|

धनकुटा : नेपालले आफ्नै विक्रम सम्वत्‌ अवलम्बन गरेको २०७८ वर्ष पुगेको छ। नयाँ वर्षका अवसरमा नेपाली समुदायका नागरिकहरू खानपिन र घुमघाममा रूचि राख्छन्‌।

यो विशेष दिनलाई रमाइलो, रोचक र अवस्मरणीय बनाउन धेरैको रोजाइमा घुमघाम मुख्य प्राथमिकतामा पर्छ। त्यसैले पनि प्रदेश १ का विभिन्न पर्यटकीय स्थलहरू नयाँ वर्षको दिन धेरैको गन्तव्यमा परे।

घुम्न जानेहरूको लागि प्रदेश १ का पर्यटकीय स्थलहरू गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), धनकुटाको भेडेटार, सुनसरीको कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीकै तालतलैया, बराहक्षेत्र–विजयपुर र इलामको कन्याममा पर्यटक पुगे। तीमध्ये पनि गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) पर्यटकहरूको अत्याधिक रोजाइमा पर्‍यो।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ। यस क्षेत्रमा विश्वमा पाइने ४२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन्‌। त्यसैले, गुराँस फुल्ने मौसममा पर्ने नयाँ वर्षमा यस क्षेत्रमा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

गत वर्ष कोरोना कहरका कारण सरकारले गरेको लकडाउनले सुनसान बनेको यो क्षेत्रमा यस पटकको नयाँ वर्षमा अत्याधिक मात्रामा पर्यटकहरू आएका छन्‌। चैत महिनाको मध्यदेखि बैशाख महिनासम्म टीएमजे भ्रमण उपयुक्त मानिन्छ। किनकी, त्यस बेला ढकमक्क फुल्ने गुराँसले टीएमजे दुलहीझैं सजिएको हुन्छ।

वसन्त ऋतुको आगमनसँगै रंगीचंगी गुराँसले सबैको मन आनन्दित बनाउँछ। तेह्रथुम वसन्तपुरबाट शुरू हुने टीएमजे घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँ-बायाँतर्फ गुराँस देखिन्छ।

पद मार्गमै भेटिने लामपोखरी र गुफापोखरीलगायत साना–ठूला पोखरी थप आकर्षण हुन्‌। तर, यसवर्ष भने तीनजुरेको उत्तरी क्षेत्र मंगलबारे, गुफा, सुके र जोरपोखरीतिर मात्रै गुराँस फुलेको छ। सधैँका वर्ष वसन्तपुरबाट नै गुराँस फूलेको देख्न पाइने गरेपनि यो वर्ष भने कम मात्रामा पानी परेकाले तीनजुरेको तल्लो क्षेत्रमा गुराँस नफुलेको तेह्रथुमको वसन्तपुरका छिरिङ लामाले बताए।

‘गुराँस फूल्नु मात्रै यहाँको विशेषता भने होइन,’ उनले भने ‘यो क्षेत्रमा नयाँ वर्षमा मौसम सफा हुने ताप्लेजुङ तर्फको कञ्चनजङ्घा, कुम्भकर्ण तथा संखुवासभा तर्फको मकालु र चाम्लाङको दृश्यावलोकन गर्न पाइने पनि अर्को विशेषता हो।’ मुख्यगरी पर्यटकहरू भने नयाँ वर्षको बेलामा गुराँस ढकमक्क फूल्ने भएकोले नयाँ वर्षमा रमाउने बढी मात्रामा आउने गरेको लामाले बताए।

गुराँसमात्रै नभएर वनै सेताम्मे पारेर फुलेका चाँपलगायत फुलले यस क्षेत्रको थप सौन्दर्य बढाएको छ। यस क्षेत्रबाट ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्न पाउने भएकाले पनि मानिसहरू यहाँ आउने गर्दछन्‌। यहाँ रहेका  चौकी बजार, मंगलबारे बजार, मेन्छ्याम डाँडा, गुफा पोखरी पनि पर्यटकका आकर्षण हुन।

टीएमजेमा नयाँ वर्षमा कति पर्यटक आए भन्ने तथ्यांक भने कोहीसँग रहेको छैन। यस क्षेत्रमा विदेशी पर्यटक छिटफुट मात्र पुगे पनि आन्तरिक पर्यटक नयाँ वर्षमा बढी पुगेका छन्‌।

नयाँ वर्षमा प्रदेश १ का सबै जिल्लाबाट पर्यटक आउने गरेको र यो वर्ष पनि करिब २५ हजार भन्दा बढी पर्यटक आएको स्थानीय मोहन लिम्बूको दाबी छ। उनले सडक साँगुरो भएकाले पर्यटकलाई सडक जामले हैरान बनाएको बताए। लिम्बूले सडक जामका कारण कतिपय पर्यटक पाथीभरा मन्दिर नजिकैबाट फर्किएको बताए। धेरैले गुफापोखरी हिँडेको तर, बीच बाटोबाटै फर्किनु परेको गुनासो गरेको जानकारी दिए। 

टीएमजेमा सुनसरीबाट एक हजार बढी घुम्न आएको इनरुवाका रमेश पोख्रेलले बताए। उनले भने, ‘बाटोमा तीनजुरे हिँडेको भन्ने त ४०/४५ वटा गाडी भेटेका थियौँ, सुनसरी, झापा र मोरङबाट पनि उत्तिकै संख्यामा घुम्न आएका छन्‌।’ 

संखुवासभाबाट टीमएमजे पुगेका किरण खनालले मनमोहक पाएको बताए। उनले भने, ‘पहिले पनि आएको हो, तर यो वर्ष धेरै कम मात्रामा गुराँस फूलेको रहेछ।’

उनले नयाँ वर्षमा मात्रै नभएर टीमएमजेमा पर्यटक आइरहने भएपनि सरकारले विकासको कामलाई ध्यान नदिएको जस्तो लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.