदानमा कृषि औजार वितरण कार्यक्रम अन्तर्गत हातेट्याक्टर र अन्य कृषि औजार सहयोग गरेको नगरपालिकाले जनाएको छ।

समूहलाई नगरपालिकाबाट करिव ८ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएसँगै समूहमा आवद्ध स्थानीयहरू सामूहिक खेतीतर्फ उत्साहित बनेको समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताए। 

दलित समुदायका व्यक्तिहरूको बसोवास बढी रहेको विरौटाटोलमा महिला शसक्तीकरण, टोल सुधार तथा समाजिक कार्य गर्ने उद्धेश्यले शुरूमा महिलाहरू संगठित भएर करिव ५ वर्ष अघि आमा समूह गठन भएको थियो। आमा समूहलाई विस्तार गर्दै महिला-पुरुष दुवैको सहभागिता रहने गरी २०७५ सालमा प्रगतिशील दलित बहुउद्देश्यीय कृषक समूहको रूपमा दर्ता गरिएको हो। 

हाल समूहमा गैह्र दलितलाई समेत समावेश गरिएको छ। आगामी दिनमा समूहमा आवद्ध हुने चाहने स्थानीयलाई संगठित गर्दै अघि बढ्ने तथा सदस्यहरूको क्षमता वृद्धिका कार्यक्रमलाई पहिलो प्रथामिकता दिने समूहको मुख्य उद्धेश्य रहेको सल्लाहकार नेपालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.