महामारीले दपेट्दै, तर आशालाग्दो बजार

|

काठमाडौं : केही समययता नेपालमा साहित्यिक महोत्सवको लर्को लागेको छ।

जनकपुर साहित्य महोत्सवदेखि कर्णाली महोत्सवसम्म हेर्दा नेपालमा साहित्यिक गतिविधि चलायमान भएको देखिन्छ। पुस्तक पढ्ने जमातपनि उल्लेख्य बढेको भन्ने 'हौवा' पनि फैलाउने गरिएको छ। तर, पुस्तक पढ्नेको संख्याबारे एकीन तथ्यांक भने कसैसँग छैन।

तर, पहिलेको तुलनामा भने अहिले पुस्तकबारे भइरहेका परामर्श तथा बहसले साहित्यिक गतिविधि भने तीव्र गतिमा हुने गरेको छ। पुस्तक सार्वजनिक गर्न नयाँ-नयाँ प्रयोग भइरहेका छन्। नयाँ पुस्तालाई आकर्षित गर्न विभिन्न तौर तरिकाहरू पनि अपनाउने गरिएको छ।

कोरोना महामारीले दपेटेपनि २०७७ साल साहित्यमय नै देखियो। संकटका बाबजुद पनि भर्चुअल तथा सार्वजनिक समारोहमा साहित्यका विविध आयामबारे छलफल भए।

छलफल अनुसार पुस्तक बिक्री भने नभएको किताब यात्राका अध्यक्ष ऋषिराज अधिकारी बताउँछन्। ०७७ पुस्तक व्यापार मिश्रित रहेको उनको बुझाई छ।

'लकडाउनले ४-५ महिना बजार बन्द भयो, यो अवधिमा स्वास्थ्य मापदण्ड अपनाएर पुस्तक बिक्री गर्न पनि सकिएन,' उनले सुनाए, 'पुस्तकको व्यापक व्यापार हुने भनेको दशैँ तिहारमा हो, तर यो पाली उत्साहजनक हुन सकेन।'

अनलाइनमार्फत पुस्तक व्यापार गर्ने अवधारणा लागू भएसँगै अब आफूलाई मन परेका पुस्तकहरू किन्न पुस्तक पसल नै धाउनुपर्ने अवस्था छैन। उपत्यका लगायत विभिन्न क्षेत्रमा अनलाइनबाटै अर्डर गरेर पनि पुस्तक पढ्न सकिन्छ। यस हिसाबले पाठकलाई सुविधा बढिरहेको छ।

कोरोनाका कारण अनलाइन व्यापार बढेको हो कि भन्ने आम बुझाई छ। ​

दशैँमा पुस्तकप्रति उत्साह देखिएन

अघिल्लो वर्ष ५ महिनासम्म नयाँ पुस्तक सार्वजनिक भएनन्। त्यसपछि बल्ल केही पुस्तक निस्किए। तर, कोरोनाले पाठकको क्रयशक्तिलाई असर पारिदियो। जसले गर्दा दशैँमा पनि  व्यापार उत्साहजनक हुन सकेन्।

अधिकारीले भने, 'त्यसपछिका दिनमा पुस्तकहरू सार्वजनिक भए, केही व्यापार भयो, पुन: माघदेखि चैतसम्म साहित्यिक पुस्तक किन्ने चाप घट्यो।'

पाठक बढे भन्ने हल्ला मिथ्या रहेको अधिकारी बताउँछन्।

'मानौं कि अघिल्लो वर्ष ५० हजार किताब बिक्री भएको थियो। यो वर्ष ५० हजार मात्रै पुस्तक बिक्री भए। यदी पाठक बढेका हुन् भने अघिल्लो वर्षको अनुपातभन्दा बढी हुनुपर्ने हो, तर यसो हुन सकेको छैन।' नयाँ पाठक जन्माउन नसकेको उनले सुनाए।

'झन्‌ कोरोनाले पढ्ने पाठक घटाएको छ,' उनले थपे।

उनले यो वर्ष १६ देखि ५० सम्मका उमेर समूहका व्यक्तिलाई सबैभन्दा बढी पुस्तक बेचेका छन्। उनीहरूको रोजाइमा आख्यान र गैर-आख्यान बढी रहेको छ।

०७७ भन्दा ०७८ मा केही सुधार होला कि

०७७ बुक-हिल पब्लिकेशन प्रालिले सातवटा नयाँ कृति सार्वजनिक गरेको थियो। यो प्रकाशन गृहले बितेको वर्ष बजारमा आएका केही पुस्तकलाई पनि पुन:मुद्रण गरेको छ।

यसबीचमा अनुवादित पुस्तक पनि प्रकाशन गरेको बुक-हिलका लागि यो वर्षपनि खास उत्साहजनक हुन नसकेको प्रकाशक भुपेन्द्र खड्काले बताए।

