|

काठमाडौं : उपत्यकासहित देशका बिभिन्न स्थानबाट चोरी भएका २६ वटा मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीको जिम्मा लगाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बरामद गरी सम्बन्धित धनीको जिम्मा लगाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराईले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीको जिम्मा लगाइएको जानकारी दिए।

बिहीबार महाशाखाका आयोजित एक कार्यक्रम आयोजना गरी भट्टराईले उक्त मोटरसाइकलहरू हस्तान्त्रण गरेका हुन्। महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइरहेको भट्टराईले बताए।

‘अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ’ उनले भने,‘ चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने गरेको पाइएको छ।’

सवारी धनीले सावधानी नअपनाउँदा सवारी चोरी भइरहेको भन्दै भट्टराईले सम्बन्धित सवारी धनी एवम् चालक स्वयम् जिम्मेवार भई पार्किङ गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरू प्रयोग गर्नुपर्ने सुझाव दिए। ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरू बरामद गर्दछ।

यस्तै चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि विभिन्न प्रहरी बृत्तहरूमा पठाउने गर्दछ। महाशाखाले चालु आर्थिक वर्षको हाल सम्म मात्रै हराएका तीन सय ५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.