|

कञ्चनपुर : कृष्णपुर नगरपालिका-३ बडबैका टोलका बासिन्दाले वर्षात सुरु हुन अगावै वनहरा नदीमा जैविक तटबन्ध गरेका छन्। वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन्।

तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान गरेका छन्। चालु आर्थिक वर्षमा बडबैका टोलका बासिन्दाले नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत १० लाख रुपैयाँ लागतमा करिब ६०० तटबन्ध निर्माण गरेका छन्।

नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ। त्यसैले आगामी वर्षायाममा सम्भावित जोखिम रहेको क्षेत्रमा बाँसको जाली बुनेर तटबन्ध गरेका हुन्। यो कार्य निरन्तर दुई वर्षदेखि जारी रहेको जनजागरण सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष आशाराम वडायकले बताए।

‘नदीले जग्गा कटान गर्दा टोलका ३५ परिवारको उठिवास भएको थियो‚’ उनले भने, ‘त्यस बेला आएको ठूलो बाढीले जग्गामात्रै बगाएन‚ धेरैको घर समेत बगायो।’

नदी नियन्त्रणका लागि थुप्रै निकायमा धाउँदा पनि सकैले नसुनेको स्थानीयको गुनासो छ। रेडक्रसले सहयोग गर्ने तत्परता देखाएपछि नगरपालिकाले समेत सहयोगका हात अगाडि बढाएको छ।

नदी दुई बिघा जग्गा बगाएको स्मरण गर्दै सुखिना रानाले भनिन्‚ ‘नदीमा भरपर्दो तटबन्ध नहुँदा जग्गा जोगाउन सकिएन। जैविक तटबन्ध निर्माणको तरिका थाहा थिएन। हाल थोरै लगानीको जैविक तटबन्धले बस्तीनै जोगिएको छ। यसमै खुसी छौं।’

२०६४ असोज ४ मा लगातार चार दिन परेको ठूलो पानीका कारण नदीमा आएको बाढीले बडबैका टोलमा ठूलो क्षति पुर्‍याएको थियो। नदीले जग्गा, घर बगाउन थालेपछि यस क्षेत्रका बासिन्दाले बस्ती छाडेर नजिकैको सामुदायिक वनमा आश्रय लिएका थिए।

वर्षा रोकिएसँगै नदीको सतह घटेपछि घर फर्किंदा घर जग्गा नदीले लगिसकेको फूलदेवी रानाले बताइन्। त्यो त्रासदी कहिल्यै नबिर्सने खालको रहेको उनले बताइन्।

‘बडबैका टोलका अधिकांश बासिन्दाको घर नदी छेउमै हुँदा अधिक क्षति भयो‚’ उनले भनिन्‚ ‘नदीले कटान गरेपछि पहिलाजस्तो प्रसस्त जग्गा नभए पनि घर जोगाउनकै लागि जैविक तटबन्ध निर्माणमा जोड दिँदै आएका छौं।’

नदी किनारामा घाँस रोप्दा भूक्षय पनि रोकिएको स्थानीयहरू बताउँछन्। तटबन्ध निर्माणका लागि सामूहिक श्रमदान गर्ने कार्यले सामूहिक भावनाको समेत विकास भएको तारा रानाले बताउँछन्। गाउँ घरमा हुने विकास निर्माण, सांस्कृतिक, धार्मिक र सामाजिक कार्यमा सामूहिकताको भावना विकास हुँदै गएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.