'कोरोनाले उत्पन्न संकटका कारण समग्र २०७७ साल साहित्यिक बजार व्यापारिक हिसाबले असफल वर्ष भयो, २०७७ सालभर साहित्यिक बजार व्यवसाय खस्कियो। त्यो भन्दा अघि तत्कालीन अर्थमन्त्रीले पुस्तकमाथि कर थुपार्ने काम गरे,' खड्काले थपे, 'जसले गर्दा साहित्यिक बजार शून्यप्राय: हुन पुग्यो, कर थुपारेपछि नेपालमा नयाँ पुस्तक आयात भएनन्। पुस्तक पसलहरू नयाँ पुस्तकविहीन भए। त्यसपछि कोरोनाले थप निरन्तरता दियो। जसले गर्दा बजार ठप्पजस्तो देखियो'

२०७८ सालमा पनि पुस्तक बजार कस्तो हुने भन्ने कोरोना महामारीमै  निर्भर रहने उनले बताए। ७८ मा बुकहीलले करिब २ दर्जन पुस्तक निकाल्ने योजना बनाएको छ। जसमा आख्यान, गैर-आख्यान,संस्मरण र अनुवाद कृति रहनेछन्।

यी पुस्तकहरूमध्ये आधाउधी नयाँ लेखकका हुने उनले जानकारी दिए। साथै, अब युकेस्थित 'बुक-हिल इन्टरनेशनल' बाट पनि प्रकाशन थाल्ने खड्काले योजना छ। उनले भने, 'नेपाली पुस्तक पनि अंग्रेजीमा अनुवाद गर्ने हेतुले यो काम कोरोनाको स्थिति हेरेर  हामी गर्दैछौं। आशा छ-यो वर्ष केही सुधार होला।'

कोरोनाले पुस्तक प्रकाशनमा कुनै असर गरेन

अघिल्लो वर्ष सम्भवत: सबैभन्दा बढी पुस्तक निकाल्ने प्रकाशन गृहमध्ये एक हो शिखा बुक्स। सो वर्ष शिखाले करिब ४४ वटा पुस्तक बजारमा ल्यायो।

यही प्रकाशन गृहबाट निस्केको चन्द्रप्रकाश बानियाँको 'महारानी'ले मदन पुरस्कार जितेपछि कोरोना संकटमा केही राहत भएको प्रकाशक पुष्पराज पौडेलले बताए। यो वर्ष शिखाका लागि उत्साहित बनाउने वर्ष रहेको उनले आशा गरेका छन्‌।

उनी प्रकाशन सँगसँगै पुस्तक पसलहरू संचालन गर्छन्। यो वर्ष उनले आख्यान, गैर-आख्यान, स्वास्थ्य र जीवनमा उत्प्रेरित गर्ने पुस्तकहरू किनेका छन्। अहिलेका पाठकहरूले सफलताका पुस्तकहरू किनेको उनले बताए।

अहिले पाठकहरू पुस्तक किन्न सुविधा रहेपनि आम्दानीका स्रोतहरू कम हुनाले अहिले व्यापार घटेको उनले सुनाए। पाठकहरू स्थिर रहेपनि पुस्तक प्रकाशनमा तिव्रता भने बढेको छ।

जोखिम मोलेर नै पुस्तक प्रकाशनमा हानथाप किन त?

'७७ जस्तै ७८ मा पनि पुस्तक प्रकाशन गरिने पक्कापक्की छ। पुस्तक प्रकाशन आक्रमक छैन। यो ७६ जस्तै ७७ हो। ७७ मा जस्तै ७८ मा पुस्तक निकाल्ने हो। किनभने मेरो व्यवसाय नै यहि भएकाले मैले अरू सोचेको पनि छैन,' उनले भने, 'तीव्रता भनेपनि सुस्तता भनेपनि यो पुस्तक व्यवसायको निरन्तरतामात्र हो।'

पुस्तक व्यवसाय पनि संचालन गरिरहेका पौडेलले पुस्तक किन्नेहरूको उमेर अनुपात अनुसार पनि फरक रहेको बताए।

१६ देखि ३५ वर्ष उमेर समूहकाले प्रेमिल र सफलताका ‍पुस्तकहरू अधिक रुचाएका छन्। आफ्नो करियरको कुरा पनि रहेकाले जीवनोपयोगी किताबहरू उनीहरूको रोजाइमा छन्।

३५ देखि ५० वर्ष उमेर समूहकाले आख्यान, गैर-आख्यान र संस्मरण रुचाएका छन्। ५१ वर्षभन्दा माथिका पाठकहरूले धार्मिक खालका पुस्तकमा बढी रुचाएका उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.